Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • नेपालमै कतै नमनाइने ‘छोरा’ तिहार कर्णालीवासीले मनाए

    नेपालमै कतै नमनाइने ‘छोरा’ तिहार कर्णालीवासीले मनाए

    अनलाइन नेपाल
  • शुक्रबार, २ माघ २०७७
  • 2.5K
    SHARES

    कर्णाली ।  भाइतिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले ‘छोरा’ तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पालगायतका जिल्लाका सर्वसाधारणले धुमधामका साथ मनाएका हुन् ।

    आज बिहानै नुहाइधुवाइ गरेर छोराहरुले आमाको हातबाट टीका थाप्ने प्रचलन रहेको छ । भाइटीकाजस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता, गलामा माला र सगुनको रूपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकारसहित छोरालाई टीका लगाउने प्रचलन छ ।



    टीकासँगै छोरालाई दीर्घायु र प्रगतिको कामना गर्दै आशीर्वाद दिने गरिन्छ । छोराले पनि आमालाई दक्षिणाको रूपमा आफूसक्दो पैसा, धोती चोलीलगायतका कोसेली दिएर टीका थाप्ने गरिन्छ । आमाको हातबाट टीका थाप्नका लागि जिल्ला बाहिर पुगेका छोरा पनि आजको दिन घर पुग्ने गर्दछन् । कुनै काम विशेषले घर पुग्न नसक्ने छोराले टेलिफोनबाटै भए पनि आशीर्वाद लिने र आमाले पनि छोराका लागि बनाएको कोसेली छुट्याएर राखिदिने गरिन्छ ।



    छोरा तिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुष जम्मा भई प्रत्येक घरघर तथा गाउँबस्तीमा पुगेर भाइटीकामा देउसी भनेजस्तै भैलो खेल्ने प्रचलन छ । यसरी भैलो खेलेर उठेको रकमबाट धारा, पधेँरा, बाटोलगायतका सार्वजानिक सम्पदा मर्मतसम्भार गरिन्छ भने बचेको रकमबाट वनभोज जाने गरिन्छ । आजको दिनमा महिला पनि सार्वजानिकस्थलमा भेला भएर चुट्किला देउडा खेलेर रमाइलो गर्ने र एकअर्काको पिरव्यथा साटासाट गर्ने गरिन्छ । डोल्पालगायत कर्णालीका अन्य जिल्लामा मनाइने छोरा तिहार कर्णालीमा कतै पनि नमनाइने त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयवासी रमानन्द उपाध्यायले बताए ।

    भाइ तिहारमा खेलिनेलाई देउसी र छोरा तिहारमा खेलिनेलाई भैलो भनेर भनिने उनले बताए । यो भैलो तिहारको देउसीभन्दा फरक ढङ्गबाट र फरक लयमा खेलिने गर्दछ । भैलो खेलेर मागेको चामल, धान, पैसा सबै भैलो खेल्न गएकाहरु सबै जना मिलेर पाठी भात (स्थानीय भाषामा) वनभोज खाने प्रचलन रहेको समेत उपाध्यायले बताए । छोरा तिहारमा आमा नहुनेहरुले भने स्थानीय मठमन्दिरमा गएर पुजारीको हातबाट टीका, अक्षता लगाएर छोरा तिहार मनाउने गर्दछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार