Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रहरीको लेखापाल सरुवामा कांग्रेस नेताका भान्जादेखि सालासम्मको चलखेल

    प्रहरीको लेखापाल सरुवामा कांग्रेस नेताका भान्जादेखि सालासम्मको चलखेल

    अनलाइन नेपाल
  • मंगलबार, १२ साउन २०७८
  • 9.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले असार अन्तिममा गर्नुपर्ने लेखापाल र लेखा अधिकृतहरुको सरुवा साउनको १० गतेसम्म गर्नसकेको छैन । चर्को राजनीतिक दबाब परेकाले प्रहरीको लेखाको सरुवा नसकेको खुलेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी)को लेखा अधिकृतका लागि नेता देखि सेनापतिसम्मको पावर भिडाएपछि सरुवा नै अवरुद्ध हुन पुगेको छ । एकेडेमीका लेखा अधिकृत विजय कुँवरको २ वर्ष अवधि पुगिसकेको छ ।

    लेखा अधिकृतको दरबन्दी रहेको प्रहरीका महानगरीय आयुक्त कार्यालय र एकेडेमी आकर्षक मानिन्छन् । महानगरीयका लेखा अधिकृतको २ वर्ष नपुगेकाले एकेडेमीमा जानका लागि लेखा अधिकृतहरुले राजनीतिकदेखि प्रशासनिक पहुँच प्रयोग गर्दै आएका छन् ।



    एकेडेमीको लेखा अधिकृतका लागि विगतमा लेखापाल भएर अकुत कमाएर सईहरु नै बढी लागेका छन् । त्यसरी लाग्नेमा शेखर मल्ल, अपूर्व ढुंगाना, सुरेन्द्र केसी, रविन्द्र थापा, कृष्ण ढकाल, फणिन्द्र रानाभाटलगायत छन् । मल्ल ललितपुर जिल्ला प्रहरी कार्यालय, एकेडेमीको कुकुर शाखालगायतका आकर्षक स्थानमा बसी कुस्त कमाएर ६ वर्षे मापदण्ड लागु भएपछि लेखापालबाट बाहिरिएका थिए ।



    इन्स्पेक्टर बढुवा भएपछि कपन प्रभागमा हुँदा जुवा अखडा सञ्चालक राजकुमार अधिकारी ‘खरानी’ समूहलाई संरक्षण गरेर व्यक्तिगत फाइदा लिएको आरोप उनीमाथि लागेको थियो । लेखामा बस्दा हुने अकुत कमाई देखेका उनले पुनः एकेडेमीको लेखा अधिकृत हुन अर्थमन्त्री जनार्दन शर्माको शक्ति प्रयोग गरिरहेका छन् । मल्ल रुकुमकै भएकाले मन्त्री शर्मालाई एकेडेमीको लेखा अधिकृत बनाइदिन हारगुहार गरिरहेका छन् ।

    त्यस्तै एकेडेमीमा सरुवा हुन अर्का शक्तिशाली इन्स्पेक्टर अपूर्व ढुंगाना पनि लागेका छन् । उनी सार्वजनिक लेखा समितिका सभापति भरत साहमार्फत गृहमन्त्रीलाई दबाब दिइरहेका छन् । ढुंगाना साहका साला हुन् । भिनाजुमार्फत उनले एकेडेमीको लेखा अधिकृतका लागि गृहमन्त्री बालकृष्ण खाँणलाई भन्न लगाइसकेका छन् । लेखापाल हुँदा नुवाकोट, बारा, अपराध अनुसन्धान विद्यालयजस्ता ठाउँमा बसी कुस्त कमाउने मध्येकै हुन् उनी । अपराध अनुसन्धान विद्यालयमा हुँदा बालाजुमा मदिरा पिएर पब्लिकसँग विवाद गरेपछि उनी थुनामै परेका थिए । त्यसपछि उनलाई लेखाबाट निकालिएको थियो ।

    इन्स्पेक्टर बढुवापछि बाराको सिम्रौनगढ इलाका प्रहरी कार्यालयको इञ्चार्ज भएको बेला विवाद गरेपछि ३ महिनामै तानिएका थिए । उनलाई नसिहत समेत दिइएको थियो । लेखापाल हुँदा काठमाडौंमै लामो समय बसेका सुरेन्द्र केसी, एकेडेमीमा सरुवा हुन मामा पूर्णबहादुर खड्काको सोर्सफोर्स लगाइरहेका छन् । नेपाली कांग्रेसका महामन्त्री खड्काले भाञ्जोलाई एकेडेमीमा लेखा अधिकृतमा सरुवा गरिदिन मन्त्री खाँणलाई सिफारिस गरिसकेका छन् । लेखापाल हुँदा सबैभन्दा बढी केसीको नाम प्रहरीमा लिने गरिन्छ । उनी ५०(६० लाखको गाडी चढ्छन् । सुर्खेतमा १२-१५ करोडको होटल खोलेका छन् ।

    लागुऔषध दूव्र्यसनीको सुधारका लागि खोलिएको आसराका इन्स्पेक्टर रविन्द्र थापाले प्रधानसेनापति पूर्णचन्द्र थापामार्फत एकेडेमीमा जान भनसुन गराएका छन् । आसराको अध्यक्ष आईजीपीको श्रीमती हुने भएकाले थापाले उनीमार्फत पनि पहल गरिरहेका छन् । हेडक्वार्टरको प्रबन्धमा रहेका थापा पनि एकेडेमी जान एसएसपी दीपक थापामार्फत लागेका छन् ।

    त्यसैगरी, गृहमन्त्री बालकृष्ण खाँणका दाजु पूर्व डीएसपी हरिकृष्ण खाँणमार्फत इन्स्पेक्टर फणिन्द्र रानाभाटले पनि एकेडेमीको लेखा अधिकृतको लागि पहल गरिरहेका छन् । मन्त्रीका दाजु हरिकृष्णसँग लेखापाल बसेकाले त्यही सम्बन्धका आधारमा पनि उनी एकेडेमीमा जाने प्रयासमा छन् ।

    एकेडेमीमा वार्षिक ५०-६० करोड बजेट हुन्छ । निर्माणका काम पनि भइरहेका छन् । पनौतीमा एकेडेमीको भवन बनिरहेको छ । यी सबैमा मनग्ये कमिसन आउने भएकाले लेखा अधिकृतहरुको आकर्षणको केन्द्र बनेको प्रहरी स्रोत बताउँछ ।

    यो आर्थिक वर्षमा ६ वर्षको नियमको आधारमा ६८ लेखापाल लेखाबाट बाहिरिँदैछन् । सई दर्जाका ६८ लेखापाल मापदण्डका आधारमा बाहिरिएपछि ती पदमा जान चर्को प्रतिस्पर्धा भइरहेको छ । ६८ लेखापालको ठाउँमा जानका लागि पनि राजनीतिक देखि प्रशासनिक दबाब प्रहरीलाई परेको छ । सबैभन्दा चर्को दबाब ट्राफिक प्रहरी महाशाखाका लागि छ । ट्राफिक प्रहरी महाशाखाका लेखापाल ६ वर्षे नियमका आधारमा लेखा समूहबाट बाहिरिने भएपछि त्यहाँ सरुवा हुन चर्को चलखेल भइरहेको छ । साँघु साप्ताहिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार