Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • इन्द्रजात्रा शुरू, बसन्तपुरमा बढ्यो चहलपहल

    इन्द्रजात्रा शुरू, बसन्तपुरमा बढ्यो चहलपहल

    अनलाइन नेपाल
  • शनिबार, २ असोज २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज गरिएको छ । आज बिहान ६ः५१ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान गरिएको हो।

    हरेक वर्षको भाद्र शुक्ल द्वादशीका दिन यो जात्रा सुरु हुन्छ । हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्वको सुरुआत गर्ने गरिन्छ । आज बिहानै लिङ्गो ठड्याएर जात्राको औपचारिक सुरुआत गरिएको छ । यो जात्रा आठ दिनसम्म मनाइन्छ ।



    यसरी तयार पारिने विशेष लिङ्गोमा विभिन्न चिह्न अङ्कित ध्वजा पताकाहरू सजाएर राखिएको हुन्छ। लिंगोको फेदमा सुनको जलप पोतिएको इन्द्र विराजमान हात्तीको प्रतिमा राखेर पूजा अर्चना गर्ने गरीन्छ ।



    इन्द्रध्वजोत्थान गरेसँग अब भोलीबाट जात्रा शुरु हुन्छ । जात्राको मुख्य दिन भोली (असोज ३) गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ। असोज ४ गते माथिल्लो टोल यात्रा गराइन्छ भने असोज ८ गते नानिचा यात्रा गरिनेछ। त्यसै दिन राति १०ः३६ बजे इन्द्रध्वज पतन अर्थात् यसिः (लिङ्गो) ढालिने साइत छ।

    कोरोना महामारीका कारण गत वर्ष पूजा आराधनामात्र गरेर यात्रा स्थगित गरिएको थियो। यस वर्ष सरोकार भएका निकायको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम उपस्थिति गराएर जात्रा गर्न लागिएको छ ।

    भदौ २३ गते बुधबार बिहान १०ः५२ मा वनयात्रा गरी इन्द्रजात्राका कार्यक्रमको सुरुआत भएको थियो। त्यसै दिन बेलुकी बेलुकी ७ः२७ मा यसिः का लागि रुख काटिएको थियो। यसिःका लागि रुख काट्नेलगायत सबै साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए। भदौ २९ गते बिहान १०ः३४ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको थियो।

    इन्द्रजात्रा सुरु भएका विषयमा विभिन्न किम्बदन्ती प्रचलित छ। एउटा भनाइअनुसार वर्षा राम्रोसँग सम्पन्न भई बाली लगाइएकाले अब बिदा लिनुस् भनी वर्षा अन्त्यको कामना गर्न यो जात्रासँगै विभिन्न देवीदेवताको नाच देखाइने गरिएको किम्बदन्ती छ ।

    त्यसैगरी स्वर्गलोकका भगवान् इन्द्र आफ्नी आमालाई वसुन्धरादेवीको व्रतका निम्ति आवश्यक पारीजातको फूल र कर्कलो चोर्न मानव रूप धारणगरी काठमाडौं शहरमा आएर बगैंचाको मालीलाई सोध्दै नसोधी चोर्न लाग्दा स्थानीयले आफ्नो तन्त्रशक्तिको प्रयोग गरी इन्द्रलाई पाता कसी बिच सडकमा बाँधेर ढालेपछिको दृश्य सहितको मूर्ति प्रदर्शन गरिएको लोककथन छ।

    काठमाडौंको इन्द्रचोक, किलागल र नरदेवीमा पनि बाँधिएका इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबलीमा प्रदर्शन गर्ने गरिन्छ ।यसरी आफ्नो खातिर काठमाडौंवासीले बन्धनमा पारेका छोरा इन्द्रलाई त्यस बन्धनबाट मुक्त गराउन उनकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन् ।

    यस मौसममा लाग्ने त्यही विशेष कुहिरोका कारण धानबाली समयमै हुर्किएर पाक्छ भन्ने किंवदन्ति अझै पनि जनजिब्रोमा जीवितै छ। इन्द्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना गर्नु र उल्लासपूर्ण माहौलमा रथयात्राको आयोजन गर्नु हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार