Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नवराज हत्याकाण्ड : निर्मला प्रकरणमा जस्तै दर्जनौं समिति गठन र अपराधी उम्केकाे सुन्न नपरोस्

    नवराज हत्याकाण्ड : निर्मला प्रकरणमा जस्तै दर्जनौं समिति गठन र अपराधी उम्केकाे सुन्न नपरोस्

    अनलाइन नेपाल
  • शुक्रबार, १६ जेष्ठ २०७७
  • 5.6K
    SHARES

    एक साताअघि अर्थात् जेठ १० गते शनिबार साँझ रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा भएको सामाजिक कूसंस्कारले ग्रसित घटनाले यतिबेला नेपालमा फेरि कथित ‘तल्लो जात’ र ‘माथिल्लो जात’ बीचको विभेदलाई उदांगो पारेको छ ।
    यो घटना सामाजिक कूसंस्कारले ग्रसित यो अर्थमा छ कि रेडक्रसमा रगत किन्न जाँदा जात सोधिन्न । मृत्युसँग जुधिरहेका कथित ‘माथिल्लो जात’ भन्नेहरुले त्यहि ‘तल्लो जात’ को व्यक्तिबाट निकालिएको रगत ल्याएर आफ्नालाई बचाउँछन् ।

    पटक–पटक कुटपिट सहेको भनिएका नवराजले जस्तो परिस्थितिको सामना गरेर भएपनि ती युवतीप्रतिको प्रेमलाई सार्थक तुल्याउन खोज्नु नै उनको मृत्युको कारक बनेको प्रष्ट भएको छ । उनीहरूको अंकुराई रहेको प्रेममा बाधक बनेको छ, त्यही जात, जसले रगत, सीप र श्रम चलाउँछ तर पानी चलाउँदैन ।

    अनि, जसको हातको सिपबाट दैनिक छाक टार्ने तरकारी काटिन्छ, अनि जसको सीपबाट जन्मजात सर्वांग नांगै जन्मिएको शरीरको लाज छोपीन्छ, उनीहरुविरुद्ध नै तिनै हँसिया उठ्छन्, लाठी बर्सिन्छन्, ज्यान लिइन्छ ।
    जब विवाहको कुरा हुन्छ त्यतिबेला उठ्छ जातको कुरा । जुन देशमा लाङटाङमा गोली लागेको जंगली जनावर घोरलको उपचार ललितपुरको सदर चिडियाखानामा ल्याएर गरिन्छ, त्यही देशमा बेहुली लिन गएको दलितलाई भेरी नदीमा डुबाएर मारिन्छ, त्यो देशका कथित दलितले को सँग अपेक्षा राख्ने ? को सँग न्याय माग्ने ?
    ३ वर्षे लामो प्रेमपछि १८ वर्षीय मल्ल थरकी युवतीलाई लिन शनिबार साँझ जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विक १८ जना साथी लिएर सोती पुगे । प्रेमिकाकै अनुरोधमा ‘जन्ती’ लिएर गएका नवराजसहित उनका ५ जना साथीले भेरीको पानीमा अन्तिम श्वास लिए ।
    जसमध्ये ५ जनाको शव भेटिसकियो भने १ जना अझै बेपत्ता छन् । भेरी नगरपालिका–४ नवराज वि.क., गणेश बुढा मगर, लोकेन्द्र सुनार र सञ्जु विक तथा चौरजहारी नगरपालिका–१ टीकाराम सुनार शव भेटिएको छ । गोविन्द शाही अझै वेपत्ता छन् ।
    हुनत, महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि लकडाउन भइरहेका बेला १८ जना साथी लिएर प्रेमिका भगाउन जानु नवराजको राम्रो पक्ष होइन । तर, लकडाउन उल्लंघन गरेको अभियोग लगाएर अपराधीलाई जोगाउन खोज्नुचाहिँ अपराध हो भन्दा फरक नपर्ला ।
    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मासमेत यो घटनामा मुछिएका छन् । पीडित पक्षले रुकुमका जनप्रतिनिधिले नै घटना तोडमोड गर्न खोजेको आरोप लगाइसकेका छन् ।

    पूर्वगृहमन्त्री जस्तो जिम्मेवार व्यक्ति यस्तो घटनामा मुछिनु जायज हुन सक्दैन । शर्माले आफ्नो भोट र आफ्ना कार्यकर्ता बचाउने नाममा ५/६ जना व्यक्तिको ज्यान लिने ‘अपराधी’लाई उन्मुक्ति दिने दुस्साहस गर्नुभन्दा पनि सजाय दिने हिम्मत राख्नुपर्छ ।

    सोतीका स्थानीय र केही जनप्रतिनिधिले लकडाउन उल्लंघन गर्दै हुल आएको र उमेर नपुगेकी केटीलाई जर्बजस्ती लिन खोजेकाले गाउँलेले नियन्त्रणमा लिने क्रममा भागदौड हुँदा भेरीमा खसेर ज्यान गएको बयान दिएकाे समाचार अाइरहेका बेला पीडित पक्षले वडाध्यक्ष डम्बरबहादुर मल्लकै संलग्नतामा हत्याकाण्ड भएको र उनी पूर्वगृहमन्त्री जनार्दन शर्माको संरक्षणमा रहेको आरोप लगाएका छन् ।
    जसले गर्दा पूर्व गृहमन्त्री यो घटनामा मुछिन पुगेका हुन् । जसरी कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा दोषी उम्किरहेका छन्, त्यसरी नै रुकुम घटनाका दोषी उम्कनु हुँदैन । यो घटनामा राजनीतिकरण हुनु हुँदैन र दोषीमाथि कडा कारबाही हुनैपर्छ ।
    पूर्वगृहमन्त्री जस्तो जिम्मेवार व्यक्ति यस्तो घटनामा मुछिनु जायज हुन सक्दैन । शर्माले आफ्नो भोट र आफ्ना कार्यकर्ता बचाउने नाममा ५/६ जना व्यक्तिको ज्यान लिने ‘अपराधी’लाई उन्मुक्ति दिने दुस्साहस गर्नुभन्दा पनि सजाय दिने हिम्मत राख्नुपर्छ ।
    हुन त, यो घटनामा वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवतीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी परिसकेको छ भने चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्लसहित स्थानीय १२ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
    त्यसो त, गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिसकेको छ । गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको नेतृत्वमा बनेको समितिमा नेपाल प्रहरीका एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव बशिष्ट घिमिरे र उपसचिव माधव ढकाल रहेका छन् । 
    यस घटनामा पनि निर्मला पन्तको घटनामा जस्तो दर्जनौं समिति गठन गर्नुपर्ने र अपराधी उम्कने अवस्था सिर्जना नहोस् । बुहारी ल्याउने आशामा बसेकी नवराजकी आमाले छोरा गुमाएको पीडामा अनुसन्धानकै नाममा पटक–पटक स्थानीय प्रहरी नेतृत्व अनि अनुसन्धान अधिकृतहरू परिवर्तन गरेको समाचार सुन्न नपरोस् र समितिनैपिच्छे पटक–पटक वयानका लागि जानु नपराेस् ।
    घटनाको सत्य तथ्य छानविन गर्ने जिम्मा नेपाल प्रहरीमाथि छ । जसलाई यस समितिले पनि सघाउला । तर, ‘निर्मला पन्त प्रकरण’मा जसरी नेपाल प्रहरी चुकेको छ, त्यसरी नै ‘नवराज विक प्रकरण’ मा नेपाल प्रहरी चुक्नुहुँदैन ।
    छोटो समयका लागि प्रहरी प्रमुखको जिम्मेवारी पाएका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले यस घटनालाई अन्तिम रुप दिन सकेको खण्डमा प्रहरीमाथि लागेको दाग केही हदसम्म भएपनि मेटिनेमा दुईमत छैन ।
    डेढ महिनाको कार्यकाल बाँकी रहेको अवस्थामा आईजीपी ज्ञवालीमाथि यो घटना चुनौति र अवसर दुवै हो । यसलाई अब उनले कसरी पार लगाउँछन् त्यो भने हेर्न बाँकी छ ।
    घटनालाई तोडमोड गर्ने र राजनीतिकरण गर्ने अवस्था सृजना भएको खण्डमा फेरि यस्तै निर्मला काण्ड, नवराज काण्डमा दोहोरिन सक्छ । त्यसैले यसप्रति नेपाल प्रहरी सचेत हुन जरुरी छ ।
    पटक–पटक कुटपिट सहेको भनिएका नवराजले जस्तो परिस्थितिको सामना गरेर भएपनि ती युवतीप्रतिको प्रेमलाई सार्थक तुल्याउन खोज्नु नै उनको मृत्युको कारक बनेको प्रष्ट भएको छ । उनीहरूको अंकुराई रहेको प्रेममा बाधक बनेको छ, त्यही जात, जसले रगत, सीप र श्रम चलाउँछ तर पानी चलाउँदैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार