Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कांग्रेसलाई हाँक्न अझै सभापति देउवाको खाँचो छ

    कांग्रेसलाई हाँक्न अझै सभापति देउवाको खाँचो छ

    अनलाइन नेपाल
  • बिहिबार, १८ भाद्र २०७७
  • 5K
    SHARES

    नेपाल तरुण दलको तत्कालीन कार्यबाहक अध्यक्ष समेत रहेका कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिना देशभरिका तरुण युवाहरूले नै कांग्रेसलाई कम्युनिस्टको अधिनायकवादविरुद्ध परिचालन गर्न सक्ने बताउँछन् । तिमिल्सिना तरुण दलमा ०५४ सालदेखि जोडिएका हुन् । तरुण दलको केन्द्रीय सदस्य, सचिवको पनि जिम्मेवारी सम्हालिसकेका छन् । बर्दिया जिल्ला निवासी तिमिल्सिना हालै नेपाली कांग्रेस संगठन विभागको सदस्य पदमा मनोनीत भएका छन् । संगठनको भावी कार्यक्रम, १४औं महाधिवेशन र कोरोना नियन्त्रणमा सरकारको कमजोरीका विषयमा जन्मजय तिमिल्सिनासँग onlinenepal.com का लागि गरिएको कुराकानीको सम्पादित अंश :

    ० कोरोना र पार्टीभित्रको आन्तरिक विवादका बेला कांग्रेसको संगठन विभागले कसरी काम गर्छ ?
    – अहिलेको परिस्थितिमा संगठन गर्नु भनेको अत्यन्तै गाह्रो विषय हो । कोरोना भाइरसको महामारीको अवस्था छ । देश संक्रमणकालीन अवस्थामा छ । देश र जनताले कोरोना महामारीबाट संघर्ष गरिरहेका छन् । नेपाली कांग्रेस जस्तो समाजवादी पार्टीले यस विषयमा गम्भीर हुन जरुरी छ । पार्टी नेतृत्वले मुलुकको परिस्थिति बुझेको अवस्था छ । हामी जनताका सेवक भएको कारणले समाजलाई रुपान्तरण गर्ने भएको हुनाले हामीले संगठनको काम गर्दैनौं भन्न त मिल्दैन । कुनै न कुनै तरिकाले, कुनै न कुनै टेक्निकले हामीले संगठनमा बल पु¥याएर कांग्रेसलाई बल पु¥याएर कांग्रेसलाई मजबुत बनाउनै पर्छ ।



    कांग्रेसलाई कम्युनिस्टहरूभन्दा सशक्त र दरिलो बनाउनुपर्छ । संगठन विभागका प्रमुख आदरणीय गोपालमान श्रेष्ठसहित सबैको ध्यान केन्द्रित हुनुपर्छ । स्वयं हामी संगठनमा लामो समय विद्यार्थीकाल, युवाकालदेखि हामी काम गर्दै आएको थुप्रै साथीहरू छौं । हामीसँग पार्टी सभापति भएको र पार्टी चलाएको अनुभव भएका नेताहरू पनि हुनुहुन्छ । उहाँहरू संगठनबाट संघर्ष गरेरै यहाँसम्म आइपुगेका कारणले गर्दा मलाई लाग्छ संगठनलाई गति मिल्छ । पार्टीको १४औँ महाधिवेशनमा राम्रो सन्देश जाने खालको संगठन चलायमान हुन्छ । आन्तरिक कुराहरूलाई मिलाउनुपर्छ । असन्तुष्ट समूहले पनि पार्टीलाई अफ्ठ्यारो पार्नु हुँदैन ।



    ० संगठन विभागबाट तपाईहरूले के–के कार्यक्रम दिनु हुन्छ ?
    – कार्यक्रम र आगामी रणनीतिका विषयमा छलफल गर्न असोज ७ गते संगठन विभागको बैठक बोलाएका छौं । पहिलो बैठक परिचयात्मक र २–३ वटा निर्णय मात्रै भएर सकिएको छ । असोज ७ गतेको बैठकबाट कांग्रेसको संगठन निर्माणमा के कसरी काम गर्न सकिन्छ भनेर एउटा रणनीति र योजना तयार पर्नेछौं । संगठन विभागका प्रमुखज्यूले पनि आन्तरिक गृहकार्य गरिरहनुभएको छ । कोरोनाले गर्दा संगठन प्रमुखसँग प्रत्यक्ष सरसल्लाह हुन नसकेपनि विभिन्न माध्यमबाट सम्पर्कमा छौं ।

    ० तपाई तरुण दलबाट आउनु भएको नेता । कांग्रेसमा देशभरिका तरुणहरूलाई क्रियाशील बनाउने कुनै योजना छ कि छैन ?
    – तरुण युवा भनेका कांग्रेसको मात्रै होइन सिङ्गो देशको मेरुदण्ड हो । नेपालको ठूला परिवर्तनहरू राणा, पञ्चायत, राजा, ०६२–६३ को आन्दोलन वा सत्ता परिवर्तनको हरेक आन्दोलनमा तरुण युवाहरूको ठूलो भूमिका छ । तरुण युवाहरूलाई जुन पार्टीले समेटेर अगाडि लैजान्छ, त्यो पार्टी जहाँ पनि बलियो भएको विगतको इतिहास छ । म स्वयं पनि तरुण दलबाट आएको बर्दिया जिल्लाका थारु समुदायका बीचमा बसेर हुर्केको साधारण किसानको छोरा हो ।

    मेरो पहिचान भनेको नेपाल तरुण दलको फलानो पोस्टमा हुनुहुन्थ्यो, तरुण दलमा राम्रो काम गर्नुभएको थियो । तरुण दलको तर्फबाट जेल जानुभएको थियो । तरुण दलको तर्फबाट संघर्ष गर्नुभएको थियो । नेपाल तरुणमा लागेका कारणले निरंकुश शासकहरूबाट दुःख पाउनुभएको थियो भन्ने पहिचान तरुण दलबाट पाएको हुँ । मैले तरुण दलबाट बनाएको पहिचानलाई नगुमाउने गरि देशभरिका युवा तरुणहरूलाई फेरि एकचोटी क्रियाशील बनाउने बेला आएको छ ।

    तरुण दलबाटै आएको युवा नेता पार्टीमा हुनुहुन्छ । बालकृष्ण खाँणसहितका नेताहरू पार्टीको शीर्ष नेतृत्वसँग तथा पार्टी सभापति लगायतसँग सल्लाह गरे अब तरुण दललाई कसरी परिचालित गर्ने ? तरुण दलको संगठन कसरी मजबुद गर्ने ? त्यतातिर हामी केन्द्रित भएर अगाडि बढ्नुपर्छ भन्ने विषयमा दृढ छु । तरुणबाट पार्टी नेतृत्वमा गएका नेताहरूसँग सरसल्लाह गरेर हामी अगाडि बढ्ने छौँ । तरुण र युवाहरूको सरसल्लाह लिएर कार्यक्रम बनाउने छौँ । संगठन विभागले युवा पुस्तालाई परिचालन गर्ने गरेर कार्यक्रम बनाउनेछ ।

    ० विभागहरू गठन र विस्तार भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइरालालगायतले असन्तुष्टि जनाउनुभएको छ । असन्तुष्ट समूहलाई मिलाउने कुनै योजना छ तपाईहरूको ?
    – पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरूले पार्टीमा विवाद छ भने पार्टीभित्रै सहमति, सहकार्यबाट अगाडि बढ्न मेरो सुझाव छ । हामी कांग्रेस हौं । हामी सबैले ‘रुख’मा छाप लगाउने हो । हामी वीपी कोइरालाका अनुयायी हौं । वरिष्ठ नेता रामचन्द्र पौडेल दाईले पनि दुःख दिने, समस्या खडा गरिरहने, दश वटा समस्या झिकी रहने काम गर्नुभएन । पार्टीका विभागहरू तीन महिनाभित्र गठन गरिसक्नुपर्ने थियो । पार्टी सभापतिलाई सहमतिका नाममा रामचन्द्र दाईले अहिलेसम्म अल्झाएर राख्नुभयो । सहमतिका नाममा संगठन गर्न नदिने । पार्टी सभापतिले केही पनि गर्नुभएको थिएन भन्न मिल्दैन ।

    पार्टी सभापतिबाट केही कमजोरी भएका होलान् । त्यो कमिकमजोरी गराउनेमा रामचन्द्र दाईहरूको किन सहमति हुन्छ त ? कमिकमजोरी हुँदा त्यतिखेर किन सचेत गराउन सक्नु हुन्न ? उहाँहरूको कुरा मिल्दा सहमति हुन्छ । उहाँहरूका कुरा पनि गजबको छ । नेविसंघमा सहमति हुन्छ । तरुण दलमा सहमति हुँदैन । रामचन्द्र दाईको व्यक्तिगत कुरा नमिलेको हो नि ? संगठन र विभागहरू गठनमा पनि उहाँहरूको व्यक्तिगत इन्ट्रेस्ट नमिलेको हो । पार्टीका लागि उहाँहरू आउनै पर्छ । सहमति हुनुपर्छ । उहाँहरूले लाज मान्नुपर्ने कुरा छैन । शेरबहादुर दाईले उहाँहरूलाई ६०–४० को भागबण्डा गरेर दिनुभएको छ ।

    ४० प्रतिशत भाग रामचन्द्र दाईलाई सभपातिले छुट्याएर राखिदिनुभएको छ । कतिसम्म झगडा गरेर पार्टीलाई लत्याउने ? पार्टी कमजोर भयो । टोलटोलमा गुटको प्रभाव छ । घरघरमा गुट छ । सामाजिक सञ्जालमा फोटो राख्दा समेत फलानाको मान्छे भनेर विवाद गर्ने परम्परा भइसक्यो । यो गुटको समस्या मेटाउनको लागि १४औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ ।

    ० महामन्त्री डा.शशांक कोइरालाले सभापतिमा शेरबहादुर देउवालाई मैले मात्रै हराउन सक्छु भन्नुभएको छ । उहाँहरू दुई जनाबीच प्रतिस्पर्धा भयो भने डा.कोइरालाले देउवालाई हराउन सक्नु हुन्छ ?
    – कसले जित्छ भनेर नाप्ने यन्त्र त छैन । डा.शशांक कोइरालालाई म वीपी पुत्र हुँ, महामन्त्रीमा सबैभन्दा धेरै मत ल्याएँ, त्यसैले सभापतिमा जित्छु भन्ने मनभित्र आन्तरिक विश्वास होला । तर, शेरबहादुर देउवाको इतिहास पनि हेर्न जरुरी छ । शेरबहादुर दाईले वीपीसँग लामो संगत गरेर, त्याग गरेर, जेलनेल गरेर धेरै संघर्ष गर्नुभएको छ । शेरबहादुर धेरै पीडित मान्छेभित्र पर्नु हुन्छ । उहाँले गरेको संघर्षको इतिहासलाई कोट्याउने हो भने पार्टीमा लगानीको हिसावले गरेको भूमिका हेर्ने हो ।

    शाशंक दाईले शेरबहादुर दाईलाई हराउन सक्नु हुन्छ जस्तो मलाई लाग्दैन । महामन्त्री भएर शशांक दाईले के काम गर्नुभयो त ? हिजोसम्म चुपचाप बस्नुभयो । अहिले आएर कार्यकर्ताले उचालेको भरमा वा वीपी पुत्र हुँ भनेको आधारमा हुँदैन । उहाँलाई उचाल्नेहरू धेरै त महाधिवेशन प्रतिनिधि अर्थात भोटर भएर आउन सक्नु हुन्न । शशांक दाई त्यस्ता उक्साहटमा लाग्ने हो ? वीपी पुत्र हो भने त अहिले पार्टी कसरी सेफल्याण्डिङ हुन्छ भनेर काम गर्नुपर्ने थियो ।

    उहाँले कसरी पार्टीलाई कसरी सेफल्याण्डिङ गराउनु हुन्छ ? शशांक दाईले आफू ब्याक भएर हुन्छ कि ? आफूले नेताहरूलाई सहमत गराएर हुन्छ कि ? पार्टीमा एकता गराएर अगाडि बढ्ने हो नि । देउवालाई हराएर मात्रै म सक्षम छु भन्ने हो भने कहाँनेर पार्टी मिल्छ ? देउवालाई म मात्रै हराउन सक्छु भन्ने उहाँको भनाइ साँढेको जुधाई जस्तो कुरा भयो ।

    उहाँले रिङभित्र बक्सर खेलाडीहरूको खेल जस्तो कुरा पो गर्नुभयो । आफूभन्दा सिनियर नेताहरूको मानमर्दन गर्नुभयो । सिनियर नेतालाई शशांक दाइले कसरी सम्मान गर्नुपर्छ विचार गर्नुपर्छ । शशांक दाईको अभिव्यक्तिले आफ्नै समूहभित्रका शीर्ष नेताहरूको समेत मानमर्दन गर्नुभएको छ । लोकतान्त्रिक तरिकाले प्रतिस्पर्धा गर्ने छुट छ । तर, वीपीको छोरो हुँभन्दैमा नेताहरूको अपमान गर्ने छुट छैन ।

    ० वीपी कोइरालाको छोरालाई पार्टीको नेतृत्व त दिनु पर्यो नि ? कान्छो छोरालाई नेतृत्व नदिने हो भने त अन्याय हुँदैन र ?
    – पार्टीको नेतृत्व लिनका लागि उहाँले काम गर्नुप¥यो नि त । उहाँले पार्टीमा कति भयो काम गरेको ? हामीले जति पनि उहाँले पार्टीमा काम गर्नुभएको छैन । हामी जति पनि जेलनेल जानुभएको छैन । शशांक दाईलाई पार्टीका कार्यकर्ताले महामन्त्री बनाइ सके । पार्टीको उपसभापति बन्नु होला । काम गर्दै जाँदा पार्टीमा अरु जिम्मेवारी पनि पाउनु होला ।

    वीपी कोइरालाको कान्छो छोराभन्दैमा टीका लगाइदिने त ? आज वीपीको छोरा भन्नुभयो, भोलि वीपीको नाती होला, वीपीको पनाती होला । त्यो त हुँदैन नि । वीपीको इतिहास थियो । सुशील कोइरालाको आफ्नै इतिहास थियो । उहाँहरूले लामो संघर्ष गरेर यो देशमा लोकतन्त्रको लागि आफ्नो रगत पसिना बगाएको हो । आफ्नो कार्यकालमा शशांक दाईले पार्टीमा कार्यकर्ताले सम्झिने गरेर के काम गर्नुभयो ? जवाफ दिनु पर्दैन ?

    देशभरिका कार्यकर्तालाई जवाफ चाहिन्छ । बाबुको नामले वा बाबुले बनाइदिएको घरमा बसिराख्ने छोराले मेरो घर हो भन्न मिल्दैन । अहिले कांग्रेस भनेको वीपी कोइरालाको पुँजी हो । शशांक कोइरालाले त्यो पुँजीलाई बचाउनु नै उहाँका लागि सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने लाग्छ । उहाँले अरुलाई हराएर वा पछारेर म मात्रै ठूलो हुन्छु भन्ने मान्यता राख्ने होइन । यसरी जाने हो भने कसरी एकता हुन्छ ? उहाँले पछार्ने हो भने भोलिका दिनमा शेरबहादुर देउवासँग एउटा झुण्ड त रहिरन्छ । त्यो झुण्ड कहाँ जाने ?

    ० सभापति शेरबहादुर देउवाले पनि त पार्टी चलाउन सक्नु भएन नि ?
    – सभापति शेरबहादुर देउवालाई पार्टी चलाउन दिइएको अवस्था छैन । मैले पूर्वाग्रही भएर भनेको होइन । पार्टी चलाउन खोज्दा हरेक ठाउँमा भागबण्डा खोजिन्छ । भागबण्डाले असहयोग गरेका कारण पार्टी संगठनभित्र राम्रो मान्छेले अवसर नै पाएको छैन । शेरबहादुर देउवाले पार्टीभित्र गुटको नाममा र असहयोग हुँदा उहाँसँगै काम गरेका मान्छेलाई अंगाल्न पनि सक्नु भएको छैन । गुटबन्द र भागबण्डाको हिसाबमा राम्रो मान्छेलाई पनि मर्का परिरहेको छ । यो कुरामा शेरबहादुर दाई, रामचन्द्र दाई, शशांक दाईसहित सबै दाईहरू जो पार्टी सभापतिको आकंक्षी हुनुहुन्छ उहाँहरूले बुझ्न जरुरी छ । अहिले हामी कम्युनिस्टसँग लड्नुपर्ने बेला हो । हामी मिलेर जान सक्नुपर्छ ।

    ० तपाई प्रदेश ५ को युवा नेता पनि हुनुहुन्छ । पार्टीको १४औं महाधिवेशनमा कुनै पदमा उम्मेदवारी दिने योजना बनाउनु भएको छ ?
    – तत्काल त्यो सोच बनाएको छैन । अग्रज नेताहरू र शुभेच्छुक साथीहरूसँग सरसल्लाह पनि गरेको छैन । म कांग्रेसको इमान्दार र अनुशासित कार्यकर्ता हुँ । तरुण दलको महाधिवेशनका बेला मलाई पोखरामा पनि साथीहरूले चाहिने–नचाहिने कुरामा उचालेका थिए । पार्टीको निर्णय जे हुन्छ त्यो मान्छु भनेको थिएँ । पार्टीले त्यस बेला तरुण दलको अध्यक्ष जितजंग बस्नेतलाई बनाउने निर्णय ग¥यो । मैले स्वीकार गरेँ । लगानी गरेर कसैले फल खान्छ भने त्यो पनि आत्मसन्तुष्टि हो । पार्टीले भोलिका दिनमा मलाई सहि मूल्यांकन गर्छ भनेको थिएँ । पार्टीको कुनै न कुनै तहमा मैले चुनाव लड्नै पर्छ । अहिले नै म यो पदमा लड्छु, त्यो पदमा लड्छु भनेर तत्काल भन्ने अवस्थामा छैन । अहिले त्यतातिर केही सोच बनाएको छैन ।

    ० तपाई आफै पनि तरुण आन्दोलनबाट आएको नेता, संगठन विभागको सदस्य । सरकारले कोरोना नियन्त्रण गर्न सकेन । कांग्रेसले सरकारलाई दवाव दिनै सकेन । किन होला ?
    – दवाव भनेको कस्तो हो ? खुँडा, भाला, लठ्ठी लिएर सडकमा जाने भनेको हो ? दवावका नाममा आन्दोलन चक्का जाम गराउने कुरा त भएन न नि ? पार्टी सभापतिले विज्ञप्तिमार्फत पनि कोरोना नियन्त्रण र रोकथाम, विदेशमा रहेकाहरूको उद्धार, अति विपन्नलाई राहत लगायतका माग र दवाव दिइरहनुभएको छ । प्रधानमन्त्रीसँग भेटेर पनि सभापतिले दवाव दिइरहनुभएको छ । कांग्रेस संसदीय दलले पनि आफ्नो तरिकाले दवाव दिइरहेको छ । विदेशबाट उद्धार गर्ने व्यक्तिहरूसँग महँगो पैसा उठाउन खोजेपछि कांग्रेसले विरोध गरेको छ । सरकार भनेको अभिभावक हो । महामारीका बेला कम्युनिस्ट सरकार सीमित व्यक्तिको मात्रै अभिभावक भएको जस्तो देखिएको छ । यो कुरा जनताले राम्रोसँग महशुस गरेका छन् । कोरोना उपचार र नियन्त्रणका नाममा १३ अर्ब रुपियाँ सरकारले खर्च गरिसकेको छ । १३ अर्ब रुपियाँको के काम गरेर उहाँहरूले देखाउनु भयो ? १३ अर्बको योजना हुनु पर्दैन ?

    ० सरकारले खर्च गरेको रकमको हिसाब किताब तपाईहरुले किन माग्नु भएन ?
    – हामीले मागेका छौं । विज्ञप्तिमार्फत बोलिरहेका छौं । नीति र नियम विपरितका कार्य गर्नु हुँदैन भनेका छौं । कांग्रेसले मागेको हिसाब सरकारले दिएन भने नेपाली जनताले यसको हिसाब किताब माग्नेछन् । अहिलेका जनता हिजोका पञ्चायतकालीन जनता होइनन् । धेरै बुझ्ने जनता भएका छन् ।

    ० सबैले सरकारले कोरोना नियन्त्रण गर्न सकेन भन्छन् । कोरोनाबाट जनता आक्रान्त छन् । स्वास्थ्य सामग्री खरिदमा त्यति ठूलो घोटाला भएको भन्छन । उद्धारमा त्यस्तै भएको छ । कृषि मलमा घोटाला भएको छ । यस्तो बेला कांग्रेस किन बोल्दैन ?
    – कांग्रेसले जनताको पक्षमा सधैं बोल्दै आएको छ । कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारलाई दवाव दिइरहेको छ । यो सरकार कोरोना नियन्त्रण र रोकथाममा असफल भएको छ । कमिशनको चक्करमा लाग्दा जनताले दुःख पाएका छन् । दुई तिहाइको दम्भ र तानाशाह प्रवृत्तिले सरकारले प्रमुख विपक्षी दलले भनेको कुरा र सुझावहरू सुन्न सकेको छैन । उद्धारका नाममा खाडी र मलेसियामा रहेका नेपालीसँग रकम असुल्न खोजेको छ । समयमा कृषि मल दिएको छैन । एक–एक हिसाब कांग्रेले खोजेको छ । हिसाब नदिएर सरकारले सुःख पाउँदैन ।

    ० मुलुकमा कम्युनिस्टहरू बेथितिको दब्दबा छ । यसलाई कांग्रेसले कसरी रोक्छ ?
    – राष्ट्र र राष्ट्रियताको नाममा कम्युनिस्टहरूले जसरी झुठको खेती गरिरहेका छन्, त्यसलाई जनताले राम्रोसँग बुझेका छन् । उनीहरू झुठो राष्ट्रवाद, झुठो राष्ट्रियता, खोक्रो आश्वासन, झुठा योजना, झुठा सपनाहरू बाँडेर कम्युनिस्टहरू झण्डै दुईतिहाइ बहुमत ल्याउन सफल भएका थिए । त्यसमा कांग्रेसका केही कमिकमजोरी होलान् । कांग्रेसभित्र केही मनमुटावका कारण उनीहरूको बहुमत आयो होला । जनताले कम्युनिस्टहरूको झुठको खेती अहिले आएर छर्लङ्ग बुझेका छन् । चुनावमा गरेका वाचाअनुसार कम्युनिस्टले जनतालाई सुविधा दिएको छैन । अब कांग्रेसले कम्युनिस्ट सरकारका हरेक चर्तिकलाको भण्डाफोर गर्छ । जनतालाई सबै कुराको जानकारी गराउँछ । हामीभित्र केही कमिकमजोरी छ भने मिलाएर जानुपर्छ । कम्युनिस्टसँग लड्नको लागि कांग्रेसभित्र एकताको खाँचो छ ।
    नेपाली कांग्रेसले मलेसियाबाट आउने नेपाली नागरिक, कोरियाबाट आउने नेपाली नागरिक, दुबइबाट आउने नेपाली नागरिक, भारतबाट लेबर काम गरेर आउने नेपाली नागरिकले उद्धारका नाममा भएका अनियमितताहरूको कुरा राम्रोसँग बुझेको छ । शेरबहादुर दाईले अगुवाइ गर्नुपर्छ । उहाँलाई सबैले साथ दिनुपर्छ । त्यसपछि मात्रै झुठको खेती गर्ने नेपालबाट कम्युनिस्टहरू समाप्त हुन्छन् ।

    ० स्वास्थ्य सामग्री खरिद, कोरोनाका नाममा भएको १३ अर्बको खर्च, मल काण्ड, उद्धार काण्ड, सरकारको अनियमितता र भ्रष्टाचारका विषयमा कांग्रेसको नेतृत्वमा रहेको सार्वजनिक लेखा समितिले कुरा उठाउनु पर्दैन ?
    – सार्वजनिक लेखा समितिको निर्देशन र निर्णय कार्यान्वयन गर्न सरकारले चाहेको छैन । समितिको निर्णय कार्यान्वयन हुन सरकारले दिएको छैन । सर्वोच्च अदालतले गरेको निर्णयलाई त सरकारले लत्याइदिएको छ । गोकुल बास्कोटालाई सरकार चोख्याउन लागेको छ । विष्णु पौडेललाई चोख्याइ सक्यो । कहाँ छ कानून ? कहाँ छ नियम ? लेखा समिति देखाउने जस्तो मात्रै भयो । सरकारले लेखा समितिको गरिमा र त्यसको महत्वलाई ओझेलमा पार्ने काम गरेको छ । लेखा समितिले काम गर्न खोज्छ । तर, सरकारमा रहेकाहरूले निर्णय गर्न दिँदैन । कम्युनिस्टहरू बहुमतमा छन् । कांग्रेस एक्लैले केही गर्न सक्दैन । लेखा समितिले काम गर्न खोजेकै छ । कम्युनिस्टलाई ठीक ठाउँमा ल्याउने भनेको अबको निर्वाचनमा जनताले नै हो । सबै अनियमितताहरू लेखा समितिले क्रमशः उठाउँदै जान्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार