Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारतीय गिरोह नै लागिपरेको ओलीको खुलासा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउनका लागि भारतीय राज्यसंयन्त्र नै सक्रिय भएर लागेको दावी गरेका छन् ।

मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय मिडिया, त्यहाँका बुद्धिजीवी र राज्यसंयन्त्र आफूलाई हटाउन लागेको दावी गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने–‘हामीले नक्सा सच्यायौँ । यसलाई संवैधानिक रूप दियौँ । त्यसपछि हप्ता–१५ दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने सुन्नुभएको होला । भारतीय मिडिया र बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । भारतको राज्यसंयन्त्र अचम्मसम्म सक्रिय छ । यसका लागि होटेलमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ ।’

‘प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने त्यो कसैले नसोचे हुन्छ, कसैले हतारो नगरे हुन्छ, आग्रह नपाले पनि हुन्छ । नेपालको राष्ट्रियता त्यति कमजोर छैन, राष्ट्रियताको पक्षमा कदम चाल्दा प्रधानमन्त्री हट्न परोस् ।’ प्रधामन्त्री ओलीले भने ।

यसअघि चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेलगतै आफूलाई हटाइएको स्मरण गर्दै प्रधानमन्त्री ओलीलले भने–‘अहिले नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन नेपालकै नेताहरू लागेका छन् । बहस चलेको छ, अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन ।’

होटलहरूदेखि भारतीय दूतावाससम्म प्रधानमन्त्रीबाट हटाउन चलखेल बढिरहेको पनि प्रधानमन्त्री ओलीको दावी थियो ।

आफूलाई पदमा बसिरहन मन नभएको बताउँदै प्रधानमन्त्री ओलीले यसतिबेला आफू हटे भोलिबाट नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने पनि दावी गरे ।

प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि फिर्ता नल्याएसम्म पद नछाड्ने बताए ।

प्रधानमन्त्री ओलीले भुलचुकले नेपालको नयाँ नक्सा नछापिएको बताए। ‘भुलचुकले नक्सा छापेको होइन। संविधान संशोधन गरिएको होइन,’ उनले भने, ‘भूमि फिर्ता गर्ने यस अभियानबाट हामी फिर्तै हुँदैनौं। हामीलाई हाम्रो भूमि चाहियो। फिर्ता नलिइकन छोड्दैनौं ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077