काठमाडौं । नेपाल सरकारले कोरोना भाइरस विरुद्धको खोप आपूर्तिमा सहजीकरण गरिदिन भारत सरकारलाई अनुरोध गरेको छ ।
शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस यजशंकरसँगको टेलिफोन वार्ताका क्रममा उक्त अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘परराष्ट्रमन्त्रीले कोभिडको उच्च जोखिममा परेका नेपालीलाई दोस्रो मात्रा खोप लगाउन आवश्यक पर्ने थप खोपको आपूर्तिका निम्ति सहजीकरण गर्न भारतका विदेशमन्त्रीसँग अनुरोध गर्नुभएको छ ।’
जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले कोरोनाविरुद्ध नेपालले चालेका कदममा भारतले गरिरहेको सहयोग निरन्तर रहने आश्वासन दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रीद्वयबीच कोरोना भाइरसविरुद्ध संयुक्त रूपमा कसरी लड्ने र त्यसका लागि एकआपसमा सहयोगको आदानप्रदान कसरी गर्ने भन्ने विषयमा समझदारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Leave a Reply