Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • भाग्यमानी जोडी, जसले गुट परिवर्तन गर्दा मन्त्री बन्ने सौभाग्य पाए

    भाग्यमानी जोडी, जसले गुट परिवर्तन गर्दा मन्त्री बन्ने सौभाग्य पाए

    श्रीमतीलाई मन्त्रीबाट हटाएर श्रीमानलाई उपप्रधानमन्त्रीको जिम्मा

    अनलाइन नेपाल
  • शुक्रबार, २१ जेष्ठ २०७८
  • 4.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी विरोधका बावजुद मन्त्रीपरिषद् विस्तार गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर विवादमा तानिएपछि विश्वासको मत लिन नसकेर काम चलाउ प्रधानमन्त्री बनेका बेला मन्त्रीपरिषद् विस्तार गरेको भन्दै प्रधानमन्त्री ओलीको चौतर्फी विरोध शुरु भइसकेो छ । प्रधानमन्त्री ओली पार्टी भित्रै झगडा गरेर आएको जनता समाजवादी पार्टी (जसपा) का १० जनालई एक उप्रप्रधान सहित मन्त्री पद दिएर आफ्नो सत्ता जोगाउने कसरतमा लागेका छन् ।

    आज प्रधानमन्त्री ओलीले जसपालाई एक उपप्रधानसहित ८ मन्त्री र २ राज्यमन्त्री पद दिएका हुन् । यद्यपी रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासनसहित ७ मनत्रालयले भने ओली आफैले राखेका छन् । ओलीले ति मन्त्रालयको जिम्मा एमालेबाट मन्त्री बन्नेहरुलाई एक÷दुई दिनभित्रै सुम्पने तयारी गरेका छन् । जसमा ओलीको ‘राइट ह्याण्ड’ मानिने महेश बस्नेत पनि पर्ने चर्चा शुरु भइसकेको छ ।



    ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित १३ जना एमालेका मन्त्रीहरुलाई विदा गर्दा दुई जनालाई भने आजै नयाँ मन्त्रीको रुपमा सपथ खुवाएका छन् । ओलीले नयाँ मन्त्रीका रुपमा रघुवीर महासेठलाई उपप्रधानसहित परराष्ट्र र शेरबहादर तामाङलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी दिएका छन् ।



    एमालेबाट यसअघि उपप्रधानमन्त्री बनेका ईश्वर पोखरेल तथा मन्त्रीहरु प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, पद्मा कुमारी अर्याल, पार्वत गुरुङ, शिवमाया तुम्वाहाम्फे, गणेशसिंह ठगुन्ना, प्रेम आले, जुली महतो, हृदयेश त्रिपाठीसहित ९ र राज्यमन्त्री भएका नवराज रावत, रामवीर मानन्धर, विमला विकसहित ३ जना गरी १२ जना बाहिरिएका छन् ।

    सत्ता जोगाउनका लागि फुटको संघारमा पुगेको जसपालाई उपप्रधानसहित १० मन्त्रालय सुम्पेका ओलीले सबैभन्दा अचम्म लाग्दो त श्रीमतीलाई मन्त्रीबाट हटाएर श्रीमानलाई उपप्रधानमन्त्री बनाएका छन् । कुरा हो रघुवीर महासेठको ।

    ओली नेतृत्वका सरकारमा रघुवीर महासेठ दोस्रो पटक मन्त्री बनेका हुन् । धुनषा–४ का सांसद महासेठलाई ओलीले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी दिइएका छन् ।

    यसअघि महासेठ २०७४ मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए । प्रधानमन्त्री ओलीले ५ मंसिर २०७६ मा महासेठलाई हटाएर बसन्त नेम्वाङलाई मन्त्री बनाएका थिए । तर, यसपटक महासेठ उपप्रधानमन्त्री समेत बनेका छन् ।

    एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा महासेठ वरिष्ठ नेता माधवकुमार नेपालसँग नजिक हुँदै ओली इतर केही कार्यक्रममा समेत सहभागी भएका थिए । तर, केही दिनमै फेरि बालुवाटारतिर नजिक भए । त्यतिबेला ओलीले आफूलाई साथ दिएको भन्दै महासेठकी श्रीमती जुली महतोलाई गएको पुस १० गते मन्त्री बनाएका थिए ।

    एमालेका समानुपातिक सांसद महतोले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी पाएकी थिइन् । तर, पाँच महिनापछि उनी पदमुक्त हुँदा उनका श्रीमान् महासेठले उपप्रधानसहित परराष्ट्र जस्तो संवेदनशिल मन्त्रालयको जिम्मेवारी पाएका छन् । अर्थात् ओली नेतृत्वको सरकारमा महासेठ–महतो दम्पत्ति आलोपालो मन्त्री बनेका छन् ।

    महासेठको राजनीतिक यात्रा
    लामो समय एमालेमा वामदेव गौतमसँग रहेका महासेठ २०७१ साउनमा सम्पन्न नवौं सचिव पदका उम्मेदवार थिए । केपी शर्मा ओलीको प्यानलबाट सचिव लडेका महासेठ केन्द्रीय सदस्यमा समेत पराजित भए । महासेठ २०५४ मा एमाले विभाजन भएपछि मालेको केन्द्रीय सदस्य बनेका थिए । एमालेको २०५९ को सातौ महाधिवेशनबाट महासेठ केन्द्रीय सदस्य बने । आठौंमा भने केन्द्रीय सदस्य पराजित भएका थिए । त्यसबेला ओली इतर समूहबाट उनको उम्मेदवारी थियो ।

    त्यसो त एमालेकै अर्को एक जोडीले पनि गुट परिवर्तन गर्दा मन्त्री बन्ने सौभाग्य पाएको छ । ओलीविरुद्ध लाग्दै आएका माधव कुमार नेपालको गुट छोडे बापत शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राईले पनि मन्त्री पद पाएका छन् । तामाङ आज स्वास्थ्य मन्त्री बन्दा उनकी पत्नी राई गएको चैतमा नै प्रदेश–१ मा सामाजिक विकास मन्त्री बनिसकेका छन् ।

    तामाङको पनि ओली सरकारमा दोस्रो इनिङ हो । २०७४ मा तामाङ कानून मन्त्री बनेका थिए । तर अभिव्यक्ति विवादमा परेपछि उनले नैतिकताको आधारमा राजीनामा दिएका थिए । तामाङ पनि नेकपा विभाजित हुँदा गुट फेरेर ओलीतिर लागेपछि स्वास्थ्य मन्त्री बनेका हुन् । तामाङ सिन्धुपाल्चोक–२ प्रत्यक्ष निर्वाचित सांसद हुन् भने राई प्रदेश १ मा समानुपातिक सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार