Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • महामारीमा रथयात्रा : आवश्यकता कि बाध्यता ?

    महामारीमा रथयात्रा : आवश्यकता कि बाध्यता ?

    अनलाइन नेपाल
  • शनिबार, १ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मछिन्द्रनाथनाथको रथयात्रा आजबाट शुरु हुने भएको छ । कोरोना महामारीका कारण अघिल्लो वर्ष पनि विवादमा परेको रथयात्रा यो वर्ष भने सांकेतिक रुपमा गर्न लागिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए । शनिबार करिब १५० जनाले स्वास्थ्य मापदण्ड पूरा गर्दै करिब २५ मिटर रथयात्रा गरेर त्यहीँ विसर्जन गर्ने तयारी गरिएको महर्जनले जानकारी दिए ।

    उक्त जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने गरेको थियो । कोरोनाको दोस्रो लहरले झन महामारीको रुप लिएका कारण यो वर्ष पूरा रथयात्रा नगरी सांकेतिक रुपमा मात्रै रथयात्रा गर्न लागिएको अध्यक्ष महर्जनले जानकारी दिएका हुन् ।



    रथयात्रा साढे २ बजे ललितपुरको पुल्चोकमा हुने छ । रथयात्राको बारेमा बुधबार बसेको सरोकारवालाको बैठकले कोरोना महामारीलाई मध्यनजर राख्दै न्यून संख्यामा उपस्थित भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर प्रतीकात्मक रुपमा रथ तान्ने निर्णय गरेको थियो ।



    अघिल्लो वर्ष कोरोना महामारीका कारण समयमा रथयात्रा हुन सकेको थिएन । ढिला गरी भएको रथयात्राको क्रममा स्थानीय प्रशासन र स्थानीयबीच झडप समेत भएको थियो । तर, यो वर्ष समयमा नै सरोकारवाला पक्षसँगको छलफलपछि रथयात्राको मिति तय भएकोले कुनै समस्या नभएको अध्यक्ष महर्जनले जानकारी दिए ।

    वैशाख पूर्णिमाको भोलिपल्ट हुने महास्नानसँगै सुरु भएको यो असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । करिब एक हजार ६०० वर्ष पुरानो मानिन्छ । दुई सातादेखि रथ निर्माण थाली विभिन्न प्रक्रिया र धार्मिक विधिसँगै क्षमापूजा गर्ने र रथारोहण सकिएपछि अक्षयतृतीयाका दिन मृतकहरूका आत्माले सजिलै वैतरणी नदी तरुन् भन्ने कामना गर्दै मत्स्येन्द्रनाथको रथ अगाडि गाई दान गरिने गरिने परम्परा छ ।

    यस्तो छ भोटोको इतिहास
    हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्ध मध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् । लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हराएको र पछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी गर्‍यो । दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद पर्‍यो । सो विवाद राजासमक्ष पुर्याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मछिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए ।

    सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ । जात्राका प्रमुख अतिथिको उपस्थितिमा सिल तोडेर भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सिल गरेर राख्ने प्रचलन छ । संस्कृतिविद् सत्यमोहन जोशी कालो मखमलको कपडामा मणिमाणिक, बहुमूल्य नवरत्नजडित सो भोटोको दर्शन गर्नाले मानसिक चिन्ता हट्ने, शान्ति मिल्ने र शुभफलदायी हुन्छ भन्ने सांस्कृतिक मान्यता रहेको बताउँछन् ।

    लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि राजा (राष्ट्र अध्यक्ष) भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ । मछिन्द्रनाथको रथ स्थानीय वाराही जातिले निर्माण गर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ । भुतप्रेत पन्छाउन भोटोजात्राको अघिल्लो दिन रथ वरिपरि भात छर्ने गरिन्छ । जावलाखेलको नाम पनि यही भात छर्ने प्रसङ्गसँग जोडिएको छ । नेपाल भाषामा यो ठाउँलाई जा ह्वला ख्यः (भात छर्ने चौर) भनिन्छ जुन पछि अपभ्रंश भएर जावलाखेल हुन पुगेको हो । भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथलाई प्राचीन कलात्मक खाटमा राखेर सांस्कृतिक बाजागाजा सहित जावलाखेलबाट बुङमतीको मन्दिरमा छ महिनाका लागि विराजमान गराउन लैजाने परम्परा छ ।

    यद्यपी यस्तो महामारीमा पनि रथयात्रा गर्नु ज्यापु समाजका लागि रहरसँगसँगै बाध्याता भएको समाजको भनाई छ । एकातिर संस्कृति जोगाउनु पर्ने बाध्यता त अर्कोतिर यो महामारीमा ज्यान जोगाउनु पर्ने कठिन अवस्था । यस्तो परिस्थितिमा यो वर्ष भने ज्यापु समाजले महामारीलाई नै मध्यनजर गर्दै सांकेतिक रथयात्राको तयारी गरेको हो । जुन सह्राहनीय छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार