Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • किन प्रधानमन्त्री देउवा भन्दा अघि केपी ओलीलाई भेट्दै छ एमसीसी टोलीले ?

    किन प्रधानमन्त्री देउवा भन्दा अघि केपी ओलीलाई भेट्दै छ एमसीसी टोलीले ?

    अनलाइन नेपाल
  • बिहिबार, २४ भाद्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फातिमा सुमारको टोली चारदिने भ्रमणमा आज बिहान काठमाडौँ आइपुगेको छ ।

    विमानस्थलबाट उनीहरू कमलपोखरीको मेरियट होटलमा गएका छन् । काठमाडौं आएको उक्त टोलीले नेपाली नेताहरुमध्ये प्रमुख विपक्षी दल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम तय भएको स्रोतको दाबी छ।



    स्रोतका अनुसार मेरियट होटलमा केहीबेर आराम गरेपछि सो टोली साढे १२ बजे कमलादीस्थित अमेरिकी राजदूतको निवास जाने कार्यक्रम रहेको छ । राजदूतसँगको भेटपछि एमसीसी उपाध्यक्ष सुमार र राजदूत रेण्डी बेरीको टोलीले एमाले अध्यक्ष ओलीसँग भेट्ने व्यवस्था मिलाइएको स्रोतले बतायो ।



    ओलीसँग भेट्न सुमार नेतृत्वको टोली उनको निवास बालकोट पुग्नेछ ।ओलीसँगको भेटघाटको निम्ति १ घण्टाको समय छुट्याइएको छ । आवश्यकताअनुसारका नेता तथा व्यक्तित्वहरुसँगको भेटघाटपछि मात्र सरकारी अधिकारीहरुसँग भेट गर्ने समय तालिकालाई अन्तिम रुप दिइने स्रोतले बताएको छ ।

    यस्तै,ओलीसँगको भेटपछि फातिमाले भोलि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ। ‘उपाध्यक्ष फातिमा र प्रधानमन्त्रीज्यूबीच भोलि भेट्ने कार्यक्रम छ’, प्रधानमन्त्री देउवाका प्रेस सहयोगी गोविन्द परियारले भने, ‘तर, समय तय भइसकेको छैन । भोलि भेट्नुहुन्छ । समय भने आज अबेरसम्ममा तय भइसक्छ।’

    यसैगरी नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

    नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो । यस भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ ।

    एमसिसीबारे पछिल्लो समय नेपालमा विरोध प्रर्दशन भइरहेकाले उनीहरूको सुरक्षालाई ध्यानमा राखी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ भने मुख्य चोकहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला उनको यो भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार