काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आजदेखि अवकाश पाएका छन् । आयोगमा आज उनको बिदाई हुँदैछ ।
घिमिरेको बिदाईसँगै गणेश जोशीले आयोगका निमित्त प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्ने भएका छन् । आयोगमा हाल दुई मात्र आयुक्त छन् । जोशी र साबित्री गुरुङ । वरिष्ठताका आधारमा जोशीले निमित्त प्रमुख आयुक्त बन्न लागेका हुन् ।
सरकारले अख्तियारको आयुक्त नियुक्तिको अहिलेसम्म टुंगो लगाउन सकेको छैन । अख्तियार प्रमुख छनोटमा सत्तारुढ दल नेकपा भित्र विवाद रहेकाले यो विषयमा निर्णय हुन नसकेको बताइएको छ।
घिमिरेको नेतृत्वमा रहेको अख्तियार एक अर्ब २४ करोडको औषधि खरिदमा ओम्नीलाई विनाप्रतिस्पर्धा ठेक्का, नेपाल ट्रस्टका जग्गामा यतीको एक्लौटी र रेलमार्गका नाममा ३३ अर्बको ठेकेदारी मिलेमतोलगायतका दर्जनभन्दा बढी ठूला काण्डमा छानबिन गर्ने दायित्वबाट पन्छिएको थियो ।
भ्रष्टाचार निवारण गर्ने संवैधानिक आयोगको नेतृत्वमा बसेका घिमिरे आफैँले प्रमुख आयुक्त र पूर्वसचिवको रूपमा दोहोरो सुविधा लिएर नैतिक बल समाप्त बनाएर अबकाश पाएका छन् ।