Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ठगी धन्दामा जगदम्बा ग्रुप, विष्णु न्यौपानेमाथि २ अर्ब जरिवाना हुन सक्ने !

    ठगी धन्दामा जगदम्बा ग्रुप, विष्णु न्यौपानेमाथि २ अर्ब जरिवाना हुन सक्ने !

    अनलाइन नेपाल
  • बिहिबार, ६ फाल्गुन २०७७
  • 4.6K
    SHARES

    काठमाडौं। नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग भनेर दाबी गर्ने जगदम्बा सिमेन्टले विगत चार वर्षमा नक्कली बीजक, मुद्रा अपचलन, अधिक मूल्यांकन आदि कीर्ते कार्य गरी राज्यलाई एक अर्बभन्दा बढी रुपैयाँ बराबरको ठगी गरेको छ ।

    जगदम्बा सिमेन्ट कम्पनीमा लामो समय काम गरेर अवकाश लिएका एक उच्च ओहोदाका कर्मचारीका अनुसार सम्पत्ति शुद्धीकरण, आन्तरिक राजस्व कार्यालय र नेपाल राष्ट्र बैंकको तत्काल अनुगमन गरी कारबाही अघि बढाए सबै कीर्ते काम प्रमाणित हुनेछ ।



    भारतको मुम्बईस्थित कोकुयो क्यामलिन आट्र्स एन्ड स्टेसनरी सप्लाई गर्ने कम्पनी र दिल्लीस्थित श्यामा इन्टरप्राइजेज मोटर पाट्र्स, पम्प र तारको काम गर्ने कम्पनीको कर दर्ता नम्बर छापेर नक्कली ढुवानीकर्ता बनाई जगदम्बा कम्पनीले नेपाललाई ठगी गरेको कर्मचारीको दाबी छ ।



    ‘श्यामा इन्टरप्राइजेज युक्ति अग्रवालको नाममा अक्टोबर १, २०१९ मा दिल्लीमा दर्ता भएको कम्पनी देखिन्छ । तर, श्यामा इन्टरप्राइजेजको नामबाट अप्रिल १५, २०१७ सालदेखि नै काम भइरहेको श्यामा इन्टरप्राइजेजले शुभश्री जगदम्बा सिमेन्ट मिल्सलाई जारी गरेको बिलले देखाउँछ ।

    कोकुयो क्यामलिन, श्यामा इन्टरप्राइजेज जस्ता अरु पाँच कम्पनीको बीजकबाट पनि करछली र मनी लाउन्ड्रिङ भइरहेको छ’, ती कर्मचारीले भने, ‘भैरहवा र वीरगञ्ज दुवै ठाउँबाट यस्ता कीर्ते कार्य भएका छन् ।’

    ती कर्मचारीले अगाडि भने, ‘सरकारले मेरो ज्यानको सुरक्षा, गोपनीयता तथा मलाई ठगी रकमको १५ प्रतिशत पुरस्कार दियो भने म सरकारसमक्ष दस्तावेजसहित बयान दिन तयार छु ।’ केही दिनयता सौरभ ग्रुपबाट भएका कीर्ते गतिविधि बाहिर आएपछि ‘बाहिर मिडियामा कसरी आयो’ भनेर व्यापक खोजी भइरहेको बताउँदै उनले यस्तो जालसाजी कम्पनीमा काम गर्दा कुनै न कुनै दिन फस्ने पक्का भएकोले आफूले काम छाडेको खुलासा गरेका छन् । ‘यस्तो कम्पनीको पर्दाफास गर्नु हरेक व्यक्तिको धर्म हो ।

    मसँग करिब दुई सय पेजको चार वर्षभन्दा बढीको नक्कली बिल छ’, उनले भने ।‘समाचारमा जगदम्बा सिमेन्टको एक अर्बभन्दा बढी ठगी गरेको विवरण प्रकाशित भइसके पनि नेपाल राष्ट्र बैंक, आन्तरिक राजस्व विभाग र सम्पत्ति शुद्धीकरणले केही कारबाही अघि नबढाएको देख्दा अचम्म लाग्छ’, उनले भने ।

    भारतको मुम्बई अँधेरीमा रहेको कुकुयो क्यामलिन पब्लिक लिमिटेड कम्पनीलाई ढुवानी कम्पनीका रुपमा देखाएर नक्कली कागजपत्र खडा गरी ठगेपछि सर्वप्रथम भ्रष्टाचारको पर्दाफास भएको हो ।

    कुनै ढुवानी कम्पनीकै जीएसटी नम्बर प्रयोग गरेर पेस गरेको भए ठगी साबित हुन गाह्रो थियो तर उद्देश्य नै अलग रहेको कम्पनीको जीएसटी नम्बरका कारण जगदम्बाको ठगी बाहिर आयो ।

    ढुवानी कम्पनीलाई भुक्तानी गर्दा व्यक्तिका नाममा रकम पठाउने गरेको र यसका लागि हिमालयन बैंक, ठमेल शाखा र नेपाल एसबीआई बैंक, न्युरोड शाखालाई प्रयोग गरेको कागजातले पुष्टि गर्दछ ।

    कम्प्युटरबाट नक्कली एक्सएल बिल तयार पारी नक्कली ढुवानी कम्पनीलाई भुक्तानी गर्ने कार्यमा वीरगञ्जमा रहेर वित्तीय क्षेत्र हेर्ने जगदम्बाका निर्देशक अमित अग्रवाल र सोही क्षेत्रको कारखाना हेर्ने डाइरेक्टर राजेश अग्रवाल सक्रिय छन् ।

    त्यसैगरी, स्थानीय बैंकहरूलाई प्रयोग गरेर नेपालबाट भारतमा व्यक्तिका नाममा भुक्तानी पठाउने काममा भने सुनिल खेतानले नेतृृत्व लिएका छन् । ‘मैले बुझेसम्म विष्णु न्यौपानेलाई गलत किसिमले भुक्तानी भइरहेका बारेमा जानकारी त छ, तर उनलाई स्टेसनरी कम्पनीको नाम दुरुपयोग भइरहेको थाहा नहुनसक्छ’, अवकाशप्राप्त वरिष्ठ कर्मचारीले भने, ‘अमित अग्रवालको केटाकेटीपनाले यो सबै सतहमा अब आउँदै छ ।’ कर कार्यालयले यस्तो मुद्दामा १० वर्षसम्मको फाइल झिकाई ट्याक्स अडिट गर्न पाउँछ । यसले गर्दा जगदम्बा सिमेन्ट उद्योग र शुभश्री सिमेन्टका कारखानालाई १२० देखि २०० करोडसम्म जरिवाना गर्ने पक्का छ ।

    नेपालबाट डिमाण्ड ड्राफ्टका रुपमा भुक्तानी पठाउने र रक्सौल, भारतबाट रकम झिक्ने काम हुने गरेको पनि ती कर्मचारीले खुलासा गरे । यसरी डिमाण्ड ड्राफ्ट जसको नाममा जान्थ्यो, उसले काम गरेको पनि हुन्न र उसलाई आफ्नो नाम र जीएसटी नम्बर प्रयोग गरेर कसैले कमाइरहेको छ भन्ने थाहा पनि हुन्न । यता, जगदम्बा सिमेन्ट वा सौरभ ग्रुपका विष्णु न्यौपानेहरूको खातापातामा पनि यस्तो विवरण देखाइँदैन ।

    जीएसटी नम्बरका आधारमा कुकुयो क्यामलिनलाई जगदम्बा र शुभश्री सिमेन्टका तर्फबाट भुक्तानी गएको देखिन्छ नि भनेर प्रश्न गर्दा त्यहाँका कर्मचारीले आफू ढुवानी कम्पनी नभएको र त्यस्ता सिमेन्ट उद्योगबाट कुनै प्रकारको भुक्तानी पाउने सम्भावना पनि नरहेको जानकारी गराए ।

    उनले आफ्नो नाम दुरुपयोग गरिएकोमा मुद्दा हाल्नका लागि प्रमाण जुटाइरहेको जानकारी पनि दिए । ‘हामी पब्लिक लिमिटेड कम्पनी हो, यदि कसैले हाम्रो नाम दुरुपयोग गरेको छ भने हामी कडा कारबाही गर्नेछौँ ।

    सिमेन्ट उद्योगका लागि भारतबाट सामान नआउने होइन आउँछ, आउनै पर्छ, तर एक सय रुपैयाँ तिरेर एउटा कम्पनीबाट सामान मगाउने, तर चार सय तिरेको देखाएर कागजात पेस गर्ने गरिन्छ’, कर्मचारीले भने, ‘यसो गर्नुका दुई कारण छन्, पहिलो बढी खर्च देखाएपछि कम आम्दानी भएको देखाएर नेपाल सरकारलाई बुझाउनुपर्ने करबाट बचियो, अर्को कुकुयोजस्ता कम्पनीलाई मुर्गा बनाउन पनि पाइयो ।’

    कोकुयो एउटा कम्पनी भयो, यस्ता अन्य ६ कम्पनीको विवरण विस्तारमा दिने उनले भनेका छन् । सौरभ ग्रुपले अर्को महिना सर्वोत्तम सिमेन्टको आईपीओ ल्याउँदै छ । बुक बिल्डिङ विधिबाट ६० लाख कित्ता सेयर निष्काशन गर्ने कुरा माघ ६ गतेको साधारणसभाबाट पारित भइसकेको छ ।

    शुभश्री जगदम्बा सिमेन्ट मिल्स र जगदम्बा सिमेन्ट कारखानामा भइरहेको अनियमितता सर्वोत्तम सिमेन्टमा चाहिँ नहुने कुरा हुँदैन ।

    नेपाल धितोपत्र बोर्डले यस प्रकारका अनियमितताका फाइल र गतिविधिलाई गम्भीर रुपमा हेरेर मात्र सेयर निष्काशनको अनुमति दिनुपर्छ । आम नागरिकको लगानी डुब्नबाट जोगाउनु बोर्डको दायित्व हो । आर्थिक दैनिकबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार