Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रहरीलाई दुरुपयोग गर्दै घैंटेका सहयोगी, मिटरव्याजमा फसेको पैसा उठाउँदै

    प्रहरीलाई दुरुपयोग गर्दै घैंटेका सहयोगी, मिटरव्याजमा फसेको पैसा उठाउँदै

    अनलाइन नेपाल
  • आइतबार, १९ पुष २०७७
  • 5.6K
    SHARES

    काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डानाइके कुमार श्रेष्ठ ‘घैंटे’को समूहका अनुराग कुँवरले बहालवाला प्रहरी अधिकारीदेखी पूर्वडीआइजीसम्मलाई प्रभावमा पारेर फसेको पैसा उठाउने गरेको खुलेको छ।

    केही दिन अघि कुँवरले महानगरिय प्रहरी परिसर काठमाडौंमा इटहरीका बिबादास्पद ठेकेदार नगेन्द्र श्रेष्ठबिरुद्द चेक बाउन्समा उजुरी दिए।



    ३० लाखको चेक बाउन्समा श्रेष्ठलाई इटहरीबाट पक्राउ गरी प्रहरीले बैँकिङ कसुरमा म्याद थप गरी अनुसन्धान थालेको परिसर स्रोतले वतायो।



    अरु सर्वसाधारणले चेक बाउन्समा उजुरी दिए अदालतमा जानु भनेर फर्काउने प्रहरीले इटहरीबाट मान्छे उठाएर कुँवरले ‘मिटरव्याज’मा फसाएको पैसा उठाइदिने काम गरेको परिसर स्रोत वताउँछ।

    स्रोतका अनुसार कुँवरले श्रेष्ठलाई मिटरव्याजमा पैसा लगानी गरेका थिए।

    कुँवरले घैटे मारिएपछि दर्जनौ व्यक्तिहरुलाई मिटरव्याजमा पैसा लगानी गर्दै आएका छन्।

    यता, कुँवरको जन्मदिनको भोजमा पूर्वडीआइजी रमेश खरेलदेखि परिसरका एसपी सोमेन्द्रसिंह राठौरसम्म पुगेका छन् ।

    रमेश खरेलले त कुँवर राम्रो व्यक्ति भन्दै प्रशंशा नै गरेका थिए

    आफूलाई नागरिक अगुवाका रुपमा चिनाउने पूर्वडीआइजी खरेल पनि घैंटेका सहयोगी कुँवरको पार्टीमा दम्पत्तिसहित पुगेका थिए । एसपी राठौर त प्रहरी पोशाकमै सहभागी थिए ।

    शुक्रबार आयोजित अति नै खर्चिलो कुँवरको भोजमा नेकपाका नेता तथा पूर्व पर्यटन मन्त्री योगेश भट्टराईदेखि लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछाने पनि सहभागी थिए । कुँवरको जन्मदिनको पार्टीमा कलाकार निर शाह, निर्मल शर्मा गैंडा, किरण केसी, राजाराम पौडेल, दीपाश्री निरौला लगायत पनि थिए । कुँवरलाई जन्मदिनको शुभकामना दिन जाने होडबाजी नै चलेको देखिएको थियो ।

    प्रहरी सेवामा हुन्जेल गुण्डानाइकेबिरुद्ध कडा रुख अपनाएका र अवकाश भएपछि भ्रष्टाचार र गुण्डागर्दी प्रवृत्तिको बिरोधमा नागरिक अगुवाको रुपमा देश दौडाहा गर्दैआएका पूर्वडीआइजी खरेल पनि कुँवरको भोजमा जानुलाई आश्चर्य मानिएको छ ।

    कुँवर प्रहरी इन्काउन्टरमा मारिएका डन कुमार श्रेष्ठ ‘घैटे’ का सहयोगी थिए । २०७२ भदौ ३ मा सामाखुसीको कपुरधारा व्रिटिश क्याप पछाडि सादा पोशाकमा रहेका प्रहरी र घैंटेको समूहबीचको भिडन्तमा उनी मारिएका थिए । घैंटे मारिएपछि उनको पैसामा दर्जनौं व्यक्तिहरुले मस्ती गर्दै आइरहेका छन् । यसरी मस्ती गर्नेमध्येका एक हु्न् अनुराग कुँवर ।

    घैटे मारिएपछि कुँवर एकाएक कलाकार बनेका थिए । गुण्डागर्दीको आफ्नो रुपलाई पखाल्न र घैटेको अबैध पैसालाई चलचित्रमा लगानी गरेर कुँवरले आफूलाई चोखो साबित गर्न खोजिरहेका छन् ।

    त्यसैको लागि उनले सेलिब्रेटी बोलाउँदै जन्मदिन मनाउँदैआएका छन् । प्रहरी स्रोतका अनुसार कुँवर अहिले पनि प्रहरी निगरानीमा परेका गुण्डा हुन् भने उनले क्यासिनोमा मिटरव्याजमा लगानी गरेर कमाएको अबैध पैसालाई चलचित्र क्षेत्रमा लगानी गरेका छन् ।

    कुँवरले कुमार घैंटेसँग तीन करोड रुपैयाँ लिएर विभिन्न व्यक्तिहरुलाई चर्को ब्याजमा लगानी गरेका थिए । तर, घैंटेको मृत्युपछि सोही तीन करोड रुपैयाँ र त्यसबाट उठेको ब्याजसमेत गर्दा करिब ७ करोडको सम्पत्ति जोड्न सफल भएको उनी निकट व्यक्तिहरु बताउँछन् ।

    काठमाडौं साङ्लेखोला स्थायी घर भएका कुँवर एक सामान्य परिवारका व्यक्ति हुन् । घैंटे इन्काउन्टरमा मारिनुभन्दा पहिले सोही समूहमा आबद्ध भएका कुँवर पछिल्लो समय सामाखुसी क्षेत्रमा हुने गुण्डागर्दी र असुलीका धन्दामा पर्दा पछाडि बसेर कारोबार चलाउँदै आएको प्रहरी स्रोत वताउँछ ।

    केही नेपाली चलचित्रमा अभिनयसमेत गरेका कुँवरले पछिल्लो समय केही व्यापारी र केही फिल्मकर्मीहरुलाई मिटरब्याजमा पैसा लगानी गर्दै आएका छन् । करिब १५ वर्ष अगाडि चाबहिलस्थित गोपीकृष्ण चलचित्र नजिकै अनुरागले चलाएको मोटरसाइकलले ठक्कर दिँदा नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रबहादुर सिंहका भाइ वरुणबहादुर सिंहको मृत्यु भएको थियो । सो घटनापछि उनी केही वर्ष सिंगापुर पलायन भएका थिए ।

    पछि नेपाल फर्केर घैंटे समूहमा आबद्ध भएका उनी घैंटे इन्काउन्टरपछि चर्चित गुण्डानाइके चक्रे मिलनको संरक्षणमा अवैध धन्दा सञ्चालन गर्दै आएका छन् ।

    एक उच्च प्रहरी अधिकारीका अनुसार घैंटेले इन्काउन्टरमा मारिनुभन्दा पहिले नै अत्याधुनिक हतियार कुँवरलाई राख्न दिएका थिए । जब घैंटे प्रहरी कारबाहीमा मारिए, त्यसपछि कुँवरले उक्त हतियार गायब बनाएको सुराक अपराध महाशाखाका अधिकारीहरुलाई पनि पुगेको थियो । प्रहरीका अनुसार उक्त हतियार अहिलेसम्म पनि भेटिएको छैन ।

    कुनै समय बिहान बेलुकाको छाक टार्न समेत मुस्किल पर्ने उनले उक्त दिन जन्मदिनको अवसर भन्दै असहाय वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरेका थिए ।

    कुमार घैंटेको अवैध सम्पत्ति हत्याएपछि उनले ललितपुरको हात्तीवनमा एउटा अपार्टमेन्ट खरिद गरेका छन् । त्यस्तै, हास्यकलाकार निर्मल शर्मा ‘गैंडा’ सँग मिलेर नारायणहिटीको उत्तरढोका नजिकै एक रेस्टुरेन्ट सञ्चालन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार