Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोभिडका कारण लाखौं अमेरिकी बेरोजगार, रोजगारीमा फर्कन हिच्किचाहट

    कोभिडका कारण लाखौं अमेरिकी बेरोजगार, रोजगारीमा फर्कन हिच्किचाहट

    अनलाइन नेपाल
  • बुधबार, ८ बैशाख २०७८
  • 2.6K
    SHARES

    एजेन्सी। कोरोना भाइरस महामारीबाट एक वर्षदेखि सङ्कट व्यहोरिरहेको संयुक्तराज्य अमेरिकामा लाखौं अमेरिकी बेरोजगार छन् । अर्थतन्त्र पुनः खुला भएपनि कतिपय रोजगारदातामाथि नयाँ मानिसलाई रोजगारी दिनेतर्फ अनपेक्षित चुनौती देखिएको छ ।

    कोरोनाभाइरसबाट संक्रमित हुने डरदेखि बालबच्चाको हेरचाह बापत प्राप्त हुने सरकारी बेरोजगार भत्ताको लोभमा कतिपय बेरोजगार अमेरिकीहरु काममा पुनः फर्कन चाहिरहेका छैनन् ।



    ‘यो कोभिड सङ्कटका लागि विरोधाभास हो,’ अक्सफोर्डका प्रमुख अमेरिकी अर्थशास्त्री ग्रेगरी डाकोले बताए । ‘हामीसँग नयाँ रोजगारी र मागका बीचमा असन्तुलन छ र आउँदा महिनाहरुमा जोखिम बढ्नेछ ।’



    कोभिड–१९ का खोपले व्यवसायलाई सामान्यतर्फ उन्मुख गराइरहेकाले अमेरिकी अर्थव्यवस्थामा सुधार आउन थालेको छ भने कम्पनीहरुले पनि बढ्दो माग पूरा गर्न भर्ती गर्न थालेका छन् ।

    विश्लेषकहरुको भनाईमा, सबै बेरोजगार व्यक्तिहरु आफ्नो जागिरमा फिर्ता हुन तयार देखिएका छैनन् ।

    ‘मुख्य मुद्दा नै हामीबीच अझै पनि महामारी छ, र कामको खोजी गर्नेहरुमा कार्यस्थलको स्वास्थ्य र सुरक्षाका बारेमा ठूलो चिन्ता छ,’ जिपरिक्रुटरकी अर्थशास्त्री जुलिया पोलकले भनिन् ।

    अमेरिकी जनसंख्याका एक चौथाईले पूर्ण खोप लगाइसकेका छन् । यो संख्या युरोपको भन्दा बढी छ भने धेरै प्रमुख अर्थतन्त्र भएका मुलुकभन्दा निकै ज्यादा छ । तर यसको बाबजूद देशको तीन चौथाई भाग कोभिड–१९ को सङ्क्रमण हुने जोखिममा छ ।

    जर्जटाउन विश्वविद्यालयको फ्युचरएडका अनुसार कोभिड महामारीका कारण बन्द भएका देशभरका आधाभन्दा बढी विद्यालयहरु पूर्णकालीक कक्षामा फर्किसकेकाले बच्चाको हेरचाहको काम गर्ने अभिभावकहरुका लागि यो अर्को चुनौती हो ।

    विश्वकै सबैभन्दा ठूलो अर्थव्यवस्था भएको संयुक्तराज्य अमेरिकामा कोभिड–१९ को महामारीले झण्डै २२ करोड रोजगारी समाप्त पारिदिएको थियो जसमध्ये आधाभन्दा बढी अर्थात् एक करोड ४० लाख रोजगारी पुनर्स्थापना भइसकेको छ ।

    तैपनि, स्व–रोजगारमा रहेका समेत झण्डै एक करोड ७० लाख मानिसले अझै पनि सरकारी बेरोजगारी सहायता प्राप्त गरिरहेका छन्, र धेरैले आंशिक समय काम गरिरहेका छन् किनभने उनीहरु पूर्ण समय काम गर्न पाउँदैनन् ।

    तर अर्थशास्त्री डाकोले मजदूरको अभाव धेरै क्षेत्रमा देखिएको बताए । खुल्ला, खाद्य सेवा, आतिथ्य र मनोरञ्जन जस्ता कामदार कटौती भएका क्षेत्रमा श्रमजीवीको माग बढेको उनको भनाई छ ।

    गत फेब्रुअरीको आखिरी र अप्रिलको शुरुको बीचको अवधिमा गरिएको अमेरिकी व्यवसायको सर्वेक्षणमा केन्द्रीय बैंकले भनेको छ, ‘कर्मचारी भर्तीमा चुनौती व्यापक देखिएको छ, खासगरी यो समस्या न्यून–ज्याला वा घण्टे कामदारका लागि बढी देखिएको छ ।’

    भर्जिनियाको रिचमन्डमा केन्द्रीय बैंकले गरेको सर्वेक्षणमा सहभागी एक होटल व्यवसायीले आफूहरुले फ्रन्ट डेस्कका कामदार भर्ती गर्न सकेको तर सरसफाईका मजदूर भेट्टाउन नसकेको प्रतिक्रिया दिएका छन् । उनले सरसफाईमा काम गर्न धेरैले अरुचि देखाएको बताए ।

    बैंकको शिकागो शाखाले गरेको सर्वेक्षणमा बेरोजगार मजदूरलाई घरमै राख्ने थुप्रै कारकहरु रहेको जनाएको छ जसमा सरकारले उपलब्ध गराउने वित्तीय सहयोग पनि एउटा प्रमुख रहेको छ, जस्तै आगामी अगस्टसम्म उनीहरुले सरकारबाट साप्ताहिक थप ३०० डलर बेरोजगार भत्ता पाउने छन् ।

    शिकागो शाखाले मानिसहरु रोजगारीमा फर्कन कठिनाई हुनुमा बालबच्चाको स्याहार अर्को समस्या रहेको जनाएको छ । भाइरसको चिन्ता, सार्वजनिक यातायात प्राप्त गर्न कठिनाई र जागिर खोज्ने थकान जस्ता प्रक्रियाले पनि जटिलता थपेको छ ।

    अमेजन, कस्टको, टार्गेट र वाल्मार्ट जस्ता कतिपय ठूला कम्पनीले कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेका छन् । – रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार