Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • डीआईजी सरुवाको तयारी, गृहमन्त्री र आईजीपीबीच कुरा मिल्ला ?

    डीआईजी सरुवाको तयारी, गृहमन्त्री र आईजीपीबीच कुरा मिल्ला ?

    अनलाइन नेपाल
  • मंगलबार, १ असार २०७८
  • 6.2K
    SHARES

    काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवाको तयारी गरेको छ । हाल प्रदेश प्रहरी प्रमुख रहेका सात जना र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रमुख रहेको डिआईजीहरुको एकबर्षे कार्यकाल करिब पूरा हुन लागेपछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले सरुवाको तयारी गरेको हो ।

    अहिले एक नम्बर प्रदेश प्रहरी प्रमुखमा डिआईजी ईश्वरबाबु कार्की, दुई नम्बर प्रदेशमा डिआईजी धिरजप्रताप सिंह, बागमती प्रदेशमा डिआईजी बसन्तकुमार लामा, गण्डकी प्रदेशमा डिआईजी घनश्याम अर्याल, लुम्बिनी प्रदेशमा डिआईजी रवीन्द्रबाहदुर धानुक, कर्णाली प्रदेशमा डिआईजी बसन्तकुमार पन्त, सुदुरपश्चिम प्रदेशमा डिआईजी उत्तमराज सुवेदी र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा डिआईजी सहकुलबहादुर थापाले नेतृत्व गरिरहेका छन् ।



    स्रोतका अनुसार सिआईबीको नेतृत्व सम्हालिरहेका डिआईजी थापाको एक नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरमा सरुवा गर्ने तयारी भएको छ । थापाको त्यहाँ नभए बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा सरुवा हुने सम्भावना छ । त्यसो त अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डिआईजी अरुणकुमार बिसिले पनि एक नम्बर प्रदेश ताकेका छन् । यता, दुई नम्बर प्रदेश प्रहरी कार्यालय, जनकपुरको प्रमुख बन्ने चाहना देखाएका डिआईजी दिवेश लोहनीलाई भने गृहमन्त्री खगराज अधिकारी इन्चार्ज दिन सहमत नभएको बुझिएको छ । गृहमन्त्री अधिकारीले महानगरीय अपराध महाशाखाको प्रमुख हुँदा सुन काण्डमा मुछिएका कारण लोहनीलाई इन्चार्ज नदिने सम्भावना बढेको छ ।



    त्यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा डीआईजी प्रकाशजंग कार्कीको सरुवा गर्ने तयारी छ भने लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी मुकुन्द आचार्यलाई दिने तयारी भएको गृह स्रोतको दावी छ । आचार्यले गृहसचिव महेश्वर न्यौपानेलाई प्रभावमा पारेको बुझिएको छ । गृहसचिव न्यौपाने आर्थिक मामिलामा कमोजर मानिन्छन् ।

    उपप्रधान तथा अर्थ मन्त्री समेत रहेका एमाले महासचिव बिष्णु पौडेल तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमार्फत पनि आचार्यले लविङ गरिरहेका छन् । तथापी डिआईजी गणेश ऐर पनि लुम्विनी ताकेर बसेका छन् । तर, कार्यक्षमतामा कमजोर मानिएका ऐरको सम्बन्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नजिक भएका कारण प्रधानमन्त्री केपी शर्मा ओली नै उनलाई इन्चार्ज दिन चाहँदैनन् । कर्णाली प्रदेशमा भने डीआईजी प्रकाश अधिकारीलाई पठाउने तयारी भएको स्रोतको दावी छ ।

    त्यस्तै, केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीमा भने सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदी र दुई नम्बर प्रदेश प्रमुख डिआईजी धिरजप्रताप सिंहमध्ये एकको सरुवा हुने निश्चित छ । सुवेदीको सिआईवीमा सरुवा नभए अख्तियार पक्कापक्की जस्तै भएको स्रोतको दावी छ । बागमती प्रदेश प्रमुख डिआईजी बसन्त लामा पनि सिआईबी जान हात धोएर लागिपरेका छन् । स्रोतका अनुसार मकवानपुरका लागूऔषध कारोबारीसँग उठबस रहेका कारण आईजीपी शैलेश थापा क्षेत्री लामालाई सिआईबी पठाउँन चाहँदैनन् । तरपनि लामा सञ्चारमन्त्री नैनकला थापा पुत्र प्रतिक थापामार्फत सिआईवी जान लविङ गरिरहेका छन् । उनले सिआईबी नपाएको खण्डमा अख्तियार ताकेका छन् ।

    गण्डकी प्रदेश प्रमुख रहेका घनश्याम अर्यालले इन्चार्ज पाउने सम्भावना क्षीण बन्दै गएको छ । कुनै बेलाका चर्चित गुण्डा नाइके राजिव गुरुङ उर्फ दिपक मनाङेलाई स्यालुुट गर्दा अर्याल विवादमा तानिएका थिए ।

    यता, लुम्बिनी प्रदेशका डिआईजी रवीन्द्रबाहदुर धानुकको विशेष ब्यूरोमा सरुवा गर्ने तयारी छ । उनको अख्तियारमा पनि चर्चा छ । कार्य क्षमता र दक्षतामा अब्बल मानिएका डिआईजीत्रय धिरजप्रताप सिंह, उत्तमराज सुवेदी र रविन्द्र धानुकलाई सिआईवी, अख्तियार र विशेष ब्यूरोको इन्चार्ज दिने तयारीमा आईजीपी थापा रहेको बुझिएको छ ।

    गृहमन्त्री खगराज अधिकारीले डिआईजीहरुको सरुवाको विषयमा आईजीपी शैलेश थापा क्षेत्री र गृहसचिव महेश्वर न्यौपानेसँग एक चरणमा छलफल गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार