Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सिआईबीलाई एशिया इन्भारोमेन्टल इनफोर्समेन्ट अवार्ड

    सिआईबीलाई एशिया इन्भारोमेन्टल इनफोर्समेन्ट अवार्ड

    कुमार भण्डारी
  • बिहिबार, ६ फाल्गुन २०७७
  • 7.8K
    SHARES

    कुमार भण्डारी/ काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) महत्वपूर्ण अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ । सिआईबीलाई एशिया इन्भारोमेन्टल इनफोर्समेन्ट अवार्ड २०२० प्राप्त भएको हो ।

    पाटे बाघलगायतका वन्यजन्तुका अंग (आखेटोपहार) को तस्करीमा संलग्न कुञ्जोक लामा (कुन्जोक छिरिङ तामाङ) लाई पक्राउ गर्न सफल सीआईबीका दुई प्रहरी अधिकृतलाई संयुक्त राष्ट्रसंघ (युएन) को वातावरण कार्यक्रमले उक्त अन्तर्राष्ट्रिय अवार्ड दिने निर्णय गरेको हो ।



    यूएनको वातावरण कार्यक्रमले सीआईबीका प्रहरी निरीक्षक सुर्दशन पन्थी र नायब निरीक्षक वीरेन्द्रसिंह जोहरीलाई एशिया इन्भारोमेन्टल इनफोर्समेन्ट अवार्ड २०२० दिर्ने निर्णय गरेको हो ।



    नेपाल प्रहरी र इन्टरपोलको सर्वाधिक खोजी सूचीमा रहेका लामालाई सीआईबीले गत असार ११ मा काठमाडौं–६ सिमलटारबाट पक्राउ गरेर लामटाङ राष्ट्रिय निकुञ्जमा बुझाएको थियो । उनी अहिले रसुवा कारागारमा थुनामा छन् ।

    सीआईबीले वन्यजन्तुका अंग (आखेटोपहार) तस्करीमा संलग्न लामाको अन्तर्राष्ट्रिय गिरोहसम्मै पहुँच भएका धेरै प्रमाण हात पारेको सिआईबी प्रमुख डिआईजी सहकुलबहादुर थापाले बताए ।

    डिआईजी थापाले भने–‘अवार्ड प्राप्त भएसँगै प्रहरीको मनोवल अझ बढेको छ भने प्रहरी संगठनकै गरिमालाई उच्च बनाएको छ ।’

    सिआईबीका अनुसार नेपाली सेनाको दुर्गा बक्स गणले २०६२ भदौ १६ मा रसुवाको साविक स्याफ्रु गाविस–९ मा बरामद गरेको बाघ, चितुवा र ओंतसहितका वन्यजन्तुका अंग ओसारपसार र बेचबिखनमा लामा संलग्न रहेको खुलेको थियो ।

    त्यसबेला पाटेबाघको छाला ५ थान, चितुवाको छाला ३६ थान, ओंतको छाला २ सय ३८ थान र बाघको १ सय १३ किलोग्राम हड्डीसहित ५ जना पक्राउ परेका थिए ।

    उक्त घटनाका प्रमुख योजनाकार लामा फरार थिए  भने अरू आरोपितलाई भने लामटाङ राष्ट्रिय निकुञ्ज, पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतले मुद्दा टुंग्याएको थियो । एक जनाबाहेक अरू सबै कसुरदार ठहरिएका थिए ।

    तस्करी आरोपमा पक्राउ परेका तीनै जनाले घटनामा लामा नै मुख्य नाइके रहेको बयान दिएका थिए ।

    घटनामा संलग्न मिङमार छिरिङ तामाङ, छेवाङ उटुक लामा र कारसाङ भनिने रिसाङ लामालाई सर्वोच्चले सात वर्ष कैद र एक लाख रुपैयाँका दरले जरिवाना तोकेको थियो ।

    लामाले रसुवागढीबाट ती वन्यजन्तुका अंग केरुङ हुँदै तिब्बत तस्करी गराउन खोजेको सीआईबीको दाबी छ ।

    सिआईबीका अनुसार लामासँग तिब्बतको परिचयपत्रसमेत भएकाले आउजाउ गर्न उनलाई सहज हुने गर्दथ्यो ।

    लामाको अन्तर्राष्ट्रिय कनेक्सन
    बन्यजन्तु तस्करी गरेरै अर्बौं सम्पत्ति आर्जन गरेका लामाको अन्तर्राष्ट्रिय गिरोहसँग समेत कनेक्सन रहेको खुलेको छ । सिआईबी प्रमुख डिआईजी थापाका अनुसार लामाको भारतका वन्यजन्तुका ठूला तस्करसँग समेत कनेक्सन भेटिएको छ ।

    सन् २००० मा भारत उत्तर प्रदेशको खागा, १९९९ मा भारतको गाजियाबाद, र २००८ मा हरियाणामा भएको वन्यजन्तु अपराध मुद्दामा उनी फरार रहेको सिआईबीले जनाएको छ ।

    इन्टरपोलबाट उनको बारेमा सन् २००५ देखि लगातार अन्तर्राष्ट्रिय स्तरको मिटिङमा छलफलको विषय बन्ने गरेको सिआईबी प्रमुख डिआईजी थापाले थप बताए । उनको संलग्नता र नेटवर्क तयार गरी भारतको अनुसन्धान ब्यूरोले नेपाल प्रहरीलाई दिने गरेको थियो ।

    लामाको संसारचन्द नेटवर्क र सह्बिर कुरैसी जस्तो ठूला बन्यजन्तु तस्करको सञ्जालमा सम्पर्क रहेको पनि अनुसन्धानका क्रममा खुलेको डिआईजी थापाले बताए । लामाले ६०० भन्दा बढी बाघको छाला तस्करी गरेको भारतीय अनुसन्धान ब्यूरो र बन्यजीप अनुसन्धान ब्यूरोको रिपोर्टमा उल्लेख छ ।

    भारतमा अहिलेसम्म भएका सबैजसो वन्यजन्तु बरामदका केसमा लामाको नाम जोडिनुले त्यहाँका तस्करहरूको समूहसँग उनको कनेक्सन पुष्टि भएको सिआईबीको दावी छ ।

    लामाको सम्पत्ति कति ?
    सीआईबीका अनुसार तिब्बतबाट नेपाल प्रवेश गरेका लामाले साविक लिमि गाविस हाल नाम्खा गाउँपालिका–६ हुम्लाबाट नेपाली नागरिकता लिएका थिए ।

    लोडुडिमे निटुप लामासहित बाबरिया नेटवर्कमा संगठित रहेका उनको बौद्ध सिमलटारमा १८ आना जग्गामा ५ तला आलिसान बंगालो रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकमा अर्बौंको कारोबार गरेका उनीसँग कियाको खरानी रङको कार समेत रहेको छ ।

    त्यस्तै गुह्ेश्वरी फाइनान्सबाट लामाले २ करोड ऋण लिएको पनि खुलेको छ । एक छोरी र दुई श्रीमती रहेका लामाको जेठी श्रीमती हुम्लाको लिलीमा बस्छिन् भने कान्छी हाल बौद्धमा बस्छिन् । कान्छी सिक्कीम दार्जलिङकी हुन् ।

    लामाको भारतको सिलुगुडीमा साहतुसको फ्याक्ट्री समेत रहेको छ । त्यस्तै भारतको दिल्लीस्थित मञ्जुकातीलामा लामाको ठूलो होटल रहेको पनि सिआईबीको अनुसन्धानबाट खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार