Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • चीनमा बर्डफ्लुको नयाँ भेरियन्ट मानिसमा सरेको पुष्टि, के भन्छ डब्ल्यूएचओ ?

    चीनमा बर्डफ्लुको नयाँ भेरियन्ट मानिसमा सरेको पुष्टि, के भन्छ डब्ल्यूएचओ ?

    अनलाइन नेपाल
  • बुधबार, १९ जेष्ठ २०७८
  • 2K
    SHARES

    एजेन्सी। चीनमा एक ४१ वर्षीय पुरुष बर्ड फ्लूको एउटा दुर्लभ प्रकारबाट सङ्क्रमित भएको पुष्टि भएको छ। चराचुरुङ्गीबाट उक्त भाइरस सरेको पुष्टि हुने उनी पहिलो मानिस भएको बताइएको छ।

    अधिकारीहरूले उनलाई कसरी सङ्क्रमण सर्‍यो भन्ने विषयबारे विस्तृत विवरण दिएका छैनन्। तर H10N3 (एच१०एन३) नाम दिइएको उक्त प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने विश्वास गरिन्छ।



    बेइजिङस्थित राष्ट्रिय स्वास्थ्य आयोग (एचएचसी)ले मङ्गलवार बताएअनुसार सङ्क्रमित व्यक्तिलाई गत एप्रिल २८ मा अस्पताल भर्ना गरिएको थियो। त्यसको एक महिनापछि उनमा बर्ड फ्लू गराउने भाइरसको एच१०एन३ प्रकारबाट सङ्क्रमण भएको पुष्टि भयो।



    ‘विश्वमा कुनै मानिसमा पनि एच१०एन३ को सङ्क्रमण भेटिएको थिएन । यो पक्षीबाट मानिसमा सरेको विरल सङ्क्रमण हो। यो ठूलो मात्रामा फैलिने जोखिम अत्यन्त न्यून छ,’ एचएचसीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले भनेको छ।

    एनएचसीका अनुसार एच१०एन३ भाइरसले पालिएका पक्षीमा गम्भीर रोग लगाउँदैन र यो चाँडै फैलिन पनि सक्दैन।

    के भन्छ विश्व स्वास्थ्य सङ्गठन ?
    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अहिले मानिसबाट मानिसमा उक्त भाइरस सर्ने सङ्केत नदेखिएको समाचारसंस्था रोएटर्सलाई बताएको छ।

    ‘पालिएका पक्षीमा एभीअन इन्फ्लूएन्जा प्रसार भइरहेसम्म मानिसमा त्यसको सङ्क्रमण हुनु अनौठो कुरा हैन। यो इन्फ्लूएन्जा महामारीको जोखिम यथावत् छ भन्ने एउटा सङ्केत हो,’ डब्ल्यूएचओले भनेको छ।

    अहिले चराचुरुङ्गीमा बर्ड फ्लूको एच५ एन८ नामक प्रकार फैलिरहेको छ। त्यसबाट विभिन्न युरोपेली देशहरू प्रभावित भएका छन् र त्यहाँ पालिएका लाखौँ पक्षीको सामूहिक वध गरिएको छ।

    गत फेब्रुअरीमा रुसमा उक्त भाइरस मानिसमा पनि सरेको पुष्टि भएको थियो।

    सन् २०१६ र २०१७ मा एभीअन इन्फ्लूएन्जाको एच७एन९ प्रकारको प्रकोप फैलिँदा झन्डै ३०० जनाको मृत्यु भएको थियो।

    त्यसपछि बर्ड फ्लू मानिसमा ठूलो मात्रामा सरेको देखिएको छैन। (बीबीसीको सहयोगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार