Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बुद्धएयरले जनकपुर–अयोध्यामा उडान गर्ने

    बुद्धएयरले जनकपुर–अयोध्यामा उडान गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्धएयरले धार्मिक पर्यटन प्रवद्र्धनार्थ नेपालको जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान सञ्चालन गर्ने भएको छ ।

    पौराणिक, धार्मिक सम्बन्ध रहिआएको जनकपुरधाम र अयोध्याको महत्वलाई दर्शाइ धार्मिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले यो गन्तव्यमा उडान विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ ।



    ‘सीताराम’ सम्बन्ध त्रेतायुगदेखि नै चलिआएको छ । यस पौराणिक, धार्मिक सम्बन्धको साक्षी जनकपुरधाम र अयोध्या शहरलाई जोड्नका लागि उडान सञ्चालनको तयारी गरिएको हो । बुद्धले जनकपुरबाट अयोध्यामा विस्तार भइरहेको विमानस्थलमा सिधा उडान अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा निवेदन दिएको छ । प्रदेश नं २ सरकारलाई पनि बोधार्थ पठाइएको छ ।



    तीन वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला जनकपुर र अयोध्यालाई भगिनी शहरका रूपमा विकास गर्ने, रामायण सर्किट बनाउनेजस्ता सहमति भएको थियो । जनकपुरधामबाट अयोध्यामा निर्माणाधीन विमानस्थलको उडान ५० मिनेटको हुनेछ । यस उडानबाट दुवै देशका धार्मिक पर्यटकले मनग्यै लाभान्वित हुने कम्पनीको विश्वास छ ।

    जनकपुर विमानस्थल आन्तरिक विमानस्थल भएकाले अन्तर्राष्ट्रिय उडानका लागि भन्सार र अध्यागमन कार्यालय स्थापना गर्न सरोकारवाला निकायले पनि सहजीकरण गरिदिएको खण्डमा निकट भविष्यमा यो गन्तव्यबाट भारतीय पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

    कोभिड–१९ पछिको उडान बजारमा आफूनो उपस्थिति बलियो बनाउन बुद्धले आक्रामक बजार विस्तार गर्न लागेको विज्ञप्तिमार्फत जनाएको छ । हरेक गन्तव्यमा यात्रुको चाप हेरी थप उडान भरिनेछ । बुद्धएयरसँग अहिले नौ थान एटिआर–७२, तीन थान एटिआर–४२ र दुई थान बीचक्राफ्ट गरी १४ जहाज छन् । कोभिडका कारण शिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन बजार विस्तारसहित उपस्थिति जनाउने कम्पनीको योजना छ । अहिले बुद्धले दैनिक १२० उडान गरिरहेको छ । उडान सङ्ख्या बढे पनि विदेशी पर्यटक नआएसम्म पूर्ववत अवस्थामा फर्कन कठिन हुने बुद्धएयरका बजार निर्देशक रुपेश जोशीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार