Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भारतमा कोरोनाको बिकराल अवस्था

    मोदीकै क्षेत्रमा यस्तो बिजोग: अस्पतालले कोरोनाका बिरामी हेर्न छाडे

    मोदीकै क्षेत्रमा यस्तो बिजोग: अस्पतालले कोरोनाका बिरामी हेर्न छाडे

    अनलाइन नेपाल
  • शनिबार, ११ बैशाख २०७८
  • 2.4K
    SHARES

    एजेन्सी। आफ्नो २९ वर्षीय छोराको शव गोडानजिकै राखेकी एक आमाको एउटा हृदयविदारक तस्बिर भारतमा भाइरल भएको छ।

    उत्तर प्रदेशमा पर्ने वनारसी शहरको एउटा व्यस्त सडकमा छोरा विनीत सिंहको शवसँग चन्द्रकला सिंह थकित र भावविहीन अवस्थामा देखिन्छिन्।



    बढ्दो महामारी र भताभुङ्ग हुने सँघारमा रहेको स्वास्थ्य प्रणालीको चेपुवामा परेका भारतीयहरूको आर्तनादको यो एउटा प्रतिनिधि तस्बिर हो।



    कोभिड-१९ महामारीको दोस्रो लहरसँग जुझिरहेको भारतका नराम्ररी प्रभावित राज्यमध्ये उत्तर प्रदेश एक हो। महामारीको सामना गर्न सङ्घर्षरत वनारसी प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र हो। मृतकका काका जय सिंहले बताएअनुसार सोमवार बिहान घरबाट चन्द्रकला आफ्ना छोरासहित वनारस विश्वविद्यालयसँग जोडिएको एउटा अस्पताल पुगेकी थिइन्।

    ‘विनीतलाई मिर्गौलासम्बन्धी समस्या देखिएको थियो र केही समययता उनले बीएचयू अस्पतालका एक चिकित्सकसँग देखाउँदै आएको थियो। पछिल्लो पटक सोमवारका लागि उसले चिकित्सकसँग समय लिएको थियो,’ जय सिंहले भने।

    तर, जब आमा र छोरा अस्पताल पुगे, उनीहरूलाई डाक्टर नभएको जानकारी दिइयो र आपत्‌कालीन सेवा दिने ट्रमा सेन्टर जान भनियो।

    चन्द्रकलाका अनुसार ट्रमा सेन्टरको प्रवेशद्वारमै विनीत ढले र अस्पतालका कर्मचारीले उनलाई भर्ना गर्न अस्वीकार गरे।

    ‘विनीतलाई कोरोनाभाइरस सङ्क्रमण भएको उनीहरूले भने, ‘यहाँबाट लग्नूस्।’  मेरो बच्चालाई सास फेर्न गाह्रो भइरहेको थियो। हामीले अक्सिजन र एम्बुलेन्सका लागि हारगुहार गर्‍यौँ तर केही पाएनौँ,’ चन्द्रकलाले भनिन्। त्यहाँबाट चन्द्रकलाले विद्युतीय रिक्सामा राखेर नजिकैको अर्को अस्पतालमा छोरालाई लगिन् तर त्यो अस्पतालले पनि भर्ना गर्न अस्वीकार गर्‍यो।

    तेस्रो अस्पताल चहार्ने क्रममा विनीतको ज्यान गयो। विनीतको शव आमाको गोडानिर रह्यो।

    सहयोगका लागि याचना गर्दागर्दै थाकेकी चन्द्रकला छोराको मृत्यु तथा चोरीको घटनाले टुटेपछि शोकामा डुबिन्। उनको छोराको मेडिकल रेकर्डहरू र फोन चोरी भयो।

    पहिलो पटक स्थानीय दैनिक जागरण पत्रिकाले छापेको त्यो हृदयविदारक तस्बिर भारतमा व्यापक रूपमा शेयर  गरिए।

    उक्त घटनाबारे समाचार लेखेका संवाददाता श्रवण भारद्वाजले विनीतको ज्यान गएको सडक ठ्याक्क बीएचयूअगाडि पर्ने र आसपास दर्जनौँ निजी अस्पताल रहेको बीबीसीलाई बताए।

    ‘तर कुनै अस्पतालले पनि हामी हेर्छौँ भनेन,’ उनले भने।

    कोरोनाभाइरस सङ्क्रमणकै कारण विनीतको ज्यान गए वा नगएको अथवा कुनै लक्षण नदेखिएको उनको परिवारले बताएकोले उनलाई सङ्क्रमण भएरनभएको स्पष्ट छैन।

    विनीतका काका जय सिंहले भने, ‘अस्पताल भर्ना गरिएको भए उनलाई अक्सिजन दिइएको भए र मिर्गौलासम्बन्धी समस्याको उपचार गरिएको भए विनीतलाई बचाउन सकिन्थ्यो होला।

    ‘बेवास्ताका कारण उनको ज्यान गयो। यस्तो बेवास्ताले धेरैको मृत्यु निम्त्याउन सक्छ।’ हिजोआज बिरामीले भरिएका अस्पतालअगाडि भिडले कुर्दै गरेको, भर्नाका लागि पालो कुर्दै एम्बुलेन्सहरूको ताँतीका दृश्य भारतभरि देख्न सकिन्छ। विनीतले जस्तै बाटोमै कतिपयले ज्यान गुमाएका छन्।

    बीएचयू अस्पतालका एक अधिकारीका अनुसार अस्पतालले महामारीका कारण अन्य बिरामीलाई अनलाइनमार्फत् मात्रै परामर्श दिइरहेको छ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शरद माथुरले आफूहरूले सक्दो गरिरहेको बताउँदै भने, ‘तर धेरै दबावमा काम गर्नुपरेको छ।’

    ‘आपत्‌कालीन सेवा चाहिनेहरूलाई उपचार गरिँदैछ र गम्भीर भएकाहरू हामीकहाँ आइरहेका छन्। हरेक बिरामीको ज्यान नजोगिन पनि सक्छ।’ साभार : बिबिसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार