Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • के नेपालमा नयाँ कोरोनाको भेरियन्ट फैलिएको हो त ? चिकित्सकहरू के भन्छन् ?

    के नेपालमा नयाँ कोरोनाको भेरियन्ट फैलिएको हो त ? चिकित्सकहरू के भन्छन् ?

    अनलाइन नेपाल
  • आइतबार, २९ चैत्र २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपालमा पछिल्ला केही दिनमा अस्पताल भर्ना भएका कोरोनाभाइरस सङ्क्रमितमा यसअघिका भन्दा फरक लक्षणहरू धेरै देखिएको अनुभव चिकित्सकहरूले सुनाएका छन्।

    उनीहरूले त्यो नयाँ भेरिअन्टको कोरोनाभाइरस व्यापक रूपमा फैलिएको सङ्केत हुनसक्ने भन्दै सचेत हुनुपर्ने बताएका छन्।



    कोरोनाभाइरसको उपचार हुने काठमाण्डूको सरकारी अस्पताल शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल टेकुमा एकाएक गम्भीर बिरामीको चाप बढेको बताइन्छ।



    त्यहाँ १३ जना सघन उपचार कक्ष आईसीयूमै रहेको अस्पतालका प्रवक्ता तथा सङ्क्रामक रोग विज्ञ डा. अनुप बास्तोलाले बताएका छन्।

    यसपटक आधाजसो बिरामीहरू कोभिडको निमोनियासहित आएका ५० वर्ष मुनिका व्यक्तिहरू रहेको डा. बास्तोला बताउँछन्।

    उनी भन्छन्, ‘यसले दिने सङ्केत कि यूके भेरिअन्टले अर्कै तरिकाले काम गरिरहेको छ या त युवाहरूले धेरै हेलचेक्र्याइँ गर्दा यस्तो भएको हुनसक्छ।’

    नेपालमा हालसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या झन्डै दुई लाख ८० हजार नजिक र मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघिसकेको छ।

    चिन्ता
    चिकित्सकहरूले अहिलेको अवस्थालाई सङ्क्रमण दर ह्वात्तै उकालो लागेको गत भदौ-असोजको समयसँग तुलना गरिरहेका छन्।

    डा. बास्तोला भन्छन्, ‘भित्रभित्रै सङ्क्रमण व्यापक फैलिरहेको छ। त्यो जुनकुनै बेला फुट्न सक्छ।’

    विज्ञहरूले कोरोनाभाइरसको नयाँ प्रकारको सङ्क्रमण निकै छिटो फैलने गरेको बताउने गरेका छन्।

    यति नै बेला विद्यालय समेत खुलेकाले अहिले त्यो बालबालिकामा समेत उल्लेख्य रूपमा देखा परेको चिकित्सकहरू बताउँछन्।

    थकान भएका, टाउको दुखेका मानिसहरू र ज्वरो फर्किएकाजस्ता कुनै विशेष लक्षण नभएका मानिसहरूमा अस्पताल आएपछि परीक्षण गर्दा निमोनिया देखिन थालेको चिकित्सकहरूले बताएका छन्।

    ‘तर यही नै बेला परीक्षण कम भइरहेको छ। जसले हाम्रो अवस्थाको वास्तविक चित्र हामीलाई देखाइरहेको छैन,’ डा. बास्तोलाको भनाइ छ।

    समस्या
    शुक्रवार काठमाण्डूको एक निजी अस्पतालमा कार्यरत सङ्क्रामक रोग विज्ञ डा. अनुप सुवेदीले शृङ्खालाबद्ध ट्वीट गर्दै ‘यस पटकको उभारमा कोभिड लागेर कोही सिकिस्त भएमा अघिल्लो उभारमा भन्दा उपचार गर्न बढी कठिन हुने, मृत्युदर बढी देखिने सम्भावना ठूलो रहेको’ जनाएका थिए।

    यसबीच भारतमा कोरोनाभाइरसको दोस्रो लहर देखा परेको विवरण आएका छन्। त्यहाँ कोरोनाभाइरसका नयाँ प्रकार मात्र देखिएका छैनन् तिनमा दोहोरो उत्परिवर्तन समेत भएको पाइएको छ।

    जसलाई लिएर नेपालको भारतसँगको सीमावर्ती भेगमा कडाइ र निगरानी गर्नुपर्ने नेपाली विज्ञहरूको भनाइ छ।

    नेपाल सरकारले नयाँ प्रकारका भाइरसको प्रभावबारे जाँच्न जिन स्विक्वेन्सिङ गर्ने विधि भित्र्याइसकेको बताए पनि त्यो निकै महङ्गो विधि भएकाले निश्चित समूह वा ठाउँमा अवस्था थाहा पाउन मात्रै प्रयोग गरिने बताएका छन्।

    ‘हेर्दा सामान्य, अवस्था असामान्य’
    वीरगन्जको नारायणी अस्पतालका एक्स(रे जाँच गर्दा सामान्य निमोनियाजस्तो लक्षण देखिए पनि थप जाँचका क्रममा भने तिनमा कोभिडको निमोनिया पाइन थालेको अनुभव मेडिकल अधिकृत उदयनारायण सिंहको छ।

    डा. सिंह भन्छन्, ‘यसपटक हामीले देखेको अवस्थामा हेर्दा सामान्य बिरामीमा समेत अक्सिजनको अवस्था जाँच गर्दा त्यो निकै कम पाइरहेका छौँ।’

    ‘जसको समस्या के हो भने मानिसहरूलाई आफू ठिकै भएजस्तो लाग्छ तर उसको समस्या अर्कै हुन्छ।’

    केही दिनदेखि त्यहाँ निमोनियाका समस्यासहित आएका बालबालिकाहरूको रगतमा ‘अपत्यारिलो तरिकाले प्लेटिलेट्स कम देखिएको’ पाइएको अनुभव उनको छ।

    डा. सिंह भन्छन्, ‘पहिलेको लहरमा यस्तो थिएन। रगतमा देखिने यस्तो खराबीले नयाँ खालको कोभिडको लहर फैलिएको हो कि भन्ने समेत देखिन्छ।’

    वीरगन्जमा कोभिडका लक्षणसहित दुई सातासम्म उपचार गरिएका केही बिरामीमा समेत पीसीआर जाँच गर्दा कोरोनाभाइरस नदेखिएपछि चिकित्सकहरूले ‘कतै नयाँ प्रकार भएका कारण अहिलेको पीसीआरले थाहा नपाएको त होइन’ भन्ने संशय व्यक्त गरेका छन्।

    नयाँ प्रकारको आशङ्कामा नारायणी अस्पतालबाट जीन सिक्वेन्सिङका लागि काठमाण्डूमा दुईवटा नमुना पठाइए पनि शुक्रवारसम्म त्यसको नतिजा थाहा नभएको अस्पतालले बताएको छ। स्रोत : बिबिसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार