Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • सशस्त्र प्रहरीमा सईमा प्रवेश गरेका प्राविधिकहरु डीआईजी बन्ने

    सशस्त्र प्रहरीमा सईमा प्रवेश गरेका प्राविधिकहरु डीआईजी बन्ने

    अनलाइन नेपाल
  • बिहिबार, १७ असार २०७८
  • 3.4K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलमा लामो समयदेखि अबरुद्ध उच्चपदस्थ अधिकृतको बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्र प्रहरी मुख्यालयले नायब महानिरीक्षक (डीआईजी) बाट बढुवा प्रक्रिया थालेको हो । सशस्त्रमा तीन डीआईजी पद रिक्त छ ।

    मानवस्रोत विभागमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेल आएलगत्तै बढुवा प्रक्रिया सुरु भएको हो । यसअघि मानवस्रोत विभागमा पुष्पराम केसी थिए । ७ असारको मन्त्रिपरिषद बैठकले उनलाई कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरेको थियो । उनीमाथि बढुवा प्रक्रिया अघि बढाउन नसकेको आरोप लाग्दै आएको छ ।



    एआईजी पौडेलले डीआईजी बढुवाका लागि बुधबार सूचना प्रकाशित गरेका छन् । एआईजी पौडेलद्वारा जारी सूचनामा तीन दिनभित्र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि बुझाउन भनिएको छ । एआईजी पौडेल गृह मन्त्रालयले गठन गरेको बढुवा समितिको सदस्य सचिव हुन् ।



    सशस्त्र प्रहरी नियमवाली २०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहने उल्लेख छ ।

    बढुवाका लागि दाबेदार एसएसपीहरू चर्को लबिङमा लागेका छन् । यद्यपि, अहिलेको बढुवामा पर्ने कुनै पनि एसएसपी भावी नेतृत्वमा भने पुग्न सक्दैनन् । अहिले जति पनि डीआईजी हुन्छन्, ती सबै जना नेपाल प्रहरीमा नायव निरीक्षक (सई) मा प्रवेश गरेका थिए । सशस्त्रमा आएपछि उनीहरु गैरप्राविधिक बनेका हुन् ।

    बढुवाको पहिलो र दोस्रो नम्बरमा २० पुस २०७५ मा एसएसपी भएका कालीदास धौबजी र कुमार न्यौपाने पर्छन् । धौबजी र न्यौपाने नेपाल प्रहरीमा प्राविधिकका रूपमा सईबाट सुरु गरेका व्यक्ति हुन् । त्यसपछिका दाबेदार विदुर खड्का रहेका छन् ।

    धौबजी २५ असोज २०५२, न्यौपाने १ फागुुन २०५२ र खड्का १ भदौ २०५० मा नेपाल प्रहरीको सईमा प्रवेश गरेका थिए । यसैगरी, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक पनि डीआईजीको दौडमा छन् । यी सबै जना नेपाल प्रहरीमा प्राविधिक सईमा प्रवेश गरेका थिए ।

    बढुवा समितिले बढुवा सिफारिस गर्दा कार्यक्षमताको मूल्यांकनका आधारमा गर्छ । जसमा कार्यसम्पादन मूल्यांकनबापत ४० अंक, ज्येष्ठताबापत २० अंक, भौगोलिक क्षेत्रमा काम गरेबापत ८ अंक, शैक्षिक योग्यता बापत ७ अंक, तालिमबापत १३ अंक, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीबापत ५ अंक, विभूषणबापत २ अंक र बढुवा समितिले ५ अंक दिन पाउने व्यवस्था छ । बढुवा समितिले तयार पारेको सिफारिस गृह मन्त्रालयले मन्त्रिपरिषद्मा लगेपछि मन्त्रिपरिषद्ले पास गर्ने व्यवस्था छ ।

    स्रोतका अनुसार, डीआईजी बढुवालगत्तै सशस्त्र मुख्यालयले नायव उपरीक्षक (डीएसपी)सम्मको बढुवा अघि बढाउने छ । सशस्त्रमा हाल डीएसपीदेखि नायव महानिरीक्षक ९डीआईजी०सम्म १०६ पद रिक्त छ । राजधानी दैनिकमा खबर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार