Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

    महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

    अनलाइन नेपाल
  • शुक्रबार, १ असोज २०७८
  • 1.6K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ। गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो। अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा स्थापित हुन शक्ति संघर्षसहित उम्मेदवार मैदानमा उत्रिँदै छन्।

    कांग्रेसमा १३औं महाधिवेशनपछि स्थापित तीन गुट छन्। पहिलो गुटको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गरिरहेका छन्। उनको गुटलाई कांग्रेसमा संस्थापन समूह मानिन्छ।



    अर्को गुटको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरिरहेका छन्। उनी गत १३औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएपछि त्यसअघिको कोइराला गुटलाई आफ्नो थरबाट चिनाउन सफल भएका छन्।



    त्यसबाहेक कांग्रेसमा अर्को गुटको नेतृत्व कृष्णप्रसाद सिटौलाले गरिरहेका छन्। यो गुट पनि १३औं महाधिवेशनपछि नै संस्थागत भएको हो। सिटौलासमेत पहिलो चरणमा देउवासँगै महाधिवेशनमा भिडेका थिए।

    त्यसपछि दोस्रो चरणको निर्वाचनमा उनै देउवालाई सघाएर उनी तेस्रो धारको नेतृत्व गर्दै आइरहेका छन्। तर १३औं महाधिवेशन भएको पाँच वर्ष पूरा भएर १४औं महाधिवेशनमा होमिँदै गर्दा भने कांग्रेसभित्रको संस्थागत गुट नै फुटको सँघारमा पुगिसकेको छ। केही नेताहरूले भने धमाधम धार फेर्न थालिसकेका छन्।

    १४औं महाधिवेशनमा संस्थापन समूहबाट सभापति देउवा नै सभापतिका आकांक्षी छन्। यस्तै, सो समूहबाट हालका उपसभापति विमलेन्द्र निधिले सभापतिमा दाबेदारी राखिसकेका छन्। उनले हालको संस्थापनबाट देउवाविरुद्ध विद्रोह गरेर उम्मेदवार बन्ने औपचारिक घोषणा गरिसकेका छन्।

    ‘म सभापतिका लागि पूर्णरूपमा तयारीसहित अघि बढिसकेको छु, सबैसँग निरन्तर छलफलमा छु, सम्पर्कमा छु, जिल्लाका साथीहरूसँग पनि भेटघाट र संवाद भइरहेको छ,’ पार्टी सभापतिका लागि मैदानमा उत्रिएका निधिले राजधानीसँग भने।

    यस्तै, संस्थापनबाटै नेता गोपालमान श्रेष्ठ पनि सभापतिको आकांक्षी हुन्। तर, उनले अहिलेसम्म औपचारिक रूपमा मुख खोलेका छैनन्। निधि र श्रेष्ठ दुवै मैदानमा उत्रने हो भने देउवालाई चुनौती थपिन्छ।यसैगरी, संस्थापनइतर मानिएको पौडेल समूहबाट वरिष्ठ नेता आफैं सभापतिको मुख्य दाबेदार हुन्। उनी आफ्नो समूहमा सहमति गराएर सर्वसम्मत उम्मेदवार हुने दाउमा अघि बढ्दै आइरहेका छन्।

    सोही समूहबाट हालका महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा। शेखर कोइरालासमेत सभापतिका आकांक्षी हुन्। यो समूहलाई मिलाउन नेत्री सुजाता कोइराला निकै सक्रिय रहँदै आइरहेकी छन्। यस्तै नेता अर्जुननरसिंह केसीसमेत यसपटक यो गुटभित्र सहमति गराएर सभापति पद देउवाबाट फुत्काउन सक्रिय भएर लागिरहेका छन्।

    यो समूहबाट कोइराला परिवारबाटै सभापतिमा दाबी हुने सम्भावनासमेत छ। यसैगरी, कांग्रेसभित्रको अर्को गुट सिटौला समूह हो। सिटौला आफैं पनि आगामी महाधिवेशनका लागि टिम नै घोषणा गर्ने तयारीमा छन्। उनले यसअघि सीमित व्यक्तिलाई राखेर टिम बनाएको भए पनि यसपटक टिमसहित उम्मेदवारी घोषणा गर्ने बताउँदै आइरहेका छन्।

    यसैगरी, कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङलेसमेत पार्टी सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्। यो समाचार राजधानी दैनिकमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार