Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • नापी कार्यालयको धन्दा : एक आनाको एक लाख घुस असुल्दै कित्ताकाट गर्दै

    नापी कार्यालयको धन्दा : एक आनाको एक लाख घुस असुल्दै कित्ताकाट गर्दै

    अनलाइन नेपाल
  • सोमबार, ४ असोज २०७८
  • 5K
    SHARES

    काठमाडौं । कित्ताकाट बन्द छ । तर दशैं मज्जाले मान्न लाखौं लाख घुस असुलेर नापी कार्यालयबाट धमाधम कित्ताकाट गर्ने कार्य भइरहेको छ । काठमाडौं उपत्यकाका नापी कार्यालयहरुमा घुस भएपछि कित्ताकाट रोकिंदैन । दररेटअनुसार घुस नबुझाउनेलाई मात्र कित्ताकाट रोक्काको पत्र देखाइन्छ । भनेजति घुस दिनेलाई कित्ताकाट गर्ने क्रम रोकिन सकेको छैन ।

    सन्दर्भ हो, ललितपुर नापी कार्यालयको । ललितपुर नापी कार्यालयमा पुराना कर्मचारीहरुले कित्ताकाट खुलेको छैन भनेर धेरै जग्गा प्लटिङका काम रोकिएका थिए । तर काजमा सरुवा भएका सर्वेक्षकहरुले प्लटिङवालाहरुसँग घुस लिएर धमाधम कित्ताकाट गर्दै आएको नापी कार्यालयकै पुराना कर्मचारी गुनासो गर्दछन् । नयाँ र भ्रष्टाचार मुद्दामा खर्च गरेर जितेर आएकाहरुले मनपरी र मिल्दै नमिल्ने काम गर्दा पुरानामाथि पनि अख्तियारले निगरानी गर्ने चिन्ता प्रकट गर्दैआएका छन् ।



    नापी कार्यालय ललितपुरमा आनाको १ लाखका दरले घुस लिएर कित्ताकाट हुँदै आएको छ । जग्गा व्यवसायीले घुसको रकम पनि जनतासँग असुलेर लिने गरेका छन् । ललितपुर नापी कार्यालयमा काज सरुवा भएका सर्वेक्षक हरि तिवारीले कित्ताकाटमा घुस असुलीको नेतृत्व गर्दै आएका छन् ।



    १५ दिन अगाडि मात्र साविक विष्टछापको ३(क) कित्ता नं. ३७६ देखि ४०० सम्म, २४१ देखि २६७ नम्बरका गरी ५७ वटा कित्ताकाट गर्दा ५७ लाख घुस लिएको नापी कार्यालय स्रोत बताउँछ ।

    नापीका अमिन र सर्भेक्षकले कार्यालय जाँदा झोला, टेप, कलम सबै बोक्नुपर्ने हुन्छ । तर सर्वेक्षक तिवारी रित्तोहात जाने र अरुलाई काम लगाएर घुस भने आफूले मात्रै लिने गरेका छन् । घुसको डिल पनि उनी आफैं गर्ने गरेका छन् ।

    प्लटिङवालाले सर्वेक्षक तिवारीसँग मिलेर सँगै जोडिएका सरकारी जग्गासमेत टायल चेकका नाममा घुसाउने गरेका छन् । सरकारी जग्गा नापी गरिदिएबापत तिवारीले अलग घुस लिने गरेका छन् । सरकारी जग्गाको चलनचल्तीको मूल्यको आधा आधा माग्ने गरेका छन् ।

    ललितपुर नापी कार्यालयमा तिवारी काजमा सरुवा भएदेखिका जग्गा नापनक्सा गरेको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झिकाएर छानबिन गर्ने हो भने कित्ताकाट गर्ने क्रममा सरकारी जग्गा घुसाएको फेलापर्ने कार्यालय स्रोत बताउँछ ।

    प्लटिङवालाको ५७ वटा कित्ताकाट गरेबापत एकैदिन ५७ लाख घुस लिने तिवारी मनमैजु नापीमा हुँदा घुससहित रंगेहात समातिएका थिए । विशेष अदालतमा प्रभाव पारी सफाइ पाएका उनको अकुत सम्पत्तिमा अख्तियारले छानबिन नगरेकाले उनी रंगेहातमा सफाइ पाएर पुनः ललितपुरमा आएका हुन् । लमजुङ घर भएका तिवारी अहिलेसम्म काठमाडौं उपत्यकाका आकर्षक नापी कार्यालयबाहेक कहिल्यै उपत्यकाबाहिर गएका छै्रनन् ।

    उनले सेवाग्राहीसँग घुस लिएर बालाजुको बोहराटारमा एक रोपनी क्षेत्रफल जग्गामा भव्य महल बनाएका छन् । हाकिमलाई धम्क्याएर सँधै आकर्षक कार्यालयमा सरुवा हुने उनी एक उदाहरण हुन् । कित्ताकाट रोक्का भए पनि काठमाडौंका नापी कार्यालयबाट सेटिङमा आनाको १ लाख लिएर धमाधम कित्ताकाट गर्दै आएका सर्वेक्षक (नासु) तहका २०–२५ जना कर्मचारीहरुले एकाध वर्षमा २० औं करोड सम्पत्ति आर्जन गरेका छन् । त्यसको मारमा जग्गा खरिद गर्ने जनसमुदाय पर्दै आएको छ ।

    जग्गा कारोबारीले घुसको रकमसमेत जोडेर जग्गा बिक्री गर्ने गरेका छन् । सर्वेक्षक तिवारी पनि २० औं करोडका मालिक भइसकेका छन् । बीचमा अख्तियारले रंगेहात समातेपछि अदालतमा मिलाउन खर्च भएको रकम उठाउन उनी अहिले ललितपुर नापीमा घुस असुली अभियानलाई तीव्रताका साथ अगाडि बढाएका छन् । काज सरुवा भएका उनी दरबन्दी कायम गर्न तल्लीन भएर लागेका छन् ।

    काठमाडौं उपत्यकामा मात्रै कार्यरत यस्ता घुसखोर सर्वेक्षकहरुको सम्पत्ति अख्तियारले छानबिन गर्ने हो भने डरलाग्दो तथ्य फेला पर्ने स्रोत बताउँछ । सर्वेक्षकले कित्ताकाट माथिल्लो तहका कर्मचारीबाट चेकजाँच गराउनुपर्दछ । तर कार्यालय प्रमुखलाई थाहै नदिई नापनक्सा गरेर तिवारीले ब्रम्हलुट गर्दै आएको तथ्य अख्तियारले खोजी गर्नुपर्ने माग कर्मचारीहरुको रहेको छ । आजको साँघु साप्ताहिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार