Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मिथिला क्षेत्रमा आज ‘बसाईत’ पर्व मनाइँदै

    मिथिला क्षेत्रमा आज ‘बसाईत’ पर्व मनाइँदै

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 2.7K
    SHARES

    रामनारायण यादव / सप्तरी । मिथिला क्षेत्रका महिलाहरुले आज (बिहीबार) श्रद्धापूर्वक बटसावित्री (बर्साइत) पर्व मनाइरहेका छन् । सौभाग्य–समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजाआजा गर्ने चलन छ । बिहानैदेखि महिलाहरुले वरको रूखमा पूजापाठ गरी दिनभर उपवासमा बसेर यो पर्व मनाउने परम्परा छ ।

    पतिको दीर्घायुका लागि मनाइने पर्व भएकाले महिलाहरु बटसावित्रीमा वरको रुखनजिक विशेष पूजा गर्छन् । यो पर्वमा वरको रुख, नागनागिन र सोमाधोविनको पूजा गर्ने परम्परा छ ।



    वट अर्थात् वरको रुख र सतिसावित्रीको जीवनसँग जोडिएको र वरको रुखमुनि बसेर पतिको दीर्घायुका लागि पूजा गर्ने गरिएकाले यस पर्वलाई वटसावित्री पर्व वा वरसाइत पर्व भन्ने गरिन्छ ।



    हिन्दु धर्मको मान्यताअनुसार जेठ औंसीमा वरको रुखमा ब्रह्मा, विष्णु र महेश बास हुने भएकाले यो पर्वमा वर रुखको पूजा गरेको खण्डमा त्रिदेव खुसी हुने धार्मिक विश्वास रहिआएको छ ।

    यस पर्वको अवसरमा विवाहिता स्नान गरी नववस्त्र धारण गरेर आँप, लिच्ची, स्याउ, केरा, अकुरी मिठाईका साथै अनिवार्य रुपमा बाँसको नयाँ पंखा (बेना) लिएर वरको रुखमुनि बसेर पूजा गरिरहेका छन् । नागनागिनका लागि धानको लाबा र दूध पनि चढाउने गरिन्छ ।

    स्कन्धपुराणमा पनि मद देशका राजा अश्वपतिकी छोरी सावित्रीको शाल्वदेशको प्रदमत्ससेनको छोरा सत्यवानसँग विवाहको चर्चा छ ।

    यसको कथामा भनिएको छ, ‘मद देशका राजा अश्वपतिले आफ्नी सुयोग्य छोरी सावित्रीका लागि सुयोग्य वर (बेहुला) खोज्न सक्नुभएन । त्यसपछि, छोरी सावित्रीलाई आफ्ना लागि सुयोग्य वर खोज्न राजाले सुझाव दिए । सावित्रीले सुयोग्य बर खोजेर घर फर्केपछि, त्यहाँ नारदमुनिसँग भेटभयो ।

    सावित्रीले शाल्वदेशका राजा द्युमत्सेनका छोरा सत्यवानलाई मन पराएको जानकारी गराए । राजा द्युमत्सेन दृष्टिहीन भएपछि रुक्मी नामका राजाले राज्य कब्जा गरेकोले उनीहरु यतिखेर जंगलमा बस्ने गरेको सावित्रीले जानकारी गराइन् ।

    यस विषयमा नारदले जानकारी पाउनासाथ सत्यवान अल्पायु रहेका कारण विवाह नगर्न सुझाव दिए पनि सावित्रीले सत्यवानलाई पतिका रुपमा मनमनै वरण गरिसकेकाले अब उहाँसँगै विवाह गर्ने अडान लिएपछि विवाह सम्पन्न भयो ।

    सावित्रीले मृत्युवरण गरिसकेका आफ्ना पति सत्यवानलाई आफ्ना बुद्धि र सतित्वको बलमा यमराजबाट पतिको जीवन फिर्ता ल्याएर दीघार्युको आशीर्वाद पनि प्राप्त गर्न सफल भएकी थिइन् ।

    यसका लागि सावित्रीले कठोर तपस्था गरेको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । सत्यवानको मृत्यु भएपछि सावित्रीले आफ्नो बुद्धिमताले यमराजलाई प्रसन्न गरी पतिको जीवन फिर्ता लिनुका साथै दीर्घायुको वरदान, ससुराको आँखाको ज्योति, गुमेको राज्य र एक सय पुत्रको वरदान प्राप्त गरे ।

    त्यही समयदेखि पतिको दीर्घायु, सुस्वास्थ्य र मंगलमय कामनाका लागि यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ । धार्मिक विधिपूर्वक आजको तिथिमा वरको रुखमुनि बसेर विवाहिताले पूजापाठ गरेको खण्डमा पति दीर्घायु हुने विश्वासका साथ यो पर्व मनाउने गरिएको हो । पहिला मैथिली ब्राह्मण, कायस्थ, देव र स्वर्णकार जातिका विवाहिता महिलाहरु मात्रै मनाउँथे ।

    नवविवाहितालाई पहिलोपल्ट पर्व मनाउन ससुरालीबाट नयाँ वस्त्रका साथै विभिन्न प्रकारका कोसेली, माटोको कलात्मक नाग, नागिन, गौरी र बेहुलाबेहुलीको मूर्ति पठाउने गरिन्छ ।

    सर्पको डसाइबाट जोगिने उद्देश्यले नागनागिनको पूजा गरिन्छ । अहिले सबै जातका महिलाले यस पर्व मनाउने गरेका छन । महिलाहरु एक ठाउँमा बसेर वटसावित्रीको कथा सुन्ने गरेको परम्परा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार