Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सहकारीको आवरणमा शंकास्पद कारोबार, म:म पसलबाट उदाएका भण्डारीले कसरी जोडे अर्बौंको सम्पति ?

    सहकारीको आवरणमा शंकास्पद कारोबार, म:म पसलबाट उदाएका भण्डारीले कसरी जोडे अर्बौंको सम्पति ?

    अनलाइन नेपाल
  • सोमबार, २१ भाद्र २०७८
  • 6.5K
    SHARES

    काठमाडौं । मिटरब्याजी महेश सिंह र माओवादी युद्धकालको कालोधनको शंकास्पद कारोबार गर्ने श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा चरम आर्थिक घोटाला भएको पाइएको छ ।

    सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले मनोमानी रुपमा करोडौँ रकम अपचलन गर्ने गरेको पाइएको हो । सर्वसाधारणलाई १८ देखि २० प्रतिशतसम्म ब्याज असुली गर्दै आएको उक्त सहकारीले आफ्नै प्रमुख कार्यकारी निर्देशकलाई भने ३ प्रतिशत ब्याजमा ऋण दिएर करोडौँ घोटाला गरेको पाइएको हो ।



    कार्यकारी निर्देशक भण्डारीले ऋणीको सम्पत्ति हत्याउन २१ प्रतिशतसम्म ब्याज र १५ प्रतिशत पेनाल्टी लगाएर मिटरब्याज शैलीमा असुली गर्र्दै आएका छन् । तर, आफ्ना लागि भने तीन प्रतिशत ब्याजमा सहकारीबाट ऋण निकालेको स्टेटमेन्ट आर्थिक दैनिकले फेला पारेको छ ।



    स्टेटमेन्टअनुसार भण्डारीले २०७२ चैत २९ गते श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीबाट तीन प्रतिशत ब्याजमा एक करोड ८५ लाख रुपैयाँ ऋण निकालेका छन् । उक्त रकम उनले घरजग्गामा दलालीमा लगानी गर्न निकालेका हुन् । सहकारी बैंकको नाममा फेरि सर्वसाधारणलाई ठगी गर्न लागिपरेका उनले सहकारीमै तीन प्रतिशतमा ऋण अपचलन गरेको भेटिएको हो । यसले उनीसहित कांग्रेस नेता आनन्द ढुंगानाले सञ्चालन गर्ने भनेको सहकारी बैंंकमा समेत नयाँ शैलीको अपचलन हुने आशंका बढाएको छ ।

    आर्थिक दैनिकमा उपलब्ध भएको स्टेटमेन्टअनुसार सर्वसाधारण ऋणीले २१ प्रतिशतसम्म ब्याज र १५ प्रतिशत पेनाल्टी बुझाएका छन् । बुझाउन नसक्नेको घरजग्गा आफ्नै कम्पनीमार्फत धितो कम मूल्यांकन गरेर सकार्ने गरेको तथ्य समेत भेटिएको छ ।

    श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट २०६७ मा ऋण लिएकी अन्जु पुरीले भने २१ प्रतिशत ब्याज र १५ प्रतिशत पेनाल्टी बुझाएको स्टेटमेन्टमा देखिन्छ । उनले ब्याज बुझाउन नसकेको केही महिनापछि ऋणीलाई थाहा नै नदिई सन् २०१७ जुलाई २० मा भण्डारीले पुरीको नाममा रहेको २१ रोपनी जग्गा कौडीको भाउमा लिलामी गरेर आफ्नै कम्पनीमार्फत बेचबिखन गरेको पाइएको छ ।

    यता भण्डारीले भने श्री लालीगुराँस सहकारीबाटै सन् २०१७ जुलाई २० मा १० लाख रुपैयाँ निकालेको अर्को स्टेटमेन्टमा देखिन्छ । २०७४ पुस ४ गते श्री लालीगुराँस सहकारीबाट भण्डारीले तीन करोड ५० लाख रुपैयाँ ऋण निकालेको देखिन्छ । तर, उक्त ऋण पनि घरजग्गा दलालीकै लागि निकालेको स्टेटमेन्टमै देखिन्छ । आर्थिक दैनिकले फेला पारेको कागजातअनुसार उक्त उनले ल्यान्ड पर्चेजको लागि भन्दै १२ प्रतिशतमा उक्त ऋण हत्याएका हुन् ।

    गोरखा जिल्लाको साविक थालजुङ गाविस १ घर भएका भण्डारी सामान्य परिवारबाट काठमाडौं आएका थिए । कुनै समय उनी काठमाडौंको मम पसलमा काम गर्थे । तर श्री लालीगुराँस सहकारीमा हात हालेपछि उनले अर्बौंको सम्पत्ति जोडेका छन् । लालीगुराँस सहकारीकै रकम हिनामिना गर्न भण्डारीले ‘लालीगुराँस’ ब्रान्डको विभिन्न कम्पनी खडा गरेका छन् । जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनी प्रालिमार्फत उनले घरजग्गाको धन्दा चलाउँदै आएका छन् ।

    घरजग्गा कारोबारका लागि उनले आफ्नै कम्पनीको नाममा समेत करोडौँ ऋण निकालेका छन् । सहायक कम्पनी खडा गरेर ऋण निकालिएको घटना पटक–पटक सार्वजनिक हुँदा पनि कुनै निकायले सरोकार दिएका छैनन् । मास्टर लिस्ट अफ लोनका अनुसार सन् २०१४ जुलाई १५ मा जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङको नाममा चार करोड ८० लाख रुपैयाँ निकालिएको छ । ललितपुरकै भनिमण्डलमा कार्यालय रहेको उक्त कम्पनी भण्डारीकै स्वामित्वको हो । त्यति मात्रै होइन सहकारीकै भवन तल रहेको एक कार्पेट पसलको नाममा समेत उनले करोडौँ ऋण निकालेर शंकास्पद कारोबार गरेका छन् ।

    गायक रामकृष्ण ढकालको घर हत्याएपछि उनले आफ्नै दाइ अमृत बहादुर भण्डारीलाई घर कुरुवा राखेका थिए । दाइ अमृतलाई श्री लालीगुराँसबाट एकै पटक तीन करोड ३७ लाख रुपैयाँभन्दा बढी रकम समेत ऋण निकालिएको स्टेटमेन्टमा देखिन्छ । अचम्म के छ भने उनले आफ्ना दाजुका लागि भने पाँच पटकसम्म ब्याज मिनाह गरेका छन् । ब्याज मिनाह गरेर आफैँले उक्त रकम अपचलन गरेको स्रोतले जनायो । आजको आर्थिक दैनिकमा खबर छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार