अण्डरवर्ल्ड शैलीमा अपहरण र फिरौतीलाई नेपालमा स्थापित गराउने टण्डन समूहको कथा

अण्डरवर्ल्ड शैलीमा अपहरण र फिरौतीलाई नेपालमा स्थापित गराउने टण्डन समूहको कथा

कुमार भण्डारी
  • बुधबार, पुष १५ २०७७

  • 74.1K
    SHARES

  • अण्डरवर्ल्ड शैलीमा अपहरण र फिरौतीलाई नेपालमा स्थापित गराउने टण्डन समूहको कथा

    कुमार भण्डारी/ काठमाडौं । नेपालमा अपहरण र संगठित रुपमा फिरौती असुलीको धन्दालाई उद्योगको रुपमा स्थापित गराउनेमा अग्रपंक्तिमा पर्छ अमर टण्डन तथा उदय सेठ्ठी समूह । टण्डन समूहले मात्रै झण्डै २५ जनालाई अपहरण गरेको प्रहरीमा रेकर्ड छ ।

    २०६४ सालमा टण्डन पक्राउ परेपछि उनका मुख्य सहयोगी भारतीय नागरिक उदय सेठ्ठी, प्रल्हाद महत, सोले/कुमार भन्ने दुर्गाबहादुर बुढाथोकीहरुले अपहरणको धन्दालाई जारी राख्दै आएका थिए ।

    सेठ्ठी तिनै व्यक्ति हुन्, जसको अण्डरवर्ल्ड डन छोटा राजनको समूहसँग पनि सम्बन्ध रहेको छ । छोटा राजन समूहका सदस्य सन्तोष सेठ्ठीसँग उदयको निकट सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

    मुम्बइमा रहेर त्यहाँका कारागारहरुमा खाना पुर्याउने काम गर्ने सेठ्ठीले त्यतिबेला नै अण्डरवर्ल्डका सदस्यहरुसँग सम्बन्ध विस्तार गरेका थिए । त्यति नै बेला उनले मुम्बइको चर्चित फजल अल रहमान समूहसँग काम गरेका थिए ।

    भारतीय प्रहरीबाट बच्दै २०५९ सालमा नेपाल प्रवेश गरेका सेठ्ठी टण्डनसँग नजिकिएर संयुक्त रुपमा धन्दा शुरु गर्न थाले ।

    टण्डन समातिएपछि उनको समूहले सामाखुसीका व्यवसायी निरज कक्षपतीलाई अपहरण गरी १ करोड ५० लाख रकम फिरौती लिएको थियो ।

    सेठ्ठी र उनको समूहले निरज कक्षपतीलाई अपहरण गरी फिरौती असुल्ने क्रममा पेस्तोल टाउकोमा राखेर तर्साउँदा आफ्नै सहयोगी सुदिप मैनालीलाई गोली लागेपछि पुनः दुई राउण्ड गोली हानेर हत्या गरेको थियो ।

    त्यसपछि लाश नचिनिने बनाउन मृतकको अनुहारमा ढुंगा हानेर क्षतविक्षत पारी पोको पारेर गौरीघाटमा फालेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । सुदिपको हत्या भएको भन्दै पीडित परिवारले सेठ्ठी र टण्डनको समूहविरुद्ध बौद्ध प्रहरीमा किटानी जाहेरी दिएको थियो ।

    सिआईबीको रेकर्डमा टण्डन समूहले १९ वटा अपहरणको घटना गराएको उल्लेख छ । यो समूहले गराएको अपहरण र फिरौतीको घटनामध्ये शिव सरावगी, सुमीत शेरचन, ज. आशुतोष, पवन अग्रवाल, अमित्य गुरुङ, उमेश गर्ग, दिलिप अग्रवाल, ईश्वरदत्त पाण्डे, टिकाराम अर्याल, महेश मुरारका, निरज कक्षपती, बाबुराजा रावल प्रमुख हुन् ।

    यो समूहले संगठित रुपमा हतियारको प्रयोग गरी फिरौती असुल्ने गर्दथ्यो । टण्डनको समूहले अपहरित ब्यक्तिलाई राख्न बौद्ध, मण्डीखाटार र रुपन्देहीको छपीयामा घरहरु भाडामा लिएको समेत प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो ।

    सिआईबीले अपहरण तथा शरिर बन्धक मुद्दाका फरार प्रतिवादी सोले/कुमार भन्ने दुर्गाबहादुर बुढाथोकीलाई १२ बर्ष पछि भारतको दार्जिलिङबाट पक्राउ गरेसँगै उनलाई प्रयोग गर्ने अमर टण्डन समूहको फेहरिस्त खुलेको हो ।

    भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावललाई १ करोड ५० लाख रुपैयाँ फिरौती असूली गरेको प्रकरणमा संलग्न अमर टण्डन र उदय सेठ्ठी समूहका दुर्गा बुढाथोकीलाई सिआईबीले पक्राउ गरेको हो ।

    २०६५ पुस १ गते रावललाई टण्डन समूहका प्रल्हाद महत, बिष्णु जिसी, बुढाथोकी, बङ्गुरे भन्ने बिकास कार्की, सोल्टी भन्ने टासी गुरुङ, बिनोद कार्की, अनिल गुरूङ समेतले योजना बनाई अपहरण गरी बन्धक बनाई ज्यान मार्ने धम्की दिई फिरौती बापत १ करोड ५०लाख रकम असुलेर भोलिपल्ट टोखामा पुर्‍याई छाडेका थिए ।

    त्यसको एक वर्ष पछि २०६६ पुसमा महानगरीय अपराध महाशाखाको टोलीले सेठ्ठी, महतसहित विष्णु जिसी, टासी गुरुङ, विकासबहादुर कार्की र मानवदेव गुरुङलाई पक्राउ गरी मुद्दा चलाएपछि बुढाथोकी भारत पलायन भएका थिए ।

    उनीहरुलाई काठमाडौं जिल्ला अदालतले १२ वर्ष कैद र जरिवाना समेत हुनेगरी गरेको फैसलालाई सर्वोच्च अदालतले २०७७ असार २१ गते अपराध ठहर हुने गरी सदर गरिसकेको छ ।

    बुढाथोकी ‘प्रकाश क्षेत्री’ को नामले परिचित भई भारतको दार्जिलिङ बजारमा ‘प्रकाश स्टोर्स’ नामक कपडाको होलसेल पसल सञ्चालन गरी लुकेर बस्दै आएको सिआईबी प्रमुख डिआईजी सहकुल थापाले बताए । थापाका अनुसार फिरौतीको रकम लिन उनीहरुले हुण्डीको प्रयोग गर्दथे ।

    चोरी र डकैतीमा संलग्न बुढाथोकी २०६४ सालमा बानेश्वर प्रहरीको हिरासत तोडेर भागेका अभियुक्त हुन् ।

    त्यस्तै १० बर्ष अघि लाजिम्पाटस्थित ग्य्राण्ड शिखर म्यानपावरका सञ्चालक फहिम साहसँग ५० लाख फिरौती माग्दा नपाएपछि भारतीय अपराधी सेठ्ठीले जेलभित्रैबाट गुण्डाहरुलाई परिचालन गरी पेस्तोल उपलब्ध गराइदिएको र कारागारभित्रै रहेका टासी गुरुङले सेठ्ठीका लागि समूह जुटाइदिएको अनुसन्धानका क्रममा खुलेको थियो ।

    टण्डन र सेठ्ठीको समूह फिरौती असुलीका क्रममा व्यक्तिको हत्या गर्न समेत पछि पर्दैनथ्यो । यो समूहले फेरि पनि यस्तै घटना दोहोर्याउन सक्ने सूचना पाएपछि सिआईबीले गम्भिर रुपमा अनुसन्धान थालेको थियो ।

    बुढाथोकी पक्राउ परेसँगै यो समूहको गतिविधि छिन्नभिन्न हुन सक्ने देखिए पनि ब्यापारी तथा उद्योगीहरुमा त्रास भने कायमै छ ।

    किनकी, यो समूहले जेल भित्रबाटै हाइड्रोपावर तथा कलकारखानाहरुबाट असुली धन्दा अझै जारी राख्दै आएको स्रोत बताउँछ ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार