बल्ल असली राजनीति शुरु भयो

बल्ल असली राजनीति शुरु भयो

अनलाइन नेपाल
  • बुधबार, मंसिर ३ २०७७

  • 10.5K
    SHARES

  • बल्ल असली राजनीति शुरु भयो

    पाल्पा जिल्लाको तानसेन निवासी महेश्वरी कुँवर नेविसंघको महामन्त्री हुन् । पद्मकन्या क्याम्पसबाट नेविसंघको राजनीति शुरु गरेकी उनका बुबा कुलबहादुर कुँवर प्रधानपञ्च थिए । बुबा प्रधानपञ्च हुँदा उनलाई कांग्रेसको चारतारे झण्डा धेरै मन पथ्र्यो । आमा लक्ष्मीदेवी रावलले सधैँ छोरीलाई हरेक कुरामा साथ दिइन् । २०४१ सालमा जन्मिएकी कुँवरले जीवनमा राजनीतिबारेमा बुझ्दै गएपछि विचार र आदर्शले नेपाली कांग्रेसमा डो¥याएको थियो । २०५८ सालपछि कुँवर नेविसंघको सक्रिय कार्यकर्ता नै बनिन् । उच्च शिक्षा हासिल गर्न पद्मकन्या कलेज बागवजार पुगिन् । पहिलो पटक २०६० सालमा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य बनेकी कुँवर पुनः २०६२ मा सदस्यमा निर्वाचित भइन् । पद्मकन्या कलेजमा २०६५ सालमा स्ववियु उप–सभापति भएपछि उनको राजनीतिक जिम्मेवारी निकै बढ्यो । राजनीतिक अग्रमोर्चामा देखिएकी कुँवर राजनीतिक आन्दोलनका क्रममा दुई पटक खुट्टा भाँचिदा पनि कहिल्यै विचलित भइनन् । उनी निरन्तर विद्यार्थी राजनीतिमा क्रियाशील रहिन् । २०७२ सालदेखि नेविसंघको केन्द्रीय राजनीतिमा स्थापित कुँवर नेविसंघको सह–महामन्त्री हुँदै हाल महामन्त्री छिन् । अंग्रेजी साहित्यमा स्नातकोत्तर कुँवर अध्ययन र लेखनमा रुचि राख्छिन् । ‘वाल्वा हुँदै पाल्पा र नेपाल विद्यार्थी संघको मैदानबाट महिला नेतृत्व’ उनका यसअघि प्रकाशित कृति हुन् । आध्यात्म र समाज सेवामा पनि उत्तिकै चासो राख्ने कुँवर विभिन्न संघ संस्थामा आवद्ध छिन् । उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित भएकि छिन् । महामन्त्री कुँवरसँग onlinenepal.com का लागि गरिएको कुराकानीको सम्पादित अंश :

    ० नेविसंघको राजनीतिमा किन लाग्नुभयो । कांग्रेसमा भन्दा सजिलो हुन्छ भनेर हो कि ?
    – त्यस्तो केही पनि होइन । म शुरुदेखि नै नेविसंघको राजनीति गरेको हुँ । कांग्रेसको सिद्धान्त, चारतारे झण्डा मलाई बुझ्ने हुँदादेखिनै मन पथ्र्यो । अझ भनौँ कांग्रेसको झण्डा मलाई अति नै मन पर्ने । मेरो बुबा त्यस बेला प्रधानपञ्च हुनुहुन्थ्यो ।

    त्यस बेला त्यो चारतारे झण्डा मेरो घरमा सबैले देख्ने गरेर राख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । म पद्म कन्या क्याम्पसमा अध्ययन गर्न शुरु गरेको थिएँ । त्यहीँबाट नेविसंघको राजनीति शुरु गरेँ । त्यस बेला पद्म कन्या क्याम्पसमा म पपुलर नै थिएँ । मलाई टिकट दिइयो भने जित्छु भन्ने थियो । त्यसपछि मलाई सदस्यको टिकट दिइयो । मैले २०५८ सालदेखि नेविसंघको राजनीति शुरु गरेको हुँ । त्यही वर्ष नै म पद्म कन्या क्याम्पस पनि भर्ना भएको थिएँ ।

    ० छोटो समयमा नै तपाई नेविसंघको महामन्त्री हुनुहुन्छ कसरी बन्नुभयो ?
    – नेविसंघको राजनीति गर्दै आएँ । म पद्म कन्यामा दुई पटक स्ववियुमा निर्वाचन लडेँ । मलाई पद्मकन्या क्याम्पसको सभापति बन्ने मन थियो । नेविसंघको राजनीतिमा निरन्तर लागिरहेँ । २८ वर्ष उमेर काटे । त्यसपछि स्ववियु सभापति बन्ने सपना तुहियो ।

    मलाई ईकाइमा बस्ने रहर थिएन । म नेविसंघको केन्द्रीय सदस्य भइन । नेविसंघको महाधिवेशन भयो भने उपयुक्त पदमा उम्मेदवार बन्ने भनेर तयारीका साथ बसेको थिएँ । महाधिवेशन नभएपछि कार्यसमिति मनोनीत गरेर ल्याउने भन्ने कुरा भयो । राजीव ढुंगानालाई पार्टीले अध्यक्ष बनायो ।

    त्यही क्रममा मलाई पनि पार्टी नेतृत्वले विश्वास गरेर महामन्त्री मनोनीत गरेको छ । नेविसंघप्रति मेरो लगानी, संगठनमा मैले पु¥याएको योगदान, पार्टी नेतृत्वको विश्वासलगायतले मलाई महामन्त्री बनाइएको हो । राजनीतिमा लामो र छोटो समयभन्दा पनि संगठनमा व्यक्तिले गरेको योगदानको मूल्यांकन हुन्छ ।

    ० नयाँ कार्यसमिति आए पनि नेविसंघले केही काम गर्न सकेन भनेर आरोप लागिरहेको छ नि । आफ्ना नेता कार्यकर्तासम्म तपाईहरू कोरोनाका बेला कसरी जानु हुन्छ ?
    – कोरोना महामारी हुँदा पनि हामी देशभरिका नेविसंघका नेता कार्यकर्तासँग विभिन्न माध्यममार्फत सम्पर्कमा गइरहेका छौँ । साना, ठूला कार्यक्रमहरू पनि भइरहेका छन् । नेविसंघले केही गर्नै सकेन भन्ने पक्षमा म छैन । त्रिविमा विद्यार्थी नेताहरू अनसन बसेका छन् ।

    विभिन्न रुपमा आन्दोलन भइरहेको छ । निजी विद्यालयहरूले अनलाइन कक्षाका नाममा उठाइरहेको शुल्कका विषयमा सम्बन्धित निकायलाई दवाव दिएका छौँ । विभिन्न विद्यार्थी संगठनहरूसँग बैठक बसेर ज्ञापन पत्र बुझाएका छौँ । जुमबाट पढाएको शुल्क मापदण्ड तोकेर लिनुपर्छ । तर, विभिन्न शीर्षकमा लिइने शुल्क लिन पाइँदैन भनेका छौँ ।

    सामाजिक दुरी कायम गरेर स्वास्थ्य मापदण्डका आधारमा सानातिना दवावका कार्यक्रम गरिरहेका छौँ । कोरोना भएका कारण ठूला कार्यक्रम र आन्दोलन हुन सकेको छैन । विद्यार्थीका हक, अधिकारका लागि नेविसंघ चुप लागेर बसेको छैन ।

    ० निजी स्कुलहरूले अनलाइन कक्षामा पढाएको बहानामा शुल्क असुली रहेको छ । नेविसंघ यो विषयमा बोल्नै सकेको छैन । किन होला ?
    – नेविसंघ बोलिरहेको छ । विरोध गरिरहेको छ । सचेत गराइरहेको छ । सबै विद्यार्थी संगठनहरूको संयुक्त बैठक बसेर यस विषयमा विज्ञप्ति पनि निकालेका छन् । कोरोनाले गर्दा अहिले हामी सडकमा जान पनि सक्दैनौँ । अनलाइन कक्षाका नाममा निजी विद्यालयको ज्यादतिका विषयमा शिक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाएका छौँ । खबरदारी गरेका छौँ । हामी चुप छैनौँ ।

    जथाभावी शुल्क उठाउने निजी विद्यालयको हिसाव किताब राखेका छौँ । समय आयो भने त्यसको जवाफ माग्ने छौँ । सरकार पनि निकम्मा भयो । विद्यार्थी र अभिभावक भन्दा पनि ती निजी स्कुलको पक्षमा झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार देखिएको छ ।

    नेविसंघको अहिलेको कार्यसमितिमा रहेका सबै पदाधिकारी तलैदेखि राजनीति गरेर आएका छन् । बुझेर राजनीति गरेका छन् । त्यही कारण पनि हामीबीच सहमति, सहकार्य र परामर्शबाट काम हुने गरेको छ । विद्यार्थीको राजनीतिमा संघर्ष गरेर आएका, कालो चिया खाएका, दुःख पाएकाहरूनै पदाधिकारी छन् । विद्यार्थीको पीडा बुझ्ने पदाधिकारीहरू छन् । अन्य संगठनमा विवाद भएको भए मलाई थाहा छैन ।

    ० कोरोना महामारीका बेला सरकारले विद्यार्थीलाई कुनै राहतको कार्यक्रम दिएन । नेविसंघ यो विषयमा पनि चुपचाप बस्यो । किन होला ?
    – नेविसंघ चुप लागेर बसेको छैन । बोल्ने कुरामा बोलेका छौँ । आन्दोलन गर्नुपर्दा सडकमा उत्रिएका छौँ । विद्यार्थीका विषयमा सबैभन्दा धेरै नेविसंघले बोलेको छ । सडकमा लाठी खाएको छ । यो कम्युनिस्ट सरकारले विद्यार्थीलाई मात्रै होइन गरिव जनतालाई नै राहत दिएको छैन । सरकारमा बसेकाहरूले जनताको नाममा, स्वास्थ्यका नाममा लुट मच्चाइरहेका छन् ।

    दवाव दिने काम हामीले दिएका छौँ । यो सरकारले नै हाम्रो मागको सुनुवाई नै गर्दैन । जनताको भन्दा पनि नेकपाका दुई–चार जनाका लागि यो सरकार हो । जनताको लागि होइन । हामी सधैँ सरकारलाई दवाव दिइरहेका छौँ ।

    ० नेविसंघ सक्रिय छैन भन्छन् । तपाईहरू पदाधिकारी मात्रै हुनुहुन्छ । यस्तो अवस्थामा नेविसंघलाई सक्रिय बनाउन कस्ता कार्यक्रमको आवश्यक्ता पर्छ ?
    – नेविसंघ सक्रिय छैन भन्न मिल्दैन । तपाईलाई नेविसंघको कार्यक्रम र कामहरूका बारेमा धेरै जानकारी रहेनछ । हामी आएको ७–८ महिना भएको छ । हामी आउनेवित्तिकै काम गर्न पएनौँ । कोरोनाको महामारी शुरु भइहाल्यो । त्यही बेला नेविसंघले पूर्णता पाउने थियो । कोरोना महामारी, दशैँ, तिहार आदिका कारण समस्या भयो । कार्यक्रम हामीले गरिरहेका छौँ ।

    विद्यार्थीलाई क्रियाशील बनाउने गरेर कार्यक्रम भइरहेका छन् । कोरोना महामारीले गर्दा हामीलाई समस्या भएको हो । नेविसंघ चुप लागेर बसेको छैन । गतिविधिहरू भइरहेका छन् ।

    ० नेविसंघ विघठनको गर्नुपर्छ भनेर पनि आवाज उठ्न थालेका छन् । अहिलेको नयाँ पुस्ताले राजनीतिमा चासो पनि दिँदैनन् । तपाईहरूले नयाँ पुस्तालाई राजनीतिप्रति आकर्षित गर्न सक्नु भएन रे नि ?
    – नेविसंघ विघटन हुँदैन । तपाईले गलत प्रश्न गर्नुभयो । नेपाली कांग्रेसको सबैभन्दा ठूलो सहयोगी र भरोसाको केन्द्र भनेको नेविसंघ हो । नयाँ पुस्तालाई राजनीतिमा आकर्षण नहुन सक्छ । उनीहरूलाई राजनीतिमा चासो दिने कार्यक्रम ल्याउनुपर्छ । त्यसमा हामी गम्भीर छौँ । कांग्रेसका लागि नेविसंघ भनेको अनिर्वाय छ । नेविसंघ भनेको कांग्रेस उत्पादन गर्ने ठाउँ हो ।

    नेविसंघलाई झन् सक्रिय बनाउने आवश्यक्ता छ । नेविसंघ भन्ने संस्था विघठन हुँदैन । बरु विघठन हुने भनेको कार्यसमिति हुन सक्छ । संस्था हुँदैन । मेरो कार्यकाल विघठन होला । तर, अर्को कार्यसमिति आउँछ । समय परिवेशले नयाँ पुस्ता राजनीतिसँग असन्तुष्ट छ होला । त्यो पुस्तालाई राजनीतिक विषयमा हामीले बुझाउन सक्नुपर्छ ।

    राजनीति छाड्ने त कुरै छैन । राजनीति गरेर यहाँसम्म आइसकेको छु । आधा उमेर राजनीतिमा बिताइसकेको छु । राजनीतिमा नै जीवन विताउने हो । राजनीति छाड्ने होइन कि, बरु बल्ल राजनीति शुरु भयो भन्नुस् ।

    ० नेविसंघमा महामन्त्री धेरै छन् । तपाईहरूका बीच तालमेल छैन । कार्यक्रम हुँदा पनि समन्वय हुने गरेको छैन । किन होला ?
    – तालमेल छैन भन्नै मिल्दैन । कार्यसमितिमा छलफल र विभिन्न माध्यमबाट परामर्श गरेर कार्यक्रम दिइने गरेको छ । विज्ञप्ति पनि सल्लाह गरेरै जारी गर्ने गरिएको छ । कहिले काहिँ अध्यक्ष राजीव ढुंगाना बाहिर हुँदा विभिन्न माध्यमबाट सम्पर्क गरेर सहमतिमै कार्यक्रम गर्ने गरिएको छ । विवाद छैन । तपाईहरूको बुझाइमा गलत भएको हुन सक्छ ।

    नेविसंघको अहिलेको कार्यसमितिमा रहेका सबै पदाधिकारी तलैदेखि राजनीति गरेर आएका छन् । बुझेर राजनीति गरेका छन् । त्यही कारण पनि हामीबीच सहमति, सहकार्य र परामर्शबाट काम हुने गरेको छ । विद्यार्थीको राजनीतिमा संघर्ष गरेर आएका, कालो चिया खाएका, दुःख पाएकाहरूनै पदाधिकारी छन् । विद्यार्थीको पीडा बुझ्ने पदाधिकारीहरू छन् । अन्य संगठनमा विवाद भएको भए मलाई थाहा छैन । तर, नेविसंघमा हामी पदाधिकारीहरूका बीच कुनै समस्या छैन ।

    ० तपाईले नेविसंघको राजनीतिपछि पार्टीको राजनीति गर्ने कि ? राजनीति छाडेर अरु पेशा व्यवसाय गर्ने ?
    – राजनीति छाड्ने त कुरै छैन । राजनीति गरेर यहाँसम्म आइसकेको छु । आधा उमेर राजनीतिमा बिताइसकेको छु । राजनीतिमा नै जीवन विताउने हो । राजनीति छाड्ने होइन कि, बरु बल्ल राजनीति शुरु भयो भन्नुस् ।

    ० कांग्रेसका शीर्ष नेताहरू विभिन्न बहानामा झगडा गरिरहेका छन् । उनीहरूलाई मिल्नका लागि विद्यार्थीले किन दवाव दिन सक्नु हुन्न ?
    – हामीले दवाव दिएका छाँै । दवाव दिने भनेर नेताहरूलाई घर घेरेर थुन्ने भन्ने कुरा हुँदैन । फोन गरेर होस्, विभिन्न माध्यमबाट होस् वा प्रत्यक्ष भेट भएका बेला मिल्नका लागि सल्लाह सुझाव दिने गरेका छौँ । पार्टीका शीर्ष नेताहरू हाम्रा अभिभावक हुन् । उहाँहरूबाटै हामीले सिक्ने हो । हामीलाई सिकाउन पनि शीर्ष नेताहरू मिलेर जानुपर्छ ।

    एउटा कुरा के पनि हो भने कांग्रेसको १४औँ महाधिवेशन लागेको छ । यो बेला गुटका बैठक, भेला, आलोचनाहरू त हुन्छन् । यसलाई कार्यकर्ताहरूले राम्रोसँग बुझेका छन् । अलिक धेरै गुट र विवाद भयो कि भन्ने कुरा मात्रै हो । कोरोनाले गर्दा फागुनमा महाधिवेशन होला जस्तो मलाई लाग्दैन । महाधिवेशनले गर्दा गुट र आलोचना देखिएको हो ।

    ० नेविसंघले अहिलेसम्म पूर्णता पाएको छैन । अहिले पदाधिकारी मात्रै छन् । पूर्णता नपाएरै तपाईहरूको कार्यकाल सकिने भयो है ?
    – नेविसंघले पूर्णता पाउँछ । ढुक्क भएर बस्नुस् । दशैँ अगाडि नै नेविसंघलाई पूर्णता दिने कुरा थियो । तिहार पछाडि नेविसंघले पूर्णता पाउँछ । तयारी भएको छ । पार्टी नेतृत्वसँग सरसल्लाह भइरहेका छन् ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार