Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • एनसेलको ७२ अर्ब घोटालामा मुछिएका पौडेललाई जनार्दनले यसरी बनाए महानिर्देशक

    एनसेलको ७२ अर्ब घोटालामा मुछिएका पौडेललाई जनार्दनले यसरी बनाए महानिर्देशक

    अनलाइन नेपाल
  • सोमबार, ७ भाद्र २०७८
  • 7.3K
    SHARES

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ठूला करदाता कार्यालयको प्रमुख हुँदा एनसेलको पूँजीगत लाभकर छलीमा मुछिएका शोभाकान्त पौडेललाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएका छन् ।

    अर्थमन्त्री शर्माले गत बिहीवार आन्तरिक राजस्व विभागको महानिर्देशकमा  पौडेल र भन्सार विभागको महानिर्देशकको जिम्मा नारायण सापकोटालाई दिएका हुन ।  पौडेल ठूला करदाता कार्यालयको प्रमुख छँदा एनसेलको ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छली प्रकरणमा मुछिएका थिए। त्यतिखेर पौडेलकै योजनामा एनसेलले लाभकर छलेको समाचार बाहिर आएको थियो ।



    पछि यो प्रकरण सर्बोच्च अदालतसम्म पुगेर निरुपण भएको थियो।



    सापकोटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको प्रमुख हुुँदा ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन तस्करी भएको थियो । जसमा भन्सारका अधिकृतदेखि प्रहरीका एसएसपीसम्म कारबाहीमा परेका थिए ।

    पौडेल एनसेल खरिद बिक्री गर्दा नेपाललाई प्राप्त हुने ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छलीका मुख्य योजनाकार चुडामणि शर्माका विश्वापात्र पनि मानिन्छन।

    तर, अहिले उनी अर्थमन्त्री शर्माको रोजाइमा परे। स्रोतका अनुसार अर्थमन्त्री शर्मालाई एक बिचौलियाले एनसेलका सिइओ एन्डि चोङसँग भेटघाट गराइदिएपछि पौडेललाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाउन शर्मा राजी भएका थिए।  पौडेललाई महाननिर्देशक बनाउनका लागि अर्थमन्त्री शर्माले एनसेलका सिइओ एन्डिमार्फत ठुलो आर्थिक लाभ लिएको अर्थ मन्त्रालय स्रोतको दाबी छ।

    पौडेल ठूला करदाता कार्यालयका प्रमुख भएको बेला एनसेलको लाभकर छली भएको थियो । एनसेलको लाभकर नतिरी टेलियासोनेरालाई नेपालबाट भगाउने भूमिका समेत पौडेलनै खेलेका थिए ।

    चुडामणि शर्मा र पौडेलकै योजनामा ७२ अर्ब लाभकर छली गर्ने टेलियासोनेरालाई नेपालबाट भगाइएको थियो । ठूला करदाता कार्यालयको प्रमुखका रुपमा पौडेलको भूमिका एनसेलबाट लाभकर असुलीतिर भन्दा लाभ लिनेमै केन्द्रित रहेको थियो ।

    एनसेल खरिद बिक्री हुँदा २०७२ मा ठूला करदाता कार्यालयका प्रमुख थिए शोभाकान्त पौडेल । २०७२ चैत ३० मा टेलियासोनेरा सेयर किनबेचको सम्पूर्ण प्रक्रिया टुंग्याएर नेपालबाट बाहिरिएपछि मात्र ठूला करदाताका तत्कालीन प्रमुख पौडेलले एनसेललाई पूँजीगत लाभकर तिर्न पत्र लेखेका थिए ।

    १ सय ३० अर्ब रुपैयाँको उक्त सेयर किनबेचमा पूँजीगत लाभकर तिराउनुपर्ने कुरा पहिल्यै थाहा भएर पनि टेलियासोनेराले एजियटालाई बिक्री गरेर बाहिरिसकेपछि पत्र काटिएको थियो । लाभकर बिक्री गर्ने कम्पनीले तिर्ने हो, बिक्री गर्ने कम्पनी देशबाट बाहिरिसकेपछि पौडेलले पत्र काटेर असुली गर्ने हास्यास्पद काम गरेका थिए । टेलियासोनेराले सेयर बिक्रीबापत सबै रकम लिएको भोलिपल्ट ठूला करदाता कार्यालयले ‘आयकर ऐन २०५८ को दफा ९५ ‘क’ बमोजिम अग्रिम कर असुल गरी दाखिला गर्न’ एनसेललाई चिठी पठाएको थियो ।

    ठूला करदाता कार्यालयले जुन पत्र सेयर किनबेच प्रक्रिया टुंगिसकेपछि पठाएको थियो, त्यो एक साताअघि मात्र पठाएको भए स्थिति अर्कै हुनसक्थ्यो । किनबेच नटुंगिँदै अग्रिम करसम्बन्धी चिठी पाएको भए त्यसको समाधान नखोजी टेलियासोनेराले उन्मुक्ति पाउने थिएन । तर, चुडामणि शर्मा र शोभाकान्त पौडेलले टेलियासोनेरालाई भाग्ने अवसर दिएर त्यसपछि मात्र पत्र काटेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार