Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • महामारीमा १० प्रतिशतको ब्याज बढाएर १६ प्रतिशत असुल्ने एनआईसी बैंकमाथि राष्ट्र बैंकले थाल्यो कारबाही

    महामारीमा १० प्रतिशतको ब्याज बढाएर १६ प्रतिशत असुल्ने एनआईसी बैंकमाथि राष्ट्र बैंकले थाल्यो कारबाही

    प्राविधिक गल्तिको वहानामा यसरी आँखामा छारो हाल्दै छ एनआईसी

    अनलाइन नेपाल
  • बिहिबार, २३ बैशाख २०७८
  • 2.8K
    SHARES

    काठमाडौं । कोरोना महामारीले समस्यामा परेका ऋणीमाथि चर्को ब्याज लिएर झन समस्या थोपर्ने एनआईसी एसिया बैंकमाथि नेपाल राष्ट्र बैंकले कारबाही प्रक्रिया थालनी गरेको छ । अचाक्ली ब्याज बढाएर सर्वसाधारण ऋणीलाई महामारीमा पनि दुःख दिएपछि राष्ट्र बैंकले एनआईसीसँग जवाफ माग गरेको हो । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले एनआईसीलाई पत्राचार गर्दै ‘बाहिर आएका विषय वस्तुमा के कसो भएको हो सो बारे तत्कालै जानकारी गराउनू’ भन्दै पत्राचार गरेको हो ।

    राष्ट्र बैंकले मंगलबार पत्र काटेको हो । एनआइसीको जवाफ आएपछि सुपरीवेक्षण विभागले बैंकमाथि कस्तो कारबाही हुन्छ भन्ने निर्णय गर्ने राष्ट्रबैंकले जनाएको छ । एनआईसीको विराटनगर शाखाले ९.९२ प्रतिशतमा ब्याज दिएको भएपनि कोरोना महामारीको समयमै ब्याजदर बढेर १५.७० प्रतिशत पुगेको भन्दै एक ऋणीलाई पत्र काटेको थियो । नेपाल राष्ट्र बैंकको निर्देशनको समेत धज्जी उडाउँदै बैंकले आफ्नो पुराना ऋणीलाई २०७८ सालदेखि ब्याजदर बढेको भन्दै पत्र काटेको छ । बेस रेट ६.७७ प्रतिशत रहेको एनआईसीले प्रिमियम दर ८.९३ राखेर १५.७० प्रतिशत पुर्याएको छ । एनआईसीले बैशाख १ गतेदेखि लागू हुने गरी भन्दै ९.९२ प्रतिशतमा ब्याज बढाएर १५.७० प्रतिशत पुर्याएको हो ।



    ऋण दिने बेला ग्राहक तान्नका लागि जस्तोसुकै हत्कण्डा अपनाउन पछि नपर्ने एनआइसी एशिया बैंक यस अघि पनि ग्राहकलाई सामान्य मौका समेत नदिई घरजग्गा लिलामी गरेर हडप्दै आएको आरोपमा विवादमा तानिएको थियो । त्यसो त बैंकले अत्यधिक ब्याजदर लिने गरेको गुनासो यस अघि पनि पटक–पटक बाहिर नआएका होइनन् । राष्ट्र बैंकको आँखा छल्न र ग्राहकलाई झुक्याउनका लागि ब्याजदर १० प्रतिशत भन्दा कम कायम गर्ने एनआईसीले ऋण लिएको अर्को महिना नै ब्याजदर बढाउँदै आएको छ ।



    अन्य बैंक तथा वित्तीय संस्थाहरुले बेस रेटमा सामान्यतया २ प्रतिशत प्रिमियम जोडेर ऋण लगानी गर्दै आएको भएपनि ऋणकै बहानामा लुटतन्त्र मच्चाइरहेको एनआईसीले ९ प्रतिशतसम्म प्रिमियम जोडेको छ । घर कर्जामा करिब १६ प्रतिशत ब्याजदर लिएको बैंकले सवारीकर्जामा पनि करिब १५ प्रतिशत ब्याजदर लिने गरेको पाइएको छ ।

    यसैबीच राष्ट्र बैंकको पत्र आउनासाथ एनआईसी एशियाले ब्याजदर घटाएको छ । बैंकले चर्को ब्याजदरमात्र नभएर यसअघि कायम गरिएको कर्जाको प्रिमियममा समेत थप गरेको खुलासा भएपछि राष्ट्र बैंकले बैंकलाई सो सम्बन्धी ध्यानाकर्षण मंगलबार गराएको थियो । बैंकले सो पत्र नियतवश नभएर प्राविधिक गल्तीले भएको भन्दै बुधबार नै पत्र पठाएर गल्ती सच्याउने प्रतिबद्धता गरेको राष्ट्र बैंकले जनाएको छ ।

    यद्यपी एनआईसीले काटेको उक्त पत्र भने प्राविधिक गल्ती नभएको स्वयम ऋणीले नै बताएका छन् । ऋणीले कयौं पटक बैंकसँग डिसकस गरी प्रधानमन्त्री कार्यालयसम्म पुग्ने बताउँदा पनि एनआईसीले उल्टै उनलाई धम्की दिंदै किस्ता नतिरे लिलामी प्रक्रियामा जाने बताएको थियो । अब यो पत्र कसरी प्राविधिक गल्ति हुन्छ ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार