Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोनाको चेन तोड्न प्रहरीलाई सबैको साथ चाहिन्छ

    कोरोनाको चेन तोड्न प्रहरीलाई सबैको साथ चाहिन्छ

    अनलाइन नेपाल
  • आइतबार, १९ बैशाख २०७८
  • 4K
    SHARES

    विश्वभर महामारीको रुपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) को दोस्रो लहर नेपालमा पनि शुरु भएको छ । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमित र मृतकको संख्या बढ्दै गएपछि सरकारले १६ गते विहान ६ बजेबाट निषेधाज्ञा जारी गरेको छ । यस्तो बेला आम सर्वसाधरणलाई सरकारले अत्यावश्यक कामका लागि बाहेक बहिर ननिस्कन आग्रह गरेको छ । दैनिक झण्डै ५ हजारको संख्यामा संक्रमित बढिरहेका छन् भने मृतकको संख्या पनि दुई दर्जन भन्दा बढि छ । यो चुनौतीपूर्ण अवस्थामा महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंह परिवारका लागि समय नदिइ देश र जनताका लागि अहोरात्र खटिरहेका छन् । परिवारका सदस्यहरुलाई घरमै बस्न निर्देशन दिएर सिंह भने विहान ५ बजेदेखि नै फिल्डमा खटिएका छन् । प्रहरीमा निडर र कमाण्डिङ क्षमतामा अब्बल मानिएका एसएपी सिंहसँग निषेधाज्ञाको समयमा प्रहरीले निभाएको भूमिका, प्रहरीमाथि देखिएका चुनौति तथा महामारीको यो डरलाग्दो अवस्थामा काठमाडौं प्रहरीले गरेको सुरक्षा व्यवस्थापनलगायतका विषयमा अनलाईन नेपालका लागि कुमार भण्डारीले गरेको कुराकानी :

    ० निषेधाज्ञाको समयमा सबैभन्दा ठूलो जिम्मेवारी प्रहरीमाथि छ । त्यसमाथि पनि राजधानीको जिम्मेवारी सम्हालिरहनु भएको तपाईले व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
    – नेपाल सरकारको मन्त्रिपरिषद् तथा स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशनहरु, जिल्ला प्रशासन कार्यालयबाट जारी भएका आदेशहरु तथा निषेधाज्ञा जारी भएपछि भएका निर्णयहरु कार्यान्वय गराउनका लागि महानगरीय प्रहरी परिसर मातहतमा रहेका सम्पूर्ण प्रहरी जनशक्ति परिचालन भएका छन् । त्यतिमात्रै होइन फिल्डमा देखिएका अन्य समस्या समाधानका लागि पनि प्रहरी क्रियाशिल भएर काम गरिरहेको छ । यो महामारी हाम्रो देशको मात्र समस्या नभई विश्वभरकै समस्या हो । यो संक्रमण फैलिदैं जाँदा मृत्युदर पनि बढ्दै गएको अवस्थामा प्रहरीका लागि मात्र नभएर आम सर्वसाधरणमाथि नै चुनौति थपिदिएको छ । त्यहि चुर्नाति सामना गर्दै हामी फ्रन्टलाइनमा खटिएर आम सर्वसाधरणको सुरक्षामा जिम्मेवारकासाथ लागिपरेका छौं ।



    निषेधाज्ञामा सरकारले जनतालाई सकेसम्म नघरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । तर, कतिपय अवस्थामा बाहिर निस्कनै पर्ने हुन्छ । सारो, गाह्रो, अप्ठेरो सबैलाई पर्छ । कतिपय अवस्थामा दैनिक उपभोग्य सामान खरिदका लागि पनि बाहिर निस्कनु पर्ने परिस्थिति आउन सक्छ । त्यो अवस्थामा हामीले जनतालाई सुसुचित गराउँदै आएका छौं । ‘तपाईको मास्क खोई’ भन्ने अभियान नै चलाएका छौं भने दैनिक उपभोग्य सामानहरु खरिद बिक्री गर्दा पनि सामाजिक दूरी कायम गराउन पहल गरिरहेका छौं । त्यस्तै आयत र निर्यातका काममा पनि स्थानीय सरकार र जनतासँगको सहकार्यमा हामीले प्राथमिकतामा राखेर व्यवस्थापन मिलाउँदै आएका छौं ।



    ० फ्रन्टलाईनमा खटिएका प्रहरीहरुको सुरक्षाका लागि चाहिं परिसरले के गरिरहेको छ ?
    – हामी देश र जनताको सुरक्षाको जिम्मेवारी बोकेर यो पेशामा आवद्ध भएका हौं । त्यसैले पनि हामी फ्रन्टलाइनमा खटिदा कोरोना संक्रमण फैलिन नदिनका लागि अपनाउनुपर्ने सबै प्रक्रिया अपनाएका छौं । मास्क, पञ्जा, फेससिल्डलगायत प्रयोग गराएर नै डिउटीमा खटाएका छौं । फिल्डमा खटिनु भएका प्रहरीहरुले पनि सामाजिक दूरी कामय गरेर आफ्नो डिउटी गरिरहनु भएको छ ।

    ० यसरी सडकमा खटेर देश जनताको सेवा गर्दै आएका परिसर मातहतका प्रहरीहरुमा पनि कोरोना संक्रमण देखिएको छ ?
    – छ । परिसर मातहतमा रहेका एक दर्जन बढि प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उहाँहरुको अवस्था सामान्य नै छ । उहाँहरुलाई हामीले आइसोलेट गरेर राखेका छौं ।

    ० काठमाडौं भित्रने नाकाहरुमा चाहिं प्रहरीले चेकजाँचमा कत्तिको कडाई गरेको छ ?
    – काठमाडौं भित्रने मुख्य नाकाहरुमा प्रहरीले चेकजाँचलाई कडाइ गरेको छ । अत्यवश्यक र निर्माण सामाग्री बोकेका सवारीसाधन बाहेक अन्यलाई रोक लगाएका छौं । यो कोरोनाको महामारीको चेन ब्रेक गर्नका लागि प्रहरी एक्लैले सम्भव छैन । यसमा सम्पूर्ण देशबासीकै सहयोग र साथ चाहिन्छ । हामीले सकेसम्म कडाइ त गरेकै छौं । तर, कसलाई कोरोना लागेको छ ? भन्ने कसैले पनि थाहा नपाउने हुँदा जनता आफै सचेत हुन जरुरी छ ।

    ० निषेधाज्ञा उल्लंघन गर्ने सवारीसाधन तथा व्यक्तिहरुलाई चाहिं प्रहरीले कस्तो कारबाही गरेको छ ?
    – मैले अघि पनि भनिसके, निषेधाज्ञाको समयमा नियम उल्लंघन गर्नेहरुलाई कारबाही गर्ने भन्दा पनि हामीले उहाँहरुलई सचेतना जगाउने खालका क्रियाकलाप गरेका थियौं । निषेधाज्ञा अगाडि पनि हामीले सामाजिक दूरी कायम गराउने तथा तपाईको माक्स खोई जस्ता अभियान सञ्चालन गरेर सचेतना फैलाउने काम गर्यौं । अहिले पनि विहान र साँझ माइकिङ गरिरहेकै छौं । हामीले उहाँहरुकै सुरक्षाका लागि निषेधाज्ञाको समयमा विना कारण बाहिर निस्कले सवारी साधनलाई होल्ड गराएर बेलुका छोड्दै आएका छौं भने आम सर्वसाधरणलाई यो महामारीबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्दै सम्झाई बुझाई पठाएका छौं । यति गर्दा गर्दै पनि पटक–पटक नियम उल्लंघन गर्नेहरुमाथि चाहिं संक्रामक ऐन २०२० तथा स्थानीय प्रशासन ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछौं ।

    ० विहान र साँझको समयमा भित्री सडकहरुमा मानिसहरुको भिडभाड अलि बढि नै देखिन्छ । त्यसमा प्रहरीले कसरी काम गरिरहेको छ ?
    – सरकारले विहान र बेलुकाको समयमा अत्यावश्यक खाद्यान्न पसलहरु सञ्चालन गर्ने अनुमति दिएको हुँदा मानिसहरुको आवत–जावत अलि बढि नै देखिएको हो । त्यसमा हामीले सामाजिक दूरी कायम गराउनेदेखि मास्क लगाउन आग्रह गर्ने काम गर्दै आएका र्छौ । मैले अघि पनि भने यो भनेको नेपाल प्रहरी र सिंगो देशको मात्र समस्या होइन । विश्वभरकै समस्या हो । दिनप्रतिदिन संक्रमित थपिदै गएका छन् भने मृतकको संख्या पनि बढ्दै गएको छ । यहि गतिमा बढ्दै जाने हो भने देशको स्वास्थ्य मापदण्डले नधान्ने अवस्था नआउला भन्न सकिन्न । त्यसैले जसले यसलाई केही होइन भनेर हेलचेक्य्राई गर्छ, ऊ आफू त असुरक्षित छँदैछ । उसले अरुलाई पनि असुरक्षित बनाउँछ । उ आफैले समस्या भोगेको दिन बल्ल थाहा पाउँछ कि के हो कोरोना भनेर, जबकी त्यतिबेला ढिला भइसकेको हुनेछ । त्यसैले म फेरि पनि के आग्रह गर्न चाहन्छु भने यो महामारीमा हामी सबै सचेत होऔं ।

    ० निषेधाज्ञाको समयमा परिसरका दैनिक क्रियाकलापहरु चांहि कसरी सञ्चालन भइरहेका छन् ?
    – परिसरभित्र हुनुपर्ने दैनिक कामहरु नियमित भइरहेकै छन् । अहिले हामीले परिसर भित्र गर्ने काम भन्दा पनि आम सर्वसाधरणको सुरक्षाका लागि सडकमा खटिएर काम गरिरहेको अवस्था छ ।

    ० यस्तो महामारीका बेला पनि कालोबजारी भएको गुनासाहरु आइरहेका छन्, त्यसमा परिसरले के–कस्तो काम गरेको छ ?
    – यो महामारीको बेला मात्र नभई कुनै पनि बेला कालोबजारी गर्नेमाथि प्रहरी आक्रमक शैलीमा उत्रिएको छ । त्यसमाथि पनि अहिलेको अवस्थामा जो कोहीले कालोबजारी गर्छ, त्यसलाई कानुनी कठघरमा ल्याउन परिसर मात्रतहका युनिटहरु खटिएका छन् । हामीले सादा पोशाकममा प्रहरी खटाएर त्यसको अनुगमन गरेका छौं । विगतमा पनि यस्ता समस्या देखिएको हुँदा हामीले कुन–कुन ठाउँमा त्यस्ता क्रियाकलाप हुनसक्छन् भन्ने अनुमानका आधारमा पनि हाम्रो जनशक्ति परिचालन गरेका छौं । यस्तो बेला अत्याबश्यक सामान लुकाएर कृतिम अभाव सृजना गर्नेहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाउँछौं ।

    ० यो अवस्थामा प्रहरी परिचालन चांहि कसरी गरिरहनु भएको छ ?
    – विहान ५ बजेदेखि नै प्रहरीहरुलाई फिल्डमा खटाएका छौं । म आफै पनि विहानैदेखि फिल्डमा खटिएको छु । तीनवटा सिफ्ट बनाएर हामीले प्रहरीहरुलाई परिचालन गरेका छौं । एउटा सिफ्टमा १ हजार ४६० जना खटिनु भएको छ । नगरपालिकादेखि जिल्ला प्रशासनसँग समन्वय गरेर हामी अगाडि बढेका छौं । यो बेला हामी सडकमा मात्र खटिएका छैनौं । अहिले सबैभन्दा बढि भिड देखिने स्थान मध्येको एक हो, अस्पताल । त्यो भिडले गर्दा भविश्यमा आउनसक्ने समस्यालाई मध्यनजर गर्दै त्यहाँ पनि हामीले प्रहरी जनशक्ति परिचालन गरेर काम गरिरहेका छौं ।

    ० महामारीको यो समयमा प्रहरीमाथि कस्ता चुनौतिहरु देखिएका छन् ?
    – सबैभन्दा ठूलो चुनौति त यतिबेला प्रहरी परिचालनमै देखिएको छ । एकातिर आफ्नो स्वास्थ्य अवस्था त्यसका साथसाथै परिवारको स्वास्थ्यलाई समेत ख्याल गर्दै देश र जनताको सुरक्षामा खटिनु परेको छ । फ्रन्टलाइनमा रहेर आफ्नो भूमिका निर्वाह गरिरहँदा हामी आफै सबैलाई घर बाहिर ननिस्कन आग्रह गरिरहेका छौं । यहि बेला आफूचाहिं सडकमा खटिएर काम गरिरहेका छौं । हामी जस्तोसुकै चुनौतिको पनि सामना गर्दै देश र जनताका लागि खटिरहेका छौं र अबका दिन पनि खटिने नै छौं ।

    ० यो महामारीमा तपाईको दैनिकी चाहिं कसरी चलेको छ ?
    – अन्य प्रहरीहरुको जस्तै म पनि फिल्डमा नै खटिएको छु । परिसर मातहतका प्रहरीहरुको मनोबल उच्च बनाउनका लागि म आफै विहान ५ बजे नै ठाउँ–ठाउँमा पुगेर अवस्था के–कस्तो छ भन्ने बारे अनुसन्धान गरिरहेको छु । त्यसका साथसाथै कार्यालयको कामलाई पनि निरन्तरता दिईरहेको छु ।

    ० आफै फिल्डमा खटिदा सुरक्षा जोखिम त छँदैछ । यस्तो अवस्थामा आफ्नो परिवारको सुरक्षाका लागि चाहिं के गर्नु भएको छ ?
    – यो बेला भनेको जुटेर भन्दा पनि छुट्टिएर सामना गर्ने बेला हो । त्यसैले मैले मेरो परिवारलाई घरमै बस्न भनेको छु । उनीहरु घरमै लकडाउन भएर बसेको अवस्था छ । म मेरो परिवारलाई मात्र नभई सम्पूर्ण महानुभावहरुलाई के आग्रह गर्न चाहन्छु भने यतिबेला भनेको आफै सुरक्षित हुने हो । त्यसैले आफू पनि बचौं र आरुलाई पनि बचाऔं भन्ने उद्देश्यकासाथ सुरक्षित भएर बस्न आग्रह गर्दै एउटा सचेत नागरिकको भूमिका निभाउन अनुरोध गर्दछु ।

    ० अन्त्यमा, आम सर्वसाधरणहरुलाई के भन्न चाहनु हुन्छ ?
    – मैले बारम्बार भन्दै आएको छु, यो महामारीको बेला आफै सुरक्षित हुन जरुरी छ । मास्क प्रहरीका लागि लगाउने होइन् । प्रहरीको आँखा छलेर बाहिर निस्कदा प्रहरीलाई नभई आफैलाई रोगले समाउन सक्छ । यो कुरा सबैले बुझ्न जरुरी छ । अहिले हामीले सानो लापरबाहि गार्दा त्यसले भोली ठूलो दुर्घटना निम्त्याउन सक्छ । संक्रमित दर र मृत्युदर बढिरहेको यो भयावह अवस्थामा आफै सचेत हुन जरुरी छ । त्यसैले म सबैमा के आग्रह गर्न चाहन्छु भने अत्यावश्यक नभएसम्म घर बाहिर ननिस्कने, विहान र साँझको पसल खुल्ने समयमा अनावश्यक भिडभाड नगर्ने, आफू जहिले पनि सुरक्षित बस्ने । आफ्नो कारणले अरुलाई पनि असुरक्षा नहोस भन्नका लागि जहिले पनि सचेत रहनु पर्दछ । तपाई हामी सबैले एउटा जिम्मेवार नागरिकको भूमिका कसरी निर्वाह गर्न सकिन्छ भन्ने बारेमा सोचेर अगाडि बढ्न सकेको खण्डमा कोरोना महामारीको चेन तोड्न सकिन्छ ।

    अर्को महत्वपूर्ण कुरा, महामारीको यस्तो अवस्थामा तपाईहरुलाई कुनै पनि समस्या परेको खण्डमा हामी तपाईहरुको सेवाको लागि २४ घण्टा नै तत्पर छौं । कुनै पनि समस्या भएको खण्डमा नेपाल प्रहरीको १०० तथा १०३ नम्वरमा फोन गर्नुस् । अथवा मेरो व्यक्तिगत नम्बर ९८५१२०५५५५ मा फोन गर्न सक्नु हुन्छ । हामीले तपाईहरुलाई के–कस्तो सहयोग गर्नुपर्छ, त्यो हामी गर्न तयार छौं । म अझै पनि भन्छु आफू सुरक्षित बसौं ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार