Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

‘प्रधानमन्त्री ओलीकै संरक्षणमा भ्रष्टाचार’

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने नारा शतप्रतिशत कार्यान्वयन भएको दाबी गरेका थिए। उनले अझ एक कदम अघि बढेर ‘अब म गर्न दिन्नँ’ भन्ने नारा कार्यान्वयन गर्न कोसिस गर्ने घोषणा गरेका थिए। तर ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले भ्रष्टाचारको अनुसन्धान र अभियोजन गर्ने उद्देश्यले स्थापित अख्तियारद्वारा आयोजित सो कार्यक्रममा प्रधानमन्त्री ओलीले बोलेको कुरालाई गलत पुष्टि गरेको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण भएको दाबी गरे पनि ठूल्ठूला भ्रष्टाचार काण्डमा आरोपित आफूनिकटका व्यक्तिहरूको बचाउमा लागेकाले आम मानिसमा प्रधानमन्त्रीले नै भ्रष्टाचारीको संरक्षण गरिरहेको बुझाइ रहेको बताए। आर्थिक अनियमिततामा संलग्न भएका व्यक्तिलाई बिनाछानबिन प्रधानमन्त्रीले नै सफाइ दिने गरेको उनको भनाइ छ।

अधिवक्ता केदार कार्कीले वाइडबडी विमान खरिदमा भएको अनियमितता, सेक्युरिटी प्रेस खरिद क्रममा भएको घुस बार्गेनिङ, ओम्नीसँग खरिद गरिएकोे स्वास्थ्य सामग्रीमा भएको अनियमितता छताछुल्ल हुँदा पनि प्रधानमन्त्री ओलीले उक्त कार्यमा संलग्न मन्त्रीहरूले कुनै भ्रष्टाचार नगरेको सार्वजनिक अभिव्यक्ति दिनु र राज्यका निकायलाई स्वतन्त्रपूर्वक छानबिन गर्न नदिनुले उनी नै भ्रष्टाचारीको संरक्षक भएको आम नागरिकको बुझाइ भएको बताए।

पूर्वमुख्य सचिव विमल कोइरालाले आम नागरिकमा नै राजनीतिज्ञ र कर्मचारी तथा राज्यका विभिन्न संयन्त्रमा व्यापक भ्रष्टाचार हुने गरेको बुझाइ रहेको बताए। भ्रष्टाचार गर्दिनँ भनेर प्रतिज्ञा गर्न लगाउँदैमा घुस खान नरोकिने र सुशासन कायम नहुने स्पष्ट पार्दै उनले आम नागरिकले कामव्यवहारबाट मात्र त्यसको महसुस गर्न सक्ने बताए। एसियाका १७ देशमा गरिएको सर्वेक्षणमा ५८ प्रतिशत नेपालीले विगत एक वर्षमा भ्रष्टाचार पहिलाभन्दा झनै बढेको बताएको ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया रिपोर्टमा उल्लेख छ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै प्रकाशित गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटरः एसिया २०२०’ को रिपोर्टको हिस्साका रूपमा ब्लगमा लेख प्रकाशन गरेको हो। त्यसलाई टिआईले भ्रष्टाचारसम्बन्धी नागरिकको धारणा समेटिएको हालसम्मको सबैभन्दा विस्तृत सर्वेक्षण भनेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077