Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मणिपालमा अबैध बाटोबाट छिर्यो बतास समूह, भारतीय कम्पनीले नेपालको सम्पत्ति विक्री गर्दा सरकार बेखबर

    मणिपालमा अबैध बाटोबाट छिर्यो बतास समूह, भारतीय कम्पनीले नेपालको सम्पत्ति विक्री गर्दा सरकार बेखबर

    अनलाइन नेपाल
  • सोमबार, १४ भाद्र २०७८
  • 4.4K
    SHARES

    पोखरा । ४९ वर्षपछि सरकारलाई स्वामित्व हस्तान्तरण गर्ने द्विपक्षीय सम्झौताविपरीत मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले कास्कीको पोखरामा सञ्चालित मणिपाल शिक्षण अस्पताल निजी क्षेत्रलाई बिक्री गरेको छ ।

    भारतीय कम्पनी मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले बापो (बतास–पौडेल) होल्डिङ्सलाई ३ अर्ब २५ करोडमा मेडिकल कलेज बिक्री गरेको हो । भारतीय कम्पनीले मेडिकल कलेज निजी क्षेत्रलाई विक्री गर्दा नेपाल सरकारलाई भने अत्तोपत्तो छैन ।



    नेपाल सरकार र मणिपाल शिक्षण अस्पताल सञ्चालकबीच ४९ वर्षपछि अस्पतालको स्वामित्व नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो । तर, २२ वर्ष अगावै मणिपाल ग्रुपले सरकार पक्षलाई थाहै नदिई बिक्री गरेको छ ।



    निर्माण–सञ्चालन–हस्तान्तरण (बुट) मोडलमा बनेको अस्पतालले सरकार पक्षलाई थाहै नदिई शुक्रबार भर्चुअल माध्यमबाट शेयर खरिद सम्झौता (एसपीए) गरेको बताइएको छ । जसअनुसार ३ अर्ब २५ करोड रुपैयाँ लिएर भारतीय समूहले बापो होल्डिङ्सलाई मणिपाल सुम्पिएको हो ।

    होल्डिङ्समा आनन्दराज बतास अध्यक्ष रहेको बतास अर्गनाइजेसनको ६० प्रतिशत र नारायण पौडेल अध्यक्ष रहेको अटोवेज समुहको ४० प्रतिशत शेयर लगानी रहेको छ । त्यसैले यो समूहले आफ्नो नाम बापो होल्डिङ्स राखेको छ ।अस्पतालको अध्यक्षमा बतास र उपाध्यक्ष पौडेल रहेका छन् । बतासले आफ्नो सम्बन्ध प्रधानमन्त्री शेरबाहादुर देउवा र आरजु राणासँग राम्रो रहेको भन्दै भारतीय समूहलाई कन्भिन्स गरेर मणिपाल लिन सफल भएका हुन् ।

    सन् १९९२ मा भारतीय पक्षले नेपालमा मेडिकल कलेज सञ्चालनका लागि शिक्षा मन्त्रालयसँग सम्झौता गरेको थियो । सम्झौता बमोजिम सरकारले फूलबारी र दीपमा १ सय ६० रोपनी जमिन ४९ वर्षका लागि भाडामा उपलब्ध दिएको थियो । सन् १९९४ मा मणिपाल सञ्चालनमा आएपछि उक्त समयावधि सुरु भयो ।

    तत्कालीन शिक्षा मन्त्री गोविन्दराज जोशी र मणिपाल समूहका अध्यक्षबीच सम्झौता भएको थियो । सम्झौता पत्रमा सन् २०४३ मा मणिपाल शिक्षण अस्पताल नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने उल्लेख छ । तर, भारतीय समूहले नेपाल सरकारलाई थाहा नै नदिई उक्त मेडिकल कलेज विक्री गर्दा समेत नेपाल सरकार मौन छ ।

    मेडिकल कलेज विक्रीबारे शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपिलिया अनविज्ञ छन् भने मणिपाल शिक्षण अस्पतालमा कार्यरत कर्मचारीलाई समेत अस्पताल विक्री बारे अत्तोपत्तो छैन ।

    हाल अस्पतालको मुख्य संरचना रहेको ४० रोपनी जमिनको लालपूर्जा मणिपालकै नाममा छ । बाँकी १ सय ६० रोपनी सरकारी जमिनमा होस्टेल, कर्मचारी क्वार्टर, खेलकुद मैदानलगायत संरचना छन् ।

    उनीहरुले सरकार र तत्कालिन मणिपाल समूहबीच भएको सम्झौतालाई लुकाएर अर्बौंको राज्यको सम्पत्ति किनबेच गरेका छन् ।

    सम्झौता अनुसार अबको २२ वर्षपछि नेपाल सरकारलाई अस्पतालको स्वामित्व हस्तान्तरण गरेर रित्तो हात फर्कनु पर्ने भएपछि मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले नेपालको बापो होल्डिङ्गससँग ३ अर्ब २५ करोड रुपैयाँ लिएर सुटुक्क भारततिर फर्केको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार