दमौली। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट निर्वाचित संघ र प्रदेशका सांसदहरुले विधि र प्रकृया नमिच्न नेपाली कांग्रेसका नेताहरुलाई चेतावनी दिएका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरोकारवाला कार्यालयसँग समन्वय नगरी आफूखुशी दुई वटा पुलको उद्घाटन गरेको भन्दै सांसदहरुले शुक्रबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी विधि र प्रकृया नमिच्न आग्रह समेत गरे।
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसान’ले नियम र पद्धति नमानेका कारण बुल्दी पुल उद्घाटनमा अवरोध भएको उल्लेख गरे । उद्घाटनमा रहर भए रामचन्द्र पौडेल मात्र हैन, जोकोहीको हातबाट रिबन काटेर गराउँथ्यौ ,’ उनले भने,’ तर सरकारको नियम र पद्धति नमानेकाले विरोध गरेका हौँ ।
दमौलीमा आयोजित पत्रकार सम्मेलनमा उनले भारी मतले जनताले जिताएको भन्दै आफूलाई बाइपास गरेकाले अवरोध भएको उल्लेख गर्दै जनमतको कदर गर्न आग्रह गरे ।
सांसद श्रेष्ठले आफ्नो सम्पत्तिको स्रोतको बिषयमा कुरा उठाउने कांग्रेस युवा नेता प्रदिप पौडेललाई भने,’ हामी त हजुरबुबाको पालादेखि नै व्यापारी हौं । ब्यापार गर्दा गर्दै म जनताको सेवामा लागेको हुँ । व्यापार गरेर नै सम्पत्ति जोडेको हुँ । पौडेलजीसँग कुनै व्यापार र व्यबसाय नै नगरी टोखामा करोडौको घर र महंगा गाडी चढ्ने हैसियत कसरी भयो ?’ ।
आफ्नो सम्पत्ति छानविन गर्न चुनौती दिंदै सांसद श्रेष्ठले भने, ‘मेरो सम्पत्ति र प्रदिपजीको छानविन गरौ, अबैध देखियो भने म राज्यलाई नै फिर्ता गर्ने घोषणा गर्दछु। तर, बिना व्यापार करोडौको महल र गाडी चढ्ने प्रदिपजीसँग म टेबुलमा बसेर कुरा गर्न चाहन्छु।’प्रदिपजीको सम्पत्तिको स्रोत पनि छानविन हुनुपर्दछ। ‘
सांसदहरु कलिला खान, भगवती न्यौपाने, प्रदेश सभासद् रामबहादुर गुरुङ पनि सहभागी कार्यक्रममा क्षेत्र नंबर २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले लामो समय कांग्रेसले तीनवटा क्षेत्र जित्दा सहे पनि अब आफूहरु निर्वाचित भएकाले आफूहरुको भूमिका रहने बताए ।