Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अपहरण र फिरौतीका मास्टरमाइण्ड उदय सेठ्ठी समूहका बुढाथोकी भारतबाट पक्राउ

    अपहरण र फिरौतीका मास्टरमाइण्ड उदय सेठ्ठी समूहका बुढाथोकी भारतबाट पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १५ पुष २०७७
  • 5.3K
    SHARES

    काठमाडौं । भ्याली काेल्ड स्टाेरका सञ्चालक बाबुराजा रावललाई १ करोड ५० लाख रुपैयाँ फिरौती असूली गरेको प्रकरणमा संलग्न उदय सेठ्ठी समूहका कुमार बुढाथोकी पक्राउ परेका छन् ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खुंखार अपहरणकारी भारतीय नागरिक उदय सेठ्ठी समूहका बुढाथोकीलाई भारतको दार्जिलिङबाट पक्राउ गरी नेपाल ल्याएकाे स्राेतले बतायाे ।



    सिआईबीको टोलीको छद्म नाम राखेर भारतको दार्जिलिङमा बस्दै आएका बुढाथोकीलाई सोही स्थानबाट पक्राउ गरी काठमाडौं ल्याएको हाे ।



    सर्लाही स्थायी घर भएका बुढाथोकी अपहरणकारी उदय सेठ्ठी र प्रह्लाद महतको समूहका व्यक्ति रहेकाे सीआईबी प्रमुख डिआईजी सहकुल थापाले बताए ।

    सीआईबीले भने बुढाथोकीलाई इलाम जिल्लाको पशुपतिनगर स्थित भारतसँगको सीमा क्षेत्रबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ ।

    डिआईजी थापाका अनुसार बुढाथोकी  ‘प्रकाश क्षेत्री’ को नामले परिचित भई भारतको दार्जिलिङ बजारमा ‘प्रकाश स्टोर्स’ नामक कपडाको होलसेल पसल संचालन गरी लुकेर बस्दै आएका थिए ।

    अमर टण्डन र उदय सेठ्ठीको समूहमा रही बुढाथोकी अपहरण तथा गुण्डागर्दीमा सक्रिय रहँदै आएका थिए ।

    चोरी र डकैतीमा संलग्न बुढाथोकी २०६४ सालमा बानेश्वर प्रहरीको हिरासत तोडेर भागेका अभियुक्त हुन् ।

    सेठ्ठीको समूहले २०६५ पुस १ गते व्यापारी रावललाई अपहरण गरी साढे १ करोड रुपैयाँ फिरौती असूली गरी छाडेकाे थियाे ।

    यस अघि महानगरीय अपराध महाशाखाको टोलीले २०६६ पुसमा सेठ्ठी, महतसहित विष्णु जिसी, टासी गुरुङ, विकासबहादुर कार्की र मानवदेव गुरुङलाई पक्राउ गरी मुद्दा चलाएकाे थियाे ।

    उनीहरुलाई काठमाडौं जिल्ला अदालतले १२ वर्ष कैद र जरिवाना समेत हुनेगरी गरेको फैसलालाई सर्वोच्च अदालतले २०७७ असार २१ गते अपराध ठहर हुने गरी सदर गरिसकेकाे छ ।

    उदय सेठ्ठी समुहलाई हत्या, अपहरण र फिरौतीमा दर्जनौ मुद्दा प्रहरीमा दर्ता भएका छन् ।

    सेठ्ठी  शुरुमा अन्डरवर्ल्ड डन छोटा राजन समुहमा बसेर काम गरेका थिए।

    सेठ्ठी र उनको समुहले बाबुराजालाई अपहरण गरेकै समयमा पेस्तोल टाउकोमा राखेर तर्साउने क्रममा आफ्नै सहयोगी सुदिप भन्ने व्यक्तिलाई गोली लागेको थियो।

    त्यसपछि घाइते बनेका सुदिपलाई सेठ्ठीकै समुहले ढुङ्गाले टाउकोमा हानेर हत्या गरेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार