Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • पशुपतिमा महाशिवरात्रिको तयारी तीब्र

    पशुपतिमा महाशिवरात्रिको तयारी तीब्र

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 3.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। यस वर्षको महाशिवरात्रिको प्रचारप्रसारका लागि पशुपति क्षेत्रमा सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालिएको छ ।

    पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा नेपाल वेद विद्याश्रमलगायत १०० वटा धार्मिक सङ्घसंस्थाको सहभागिता रहेको शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री भानुभक्त ढकालले गरेका थिए । कार्यक्रममा मन्त्रालयका सचिव यादव कोइराला, कोषका सदस्यसचिव डा प्रदीप ढकाल, परिषद् सञ्चालक सदस्यद्वय देवीप्रसाद बराल र आशा पाण्डे, कार्यकारी निर्देशक डा घनश्याम खतिवडालगायत कर्मचारीसहित पाँच हजारभन्दा बढीको उपस्थिति रहेको थियो ।



    मन्दिर परिसरबाट आरम्भ भएको शोभायात्रा पिङ्गलास्थान, गौशाला जयवागेश्वरी, सिफल, लामपोखरी हुँदै चावहिल गणेशस्थानसम्म पुगेको थियो । पुनः त्यही मार्गबाट फर्किई जयवागेश्वरीबाट मूल मन्दिरअघि पुगेर यात्रा समापन गरिएको थियो । यात्रामा सहभागीले ‘ॐ नम : शिवाय’, ‘जय शम्भो’, ‘हर हर महादेव’ जस्ता मन्त्रोच्चारण गरेका थिए ।



    समापनका अवसरमा कार्यकारी निर्देशक खतिवडाले आज बेलुकी पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन र बुधबार बिहान महाशिवरात्रिको तयारीस्वरुप सरसफाइ गरिने जानकारी दिए । महाशिवरात्रिका अवसरमा पशुपति दर्शन गर्न आउने भक्तजनलाई मास्कसहित सुरक्षा मापदण्ड पूरा गर्न पनि उनले आह्वान गरे ।

    महाशिवरात्रिका विषयमा थप जानकारी दिन कोषले आज दिउँसो पत्रकार सम्मेलनको समेत आयोजना गरेको जनाइएको छ । शोभायात्रामा मारवाडी सेवा समिति नेपालले पानी एवं सर्वतको व्यवस्था गरेको थियो ।

    पशुपतिनाथमा एक वर्षपछि विशेष पूजा शुरु

    फाल्गुण कृष्ण त्रयोदशीका दिन पर्ने महाशिवरात्रि यस वर्ष फागुन २७ गते बिहीबार परेको छ । यसैबीच कोरोना महामारीका कारण गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा पनि महाशिवरात्रिका अवसरमा आजैदेखि शुरु भएको छ । स्वास्थ्य सुरक्षाका विधि अपनाएर रु एक हजार १०० देखि रु २७ हजारसम्मका विशेष पूजा आजदेखि शुरु गरिएको कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए ।

    महाशिवरात्रिका दिन भने पशुपतिनाथ मन्दिरमा रु पाँच हजार ५०० र ११ हजार गरी दुई किसिमका विशेष पूजामात्र गरिने पनि उनले बताए । रु पाँच हजार ५०० पूजा गर्ने दुईजना कर्ता र रु ११ हजार रसिद काटेर विशेष पूजा गर्ने चारजना कर्तालाई पशुपतिनाथ मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार