Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सवारी दुर्घटनामा ५ जनाको मृत्यु    

    सवारी दुर्घटनामा ५ जनाको मृत्यु    

    अनलाइन नेपाल
  • आइतबार, १ चैत्र २०७७
  • 2.9K
    SHARES

    फाइल : तस्बिर

    काठमाडौं। झापा, धनुषा, दार्चुला, महोत्तरी र रुपन्देहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । 

    झापा, बाह्रदशी गाउँपालिका-५ कनकन मार्गस्थित सडकमा मे.११ प ८४५१ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने ४३ वर्षीया कलसावती राजबंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । 



    धनुषा, मिथिला नगरपालिका-८ बडहरी पुलस्थित सडकमा ना.८ ख ७२२२ नम्बरको टिपरले प्रदेश २-०३-००१ स ५४७५ नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिँदा अटो चालक महोत्तरी बर्दिबास नगरपालिका-१ देउराली टोल बस्ने ४५ वर्षीय वीर बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ । फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ । 



    दार्चुला, लेकम गाउँपालिका-६ गणेत स्थानस्थित सडकमा प्र.०१००२ त ४८३५ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय अशोक खत्रीको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

    महोत्तरी, गौशला नगरपालिका-९ बिसहरपुरस्थित बाबा इँटाभट्टा नजिकै ज.१२ प ४९१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषा जनकपुर उपमहानगरपालिका कुवारामपुर बस्ने ३० वर्षीय महेश मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि स्थानीय पोलिक्लिनिक गौशालातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

    रुपन्देही, बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित सडकमा बा.१३ च ६६७६ नम्बरको कारको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी करिब २५ वर्षीया महिलाको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको चौराह अस्पताल प्रालि बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।  कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।  

    उल्लेखित दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार