Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

घाटमा पुर्‍याएको शवले मुख खोलेको भन्दै अस्पतालमा तोडफोड, चार जना प्रहरी नियन्त्रणमा

काठमाडौं । बिरामीको मृत्यु भएपछि आफन्तहरूले वीरगन्जको भवानी अस्पतालमा तोडफोड गरेका छन्। जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै वीरगञ्जको लिंक रोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड भएको हाे ।

मृतकका आफन्त र गाउँलेहरुले अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि समेत आक्रमण गरेका छन् । इमर्जेन्सी कक्षमा समेत पसेर उनीहरुले हो हल्ला गर्नुको साथै साइनबोर्ड पनि फालिदिएका छन् ।

प्रदशर्नकारीको आक्रमणबाट एक चिकित्सक र नर्सलाई चोट लागेको अस्पतालले जनाएको छ । तोडफोडका क्रममा सीसाले लागेर एक बिरामी कुरुवा महिला घाइते भएकी छन् । अस्पतालमा तोडफोड भएको सूचना पाएपछि पुगेको प्रहरी र प्रदर्शनकारीबीच समेत केहिबेर झडप भएको थियो । प्रहरीले लाठीचार्ज गरेर भीडलाई तितर वितर पारेको थियो ।

अस्पतालमा तोडफोड गरेको र चिकित्सकहरूमाथि हातपात गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा विरगञ्ज महानगरपालिका–१६ बस्ने ३२ वर्षीय राकेश राम, ५४ वर्षीय सुरेश राम, २२ वर्षीय अच्छेकुमार राम र बारा परवानीपुर गाउँपालिका–४ बस्ने २८ वर्षीय भिम राम पक्राउ परेका छन्।

यस्तो थियो घटना विवरण
वीरगन्ज महानगरपालिका–२० मनियारी बस्ने ३८ वर्षीया रमिता देवीको मुटुको समस्या भएपछि उपचारको लागि वडा १५ मा रहेको भवानी अस्पतालमा ल्याइएको थियो।

आइतबार बिहान साढे ११ बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए। चिकित्सकले मृत घोषणा गरेपछि आफन्तहरूले शवलाई घाटमा पुर्याएका थिए । तर, घाटमा नै रमिताले मुख खोलेको भन्दै उनीहरुले साढे १ बजे पुनः अस्पताल ल्याएका थिए ।

चिकित्सकले फेरि नि मृत्यु भइसकेको भनेपछि आफन्तहरूले आक्रोशमा आएर तोडफोड गरेको प्रहरीले जनाएको छ । उनीहरूले अस्पतालमा विवाद गरी कार्यरत डाक्टर र नर्ससँग हातपात गरेको पनि प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077