Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • हुँदा हुँदा मुख्यमन्त्रीको नियुक्ति पनि पार्टीको लेडरप्याडमा ?

    हुँदा हुँदा मुख्यमन्त्रीको नियुक्ति पनि पार्टीको लेडरप्याडमा ?

    अनलाइन नेपाल
  • शनिबार, ५ असार २०७८
  • 5.3K
    SHARES

    रूपन्देही । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री शंकर पोखरेललाई संसदीय दलकै लेटरप्याडमा नियुक्ति दिएको खुलासा भएको छ । सामान्य सूचनादेखि प्रेस विज्ञप्तिसम्म प्रदेश प्रमुखको लेटरप्याडमै निकाल्ने यादवले मुख्यमन्त्रीलाई भने पार्टीकै लेटरप्याडमा त्यो पनि हस्तलिखित अक्षरबाट नियुक्ति दिएका हुन् ।

    हुन त उबेला ‘चुरोटको खोलमा निवेदन लेखेर सरकारी जागिर खाएको’ भनेर भन्ने गरेको त्यसै होइन रहेछ । २१औं शताब्दिमा त मुख्यमन्त्री जस्तो पदको नियुक्ति हस्तलिखित अक्षरबाट त्यो पनि संविधान विपरित पार्टीको लेडरप्याडमा हुन्छ भने उबेला चुरोटको खोलमा निवेदन लेखर सरकारी स्थायी जागिर खानु कुनै नौलो होइन रहेछ ।



    कानुनविद्हरु संविधानको धारा उल्लेख गरी हस्ताक्षर गरेर पार्टीको लेटरप्याडमा नियुक्ति दिनु संविधानकै मर्म विपरित भएको बताउँछन् । वैशाख १९ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने भएपछि राजीनामा दिएका थिए । बिहान राजीनामा दिएर दिउँसो विशेष अधिवेशन अन्त्य गरेका मुख्यमन्त्री पोखरेललाई त्यही दिन साँझ नै प्रदेश प्रमुख यादवले मुख्यमन्त्रीमा पुनः नियुक्त गरेका थिए ।



    पोखरेल अल्पमतमा रहेको र नियुक्त नगर्न दबाब दिएका विपक्षी गठबन्धनको आग्रह वेवास्ता गर्दै नियुक्त गरेका प्रदेश प्रमुख यादवले मुख्यमन्त्रीले पेश गरेको संसदीय दलको निवेदनमा नै हातले लेखेर नियुक्त गरेका हुन् । संसदीय दलको लेटरप्याडमै मुख्यमन्त्री नियुक्त गर्नुले सरकार वैधानिक छैन भन्ने पुष्टि भएको प्रतिपक्षी दलका नेताहरुले बताएका छन् ।

    संविधानको रक्षक मानिएको प्रदेश प्रमुख जस्तो व्यक्तिले नै दलको लेटरप्याडमा हस्ताक्षर गर्नु कत्तिको कानूनसम्मत हो ? त्यो पनि समयले नै बताउँला ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार