Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भारतको आर्थिक सहयोगमा विष्णुदेवी माविको पुनर्निर्माण सुरु

    भारतको आर्थिक सहयोगमा विष्णुदेवी माविको पुनर्निर्माण सुरु

    अनलाइन नेपाल
  • सोमबार, २४ फाल्गुन २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । भारतको आर्थिक सहयोगमा चन्द्रागिरी नगरपालिकास्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण शुरु भएको छ ।

    नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले आज भारतीय राजदूतावासको पुनर्निर्माण तथा विकास सहकार्य प्रभागका प्रमुख डा. प्रफुल्लचन्द्र शर्मा र चन्द्रागिरी नगरपालिकाका मेयरको उपस्थितिमा भूमि पूजन गरेर पुनर्निमाणको थालनी गरेका हुन् ।



    शिक्षाको क्षेत्रमा भारत सरकारले प्रदान गरेको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत निर्माण हुन लागेको यो ६८औं विद्यालय हो । उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक, भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय सामुदायिक सदस्य तथा विद्यालयका विद्यार्थीहरुको पनि उपस्थिति थियो ।



    नेपाली रुपैयाँ ६ करोड ४९ लाखको लागतमा पुनर्निर्माण हुन लागेको यस विद्यालय नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण हुनेछ ।

    अब बन्ने नयाँ संरचनामा शैक्षिक, प्रशासनिक तथा प्रयोगशाला र पुस्तकालय गरी तीनवटा ब्लकहरु हुनेछन् । जसमा १३ वटा कक्षा कोठा, परीक्षा हल, प्रयोगशाला कक्ष, कम्प्युटर कक्ष, पुस्तकालय, विद्यालय व्यवस्थापन समितिका लागि कक्ष, प्रशासनिक कक्ष र छात्र तथा छात्राका लागि छुट्टा छुट्टै सरसफाई संरचनाको सुविधा रहनेछन् ।

    विद्यालयहरुको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ ।
    सीबीआरआई भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतको शीर्ष संस्थानको रुपमा परिचित छ।

    २०७२ सालको भूकम्पले क्षति पुर्याएका नेपालका आठ जिल्लाका कूल ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर (करिब ५.८ अर्ब नेपाली रुपैयाँ) आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

    उक्त योजना अन्तर्गत हालसम्म ८ वटा विद्यालयको निर्माण कार्य सम्पन्न भइसकेको छ भने काभ्रे जिल्लामा थप दुई विद्यालयको पुनर्निर्माणका लागि ठेक्का हस्तान्तरण भइसकेको ।

    त्यस्तै भारतले स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि थप २०० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि गरिसकेको छ ।

    अहिलेसम्म गोरखा र नुवाकोट जिल्लामा ४७,००० घरहरु निर्माण भइसकेका छन् र बाँकी घरका निर्माण कार्य अघि बढिरहेको छ ।
    त्यसैगरी भारतको आर्थिक सहयोगमा ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्स्थापना तथा सबलीकरण र १४७ वटा स्वास्थ्य भवनको निर्माण भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार