Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आज विश्वासको मत लिँदै ओली, के होला परिणाम ?

    आज विश्वासको मत लिँदै ओली, के होला परिणाम ?

    अनलाइन नेपाल
  • सोमबार, २७ बैशाख २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । राजनीतिक उतारचढावबीच ओलीले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा विश्वासको मत लिन लागेका हुन् ।

    उनले विश्वासको मत लिन बोलाएको प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै छ ।



    यसका लागि सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको विश्वासको मत समेटिएको छ । कार्यसूची सार्वजनिक गर्नुअघि सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समिति बैठक राखेका थिए ।



    यस्तै, आजै पुनः प्रतिनिसभा अर्को बैठक बस्ने र अविश्वास प्रस्तावउपर कारबाही प्रक्रिया अघि बढ्नेछ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागे पनि त्यसका लागि आवश्यक संख्या भने पुगेको छैन । हिजो अबेरसम्मको राजनीतिक समीकरणअनुसार ओलीको विपक्षमा मत बढी आउने देखिएको छ ।

    एमालेकै माधव–झलनाथ पक्षले ओली पक्षमा मतदान नगर्ने संकेत गरिसकेका छन् । उनीहरूले आज ९ बजेसम्म ओलीको निर्णय पर्खने र त्यसपछि सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

    यता जनता समाजवादी पार्टी (जसपा)ले पनि मत नदिने संकेत गरिसकेको छ । तर, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव समूहले विश्वास मतको विपक्षमा मतदान गर्ने जनाएका छन् । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १ सय ३६ सांसदको समर्थन लिनुपर्नेछ ।

    २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एमालेको १ सय २१ सिट छ । यद्यपि, माधव–झलनाथ पक्षका सांसदले राजीनामा दिए वा ‘फ्लोरक्रस’ गरेमा यो संख्या घट्ने देखिएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९, जनता समाजवादी पार्टीका ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसद १-१ सांसद छन् ।

    यता, एमालेले प्रतिनिधिसभामा आज हुने मतदानमा ओलीलाई प्रस्ताव पक्षमा मत दिन सांसदलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दल प्रमुख सचेतक विशाल भट्टराईले आइतबार ह्वीप जारी गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार