Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पुल भासिँदा नुवाकोटमा यातायात अवरुद्ध

नुवाकोट । अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पु¥याएको छ। बुधबार साँझ परेको वर्षापछि आएको बाढीले नुवाकोटको मैथली तालिम केन्द्रको विदुरतर्फको खोल्सामा रहेको पुलमा क्षति पुगेसँगै सडक पूर्णरूपमा ठप्प भएको छ। पुलमा क्षति पुगेसँगै नुवाकोटको बट्टारबाट विदुर जाने सडक बन्द हुँदा बट्टारबाट जिल्ला सदरमुकामसहित विभिन्न पालिका र रसुवा जाने यातायातको सेवा बट्टारमा नै रोकिएका छन्।

बुधबार राति करिब ९ बजेतिर पुलको जगमा क्षति पु¥याएसँगै सडक पूर्णरूपमा अवरुद्ध हुँदा विदुरबाट मैथली ब्यारेक हुँदै बट्टारतर्फ जाने सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिए। उनका अनुसार पुल भासिएसँगै सडकको दुवैतर्फ विच्छेद भएको छ। पैदलयात्रुलाई समेत आउजाउ गर्न कठिन भएको छ।

पुल भासिएसँगै विदुर–बट्टारको यातायात अवरुद्ध भएर आपतकालीन सेवा दिने सवारी साधनसमेत आउजाउ हुन सकेका छैनन्। उपयुक्त विकल्पको सडक नहुँदा मर्मतसम्भार गरेर पुनःसञ्चालन नभएसम्म सवारी साधन रोकिनुपर्ने बाध्यता छ।

क्षति पुगेको पुल र अवरोध भएको सडक अहिले बिहानबाट खुलाउन प्रयास गरिने डिभिजन सडक कार्यालयका प्रमुखसमेत रहेका ‘गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए। उनका अनुसार सडक डिभिजन र योजना कार्यालयका उपकरण र जनशक्ति परिचालन गरेर जतिसक्दो छिटो अवरुद्ध सडक पुनः सञ्चालन गर्न प्रयास गरिने छ।

यसैबीच बुधबार साँझ परेको वर्षाले जिल्लाको अन्य स्थानमा पनि पहिरो गई घरमा क्षति पुगेका विवरण सङ्कलन हुने क्रममा रहेको नुवाकोट प्रहरीले जनाएको छ। चट्याङसहितको वर्षाले पानीको मुहानका स्रोत बढाएका छन् भने खोल्सा, खोला र नदीमा पानीको बहाव बढेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077