Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • इचङ्गुनारायण मन्दिरबाट राधाकृष्णका चार वटा मूर्ति चोरी

    इचङ्गुनारायण मन्दिरबाट राधाकृष्णका चार वटा मूर्ति चोरी

    अनलाइन नेपाल
  • बुधबार, २० साउन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नागार्जुन नगरपालिका–३ मा रहेको इचङ्गुनारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी भएका छन् ।

    लिच्छविकालीन मन्दिरमा आज बिहान पूजारी श्रीमद् राजोपाध्याय पूजा गर्न जाँदा राधाका दुई र कृष्णका दुई गरी चार मूर्ति नपाइएपछि चोरी भएको थाहा पाइएको वडाध्यक्ष प्रेमलाल श्रेष्ठले बताए । मन्दिरमा रहेका सुनचाँदी नहराएको तर पित्तल एवं ढलोटबाट बनेका राधा र कृष्णका साना चार मूर्ति चोरी भएका छन् ।



    दुई तले मन्दिरको तल्लो तलामा इचङ्गुनारायणको मूर्ति छ । चोर मन्दिरको माथिल्लो तलाबाट छिरेको हुनसक्ने महानगरी प्रहरी वृत्त स्वयम्भूले जनाएको छ । माथिल्लो तलाको ग्रील फोरेर तल्लो तलामा झरी मूर्ति चोरी गरिएको घटनाका विषयमा थप अनुसन्धान भइरहेको वृत्तका प्रहरी प्रमुख मिलन केसीले जानकारी दिए ।



    मन्दिरमा रहेका सुन एवं चाँदीका माला भने त्यहीँ भेटिएको उनले बताए । अहिलेसमेत तीन पटक मन्दिरबाट मूर्ति चोरी भएको स्थानीयवासी बताउँछन् । पहिलो पटक चोरी हुँदा चोर समातिएको थियो । दोस्रो पटक मूर्ति नभेटिएपछि नयाँ मूर्ति बनाएर राखिएको थियो । त्यसबेला मूर्तिसँगै मन्दिरका दुई टुँडाल पनि चोरी भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    भक्त वाइके पाण्डे र सूर्यमान श्रेष्ठले इचङ्गुनारायण मूर्तिको वरिपरी राख्ने गरी करीब आठ मूर्ति चढाएका थिए । ऐतिहासिक, पुरातात्विक एवं धार्मिक, सांस्कृतिक दृष्टिले महत्वपूर्ण मन्दिर भए पनि सुरक्षाको व्यवस्था हुन नसक्दा पटकपटक चोरी हुने गरेको स्थानीयवासी बताउँछन् ।

    काठमाडौँ उपत्यकाका चार नारायणमध्येको कान्छो नारायणका रुपमा पूजिने इचङ्गुनारायणमा हरिशयनी एकादशी र हरिबोधनी एकादशीका दिन विशेष मेला लाग्छ । हरिशयनीदेखि हरिबोधनी एकादशीका चार महिनामा पनि मन्दिरमा धेरै भक्तजन आउने गरेकामा गत वर्ष र यसवर्ष भने कोरोना महामारीका कारण केही स्थानीय भक्तजनमात्र आउने गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार