Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • आगो अझै नियन्त्रण बाहिर

    आगो अझै नियन्त्रण बाहिर

    अनलाइन नेपाल
  • शनिबार, १७ माघ २०७७
  • 2.1K
    SHARES

    मनाङ । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका छन् ।

    “जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन”, नासो गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजङ्ग गुरुङले भने । चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै हो । यहाँ जम्मा ६३ घरधुरी छन् ।



    तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताए । तीव्र वेगमा हावा चलेकाले आगो नियन्त्रणमा लिन कठिन भएको उनको भनाइ छ । उनले जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय बूढाबूढी, केटाकेटी सबै मिलेर अग्नि रेखा बनाउन सफल भएको बताउँदै भने , “पाइपको व्यवस्था गरेर बाल्टीमा पानी भरी आगो निभाउने प्रयासमा छौँ ।”



    रात परेकाले घर जाने कि वनमै बस्ने केही निर्णय गर्न नसकेको उनको भनाइ छ । “घर जाऊँ आगोले बस्ती नै सिध्याउला भन्ने डर, नजाऔँ दुई दिनदेखिको भोक प्यासले हैरान पा¥यो”, घलेले आफूहरुका बाध्यता सुनाए। “गाउँ कुइरीमण्डल छ, सास फेर्न गाह्रो भइरहेको छ”, उनले भने ।

    ताचै संरक्षण क्षेत्र व्यवस्थापन समिति अध्यक्ष याद घलेले आगो निभाउने प्रयास भैरहेको बताए । अर्का स्थानीय रोशन गुरुङले आगो नियन्त्रणमा अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले चासो नदिएको गुनासो गरे । आगोले एक्याप क्षेत्रको दुई हजार हेक्टर जङ्गल सखाप पारेको छ । जङ्गल जलेपछि घोरल मृग दौडिएको स्थानीयले बताएका छन् ।

    अहिले आगो मनास्लु पदमार्गतर्फ गोवा भन्ने ठाउँमा बलिरहेकोे वडा ७ तिल्चेका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । आगो गाउँमा छिरेपछि पनि कतैबाट पनि सुरक्षा नपाएकामा आक्रोश व्यक्त गर्दै उनले भने , “प्रशासनले आगो लगाउने व्यक्ति पहिचान गर्न चासो देखाएन र अन्य सङ्घसंस्था पनि गम्भीर देखिएनन् ।’’

    मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले आगो लगाउने व्यक्तिको खोजी गरी कारवाही गरिने बताए । ‘‘आगोको त्रासमा प्रशासन भयवित भएका जनतालाई सुरक्षा दिन दिनरात नभनी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा बस्ती जोगाउने काम भइरहेको छ’’, उनले भने । जिल्लाका विभिन्न ठाउँमा आगलागीका घटना भइरहेकाले जिल्लाका सबै संयन्त्र परिचालन गर्दागर्दै पनि नियन्त्रणमा लिन कठिनाइ भएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार