Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एमालेसँगै जसपा पनि टुक्रिदै, ठाकुर पक्षको पार्टीको नाम जसपा नेपाल लोकतान्त्रिक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेको राजनीतिक दल सम्बन्धि अध्यादेश जारी गरेसँगै पार्टीलाई टुक्रा पार्न तयार भएर बसेका एमालेका माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षलाई ‘सुनमा सुगन्ध’ नै मिलेको छ ।

देउवा नेतृत्वको सरकारले राजष्ट्रपति समक्ष राजनीतिक दल सम्बन्धि अध्यादेश सिफारिस गरेकै दिन हिजो नै नयाँ पार्टी गठन गर्ने र त्यसका लागि तयार रहन भन्दै आफ्ना सांसदहरुलाई आग्रह गरेका नेपाल छिटै नै नयाँ पार्टी गठनको तयारीमा छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई कारवाही गर्ने पत्र हिजै संसद सचिवालयमा पठाएपछि नेपाल समूहका सांसदहरु नयाँ दल दर्ताको तयारीमा जुटेका हुन् ।

दल दर्ता गर्नका लागि नेपाल समूहका नेताहरु राष्ट्रपतिबाट दल विभाजन सम्बन्धी अध्यादेश जारी हुने पर्खाइमा रहेका उनीहरुलाई अब भने बाटो खुलेको छ ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि नेपाल पक्षले नयाँ दल दर्ताको तयारी गरेको हो । नयाँ दल दर्ताका लागि विधान, राजनीतिक प्रतिवेदन, तथा नामसमेत तय भइसकेको स्रोतले जनाएको छ।

नेपाल पक्षले आफ्नो पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी एमाले (क्रान्तिकारी) वा नेपाल कम्युनिस्ट पार्टी समाजवादीमध्ये एउटा राख्ने तयारी गरेको छ । पार्टीको चुनाव चिन्ह भने ताराभित्र हँसिया हथौडा, कलश, दियो, पुस्तकमध्ये एउटा हुन सक्ने बताइएको छ ।

त्यसो त केपी ओली नेतृत्वको सरकारले यहि अध्यादेश ल्याउन कोशिस गर्दा नै फुट्ने तयारीमा रहेको जसपाका ठाकुर पक्षले पनि नयाँ पार्टी गठन गर्ने भएको छ । पार्टीको निर्णय विपरित ओली नेतृत्वको सरकारमा सहभागी भएको ठाकुर पक्षका नेताहरुको मन्त्र पद भने सर्वोच्च अदालतले खारेज गरेको थियो ।

नयाँ पार्टी गठनका लागि ठाकुर पक्ष अहिले बैठक बसिरहेको छ । जसपाका एक नेताका अनुसार ठाकुर पक्षले पार्टीको ननाम जसपा नेपाल (लोकतान्त्रिक) राख्ने तयारी गरेको छ । पार्टीको चुनाव चिह्न साइकल प्रस्ताव गरिएको ति नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077