Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बाग्लुङका व्यवसायीले लगाए कोभिड–१९ विरुद्धको खोप

    बाग्लुङका व्यवसायीले लगाए कोभिड–१९ विरुद्धको खोप

    अनलाइन नेपाल
  • शनिबार, ५ भाद्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    बाग्लुङ । अत्यावश्यकीय सेवा क्षेत्रका व्यवसायीले कोभिड–१९ विरुद्धको खोप पाएका छन्। खाद्य, किराना, तरकारी, फलफूल, ग्यास, दूध, माछामासु, होटल व्यवसायीलगायतले खोप लगाएका हुन्। कसैले पूर्ण मात्रा पाइसके भने कोही दोस्रो खोपको प्रतिक्षामा छन्।

    उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले छ सयभन्दा बढी व्यवसायीले खोप लगाइसकेको बताए। ‘व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा खोप लगाउन पाउने प्रबन्ध गरिएको छ,’ उनले भने, ‘सञ्चालकलाई मात्र नभएर व्यवसायमा आबद्ध कर्मचारी र कामदारका लागि पनि खोप माग गरेका छौँ।’



    अत्यावश्यक सेवामा संलग्न व्यवसायीलाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराइएको अध्यक्ष राजभण्डारीको भनाइ छ। संघले जिल्ला खोप समन्वय तथा अनुगमन समितिसँग मिलेर व्यवसायीलाई खोप दिलाउन पहल गरेको थियो।



    यसअघि होटल तथा रेष्टुराँ व्यवसायी संघलगायत व्यवसायीका संघ संगठनले खोप पाउनुपर्ने माग गर्दै आएका थिए। पहिले छुटेका अत्यावश्यक सेवामा संलग्न व्यवसायीलाई आजदेखि खोप लगाउन थालिएको बाग्लुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए।

    सञ्चालकको व्यवसाय दर्ता प्रमाणपत्र र सक्कल नागरिकताका आधारमा खोप दिइएको उनको भनाइ छ। व्यवसायीसँगै पहिलो मात्रा लगाएको २१ दिन पुगेका व्यक्तिलाई यही भदौ ८ र ९ गते दोस्रो खोप लगाइने भएको छ।

    यस्तै‚ खोप लगाउन छुटेका वित्तीय संस्थाका कर्मचारी, स्नातक र स्नातकोत्तर तहको परीक्षामा सहभागी हुने विद्यार्थी तथा कोभिसिल्डको पहिलो मात्रा लगाई दोस्रो खोप लगाउन बाँकी ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई पनि खोप दिन सुरु गरिएको छ। यहाँका सबै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालित छ।

    स्वास्थ्य कार्यालयका खोप सुपर भाइजर राजु खत्रीका अनुसार हालसम्म ५९ हजार ९३५ ले पहिलो र ४७ हजार ९०७ ले खोपको दुवै मात्रा लगाएका छन्। अझै करिब एक लाख जनसङ्ख्यालाई खोपको पहुँचमा ल्याउन बाँकी रहेको सुपरभाइजर खत्रीको भनाइ छ।

    खोप अभियानकै बीचमा कोरोना सङ्क्रमणको जोखिम बढेपछि जिल्लामा अहिले कडा निषेधाज्ञा छ। गत साउन २८ गतेदेखि जारी निषेधाज्ञाका कारण अत्यावश्यकबाहेकका सबै सेवा क्षेत्र, बजार, व्यवसाय र यातायात बन्द छन्। -रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार