Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • जब दाइले कुलदेवताका लागि भाइको हत्या गरे……

    जब दाइले कुलदेवताका लागि भाइको हत्या गरे……

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 3.3K
    SHARES

    महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराका रामचन्द्र साह र लक्ष्मण साहबीच विगत केही वर्षदेखि लगातार विवाद हुँदै आएको थियो। दुवै दाजुभाइबीचको विवाद पैसाको लेनदेन, जग्गा र अन्य सम्पत्तिको लागि नभइ कुलदेवताका लागि थियो।

    कुलदेवताका लागि विवाद बढ्दै गएपछि ५० वर्षीय रामचन्द्रले आफ्नै कान्छो भाइ ४५ वर्षीय लक्ष्मणको हत्या गरे । कुलदेवता लक्ष्मणको घरमा राखिएको थियो। कुलदेवतालाई रामचन्द्र आफ्नै घरमा स्थापित गर्न चाहन्थे।



    कुलदेवताको विवाद दुवै भाइ अलग अलग भएदेखि सुरु भएको हो । सो विवाद झण्डै ५ वर्षसम्म चल्यो । विवाद लक्ष्मणको हत्यामा गएर टुंगियो ।



    जेठ २६ गते रामचन्द्रले मौका छोपे । रामचन्द्रले कुलदेवताको पिँढीलाई उखालेर आफ्नो घरमा लाने प्रयास गरे । लक्ष्मणले रामचन्द्रको त्यो चाल पाए। लक्ष्मणले भतिजाहरूको सहयोगमा आफ्नो दाइलाई रोक्ने प्रयास गरे। उनी असफल रहे।

    उनीमाथि भतिजाहरू र रामचन्द्रले मिलेर लाठीले टाउकोमा प्रहार गरे । उनी गम्भीर घाइते भए। घाइते भएका लक्ष्मणलाई उपचारका लागि रामचन्द्रको परिवारका केही सदस्य र उनकी श्रीमतीले जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगे । तर, त्यहाँ उपचार सम्भव भएन । थप उपचारका लागि लक्ष्मणलाई काठमाडौं लगियो ।

    लक्ष्मणको काठमाडौंमै ज्यान गयो । लक्ष्मणका छिमेकीहरुका अनुसार कुलदेवताका लागि दुवै भाइ एकअर्कालाई सिध्याउने योजनामै धेरै दिन पुगे । छिमेकीले धेरै पटक त्यसो हुनबाट जोगाए ।

    लक्ष्मणको शव शुक्रबार गाउँ ल्याइएको छ। अन्त्येष्टि भने गरिएको छैन। पीडितको न्यायका लागि पहल नभएसम्म शव अन्त्येष्टि हुन नदिने गाउँलेको माग छ।

    लक्ष्मणकी श्रीमती ४० वर्षीया ममता साहसमेत घाइते छिन्। श्रीमानलाई बचाउन खोज्दा उनीमाथि समेत आक्रमण भएको थियो ।

    लोहारपट्टी नगरपालिका–७ का वडाध्यक्ष गणेश ठाकुरले लक्ष्मणको उपचारका लागि सक्दो पहल गरेको बताए । हत्याका आरोपीहरू रामचन्द्र, उनकी श्रीमती र एक छोरा फरार छन् । घटनामा संलग्न अन्य दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार