Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ललिता निवास काण्डमा पक्राउ पर्दै गच्छदार, विशेष अदालतमा छलफल

    ललिता निवास काण्डमा पक्राउ पर्दै गच्छदार, विशेष अदालतमा छलफल

    अनलाइन नेपाल
  • बुधबार, ११ चैत्र २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं। बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते गरी व्यक्तिका नाममा बनाउन भूमिका खेलेको अभियोगमा मुद्दा चलाइएका कांग्रेस नेता एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार एक वर्षदेखि अदालतमा हाजिर नभएपछि विशेष अदालतमा उनको पक्राउबारे छलफल चलेको छ ।

    गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार रूपैयाँ भ्रष्टाचारको बिगो माग गर्दै अख्तियारले एक वर्षअगावै मुद्दा दायर गरेको थियो ।



    उनीमाथि सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजान गैरकानुनी काम गरेको अभियोग छ । गत वर्षको माघ २२ गते गच्छदार, तीन जना पूर्वमन्त्रीसहित एक सय ७५ जनाविरुद्ध मुद्दा दायर भई सबैलाई उतिबेलै म्यादपुर्जी जारी भएको थियो । मुद्दा दायर भएपछि उनको सांसद पद निलम्बनमा छ ।



    भ्रष्टाचार मुद्दामा पूर्व भूमिसुधार मन्त्रीहरू चन्द्रदेव जोशी, छविलाल पन्त र डम्बर श्रेष्ठ अदालतमा हाजिर भई तारेखमा छन् । जोशी साधारण तारेखमा छुटेका हुन् भने अन्य धरौटीमा छुटेका थिए ।

    यता गच्छदार भने मुद्दा दर्ता भएको एक वर्ष दुई महिना बित्दा पनि अदालत गएका छैनन् । हाजिर नभएपछि विशेष अदालतले गच्छदारको वतन खुल्ने मोरङस्थित घरको भित्तामै गत फागुन २३ गते म्याद टाँसेको थियो । दुई साता बित्दा पनि उनी हाजिर नभएपछि सूक्ष्म निगरानी गरिरहेको विशेष अदालत स्रोतले जनाएको छ ।

    विशेष अदालतको मुद्दा दर्ता शाखाका अधिकारीका अनुसार कानुनबमोजिम रीतपूर्वक थप १५ दिन म्याद दिएर अदालतमा हाजिर हुन ३० दिनको समय–सीमा दिइएको छ । ‘यो समयपछि पनि उहाँ हाजिर हुनुभएन वा बेखबर हुनुभयो भने पक्राउ गरी हाजिर गराउने भन्दै सूचना जारी गर्नुको विकल्प छैन,’ उनले जानकारी दिँदै भने, ‘यस विषयमा प्रशासनिक तवरबाट आन्तरिक छलफल पनि चलिरहेको छ । म्याद नाघेपछि कार्यान्वयनमा जानुपर्ने हुन्छ ।’ अदालत स्रोतका अनुसार थुनछेकसम्बन्धी बहसपछि पुर्पक्षका लागि थुनामा जाने मनचिन्ते त्रासले अदालतमा हाजिर हुन नआएको अनुमान छ ।

    मुद्दा चलेपछि गच्छदार कतै सार्वजनिक कार्यक्रममा पनि देखिएका छैनन् । कानुनी रूपमा फरार जनिएका उनले यतिबेला भूमिगत रूपमा आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन् । हालसम्म ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएका १७५ जनामध्ये गच्छदारसहित ३६ जना जना अझैसम्म अदालत गएका छैनन् । उपस्थितमध्ये अधिकांश धरौटीमा छुटेका छन् ।

    ०४६ सालपछिका हरेकजसो सरकारमा गच्छदारको शान र मान थियो । कांग्रेस वा अन्य दलको सरकार निर्माणमा खेलाडीका रूपमा उनको महत्वपूर्ण भूमिका रहन्थ्यो । ०६३ सालपछि पनि उनको रौनक उस्तै रह्यो । कांग्रेसमा ३३ वर्ष हालिमुहाली गरेका गच्छदार ०६४ को संविधानसभा निर्वाचनपछि मधेसी जनअधिकार फोरमतिर लागे । त्यहाँ रहँदा पनि पार्टी विभाजन गरेर सरकार जोगाउने वा ढाल्ने खेलमा प्रमुख खेलाडी बने । तर, मुद्दा चलेपछि गुमनाम छन् । ०७४ असोजमा कांग्रेसमा विलय भएसँगै उनको राजनीतिक भविष्यमा समेत पूर्णविराम लाग्ने संकेत देखिएकोे छ,जनआस्थामा खबर छ  ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार