Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • गल्ती ढाकछोप गर्ने बुद्ध एयरको प्रयास, दिन प्रतिदिन खस्किदैछ सेवा

    गल्ती ढाकछोप गर्ने बुद्ध एयरको प्रयास, दिन प्रतिदिन खस्किदैछ सेवा

    निर्मलबाबु लामिछाने
  • सोमबार, ११ असोज २०७८
  • 2.2K
    SHARES

    निर्मलबाबु लामिछाने/ काठमाडौं । पछिल्ला दिनहरुमा बुद्ध एयरको सेवा दिन प्रतिदिन खस्किरहेको यात्रुहरुले नै बताउन थालेका छन् । त्यसमाथि आज भएको घटनाले त झन यात्रुहरुमा बुद्ध एयरप्रतिको विश्वास अझै घटेको छ । आज विहान ८ः०५ बजे काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्ड हुन नसकेपछि काठमाडौं फर्किएको थियो। काठमाडौं फर्केर लामो समयको संघर्षपछि क्याप्टेन एजी शेर्पा सकुशल अवतरण गराउन सफल भएका थिए।

    काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएको जहाज केहीबेर अघि अवतरण भएको हो। काठमाडौं विमानस्थलमा बल्लतल ल्याण्ड गर्न सफल बुद्ध एयरले आफ्नो स्पष्टीकरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार जहाजमा कुल ७३ जना यात्रु सवार थिए ।



    बुद्ध एयरले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘जहाज विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इण्डिकेटरमा समस्या देखिएको थियो । विराटनगरको टावरले समेत गियर नझरेको जानकारी गरापछि पाइलटले जहाज काठमाडौं फर्काउने निर्णय लिए । सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंका आकाशमा फन्को मारेको थियो ।’



    त्यसबेला सबै सुरक्षा मापदण्ड पूरा गरी जहाज सुरक्षित अवतरण गरेको कम्पनीले जनाएको छ । ‘जहाजमा ल्याण्डिङ गेयरका लागि दुई वटा इन्डिकेटर हुन्छन् । जसअनुसार प्राइमरी इण्डिकेटरमा संकेत नदेखिए पनि सेकेन्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको थियो । यसरी सेकेण्डरी इन्डिकेटरमा बत्ती बलेको अवस्थामा पनि ल्याण्डिङ गियर खुलेको मानिन्छ । ‘शून्य सहनसिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौं फर्काउने निर्णय गर्यो ।’ विज्ञप्तिमा भनिएको छ ।

    काठमाडौं आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दिइएको थियो । सोही अनुसार जहाज सुरक्षित अवतरण गराइएको छ । यस क्रममा यात्रुमा परेको असुविधाप्रति कम्पनीले क्षमा माग्दै सुरक्षित हवाई यात्राको प्रतिवद्धता गरेको छ।

    यसरी आजको उक्त घटनलाई बुद्ध एयरले सामान्य भनेपनि विमानमा सवार यात्रुहरुले भने जीवनको आश मारिसकेको प्रतिक्रिया दिइसकेका छन् । विराटनगरमा अवतरण हुन नसकेकापछि काठमाडौं फर्किको विमान यहाँ पनि अवतरण हुन नसक्दा जहाजभित्र रुवाबासी चलेको यात्रुहरुले बताइसकेका छन् ।

    क्याप्टेनले विराटनगरमा पटक–पटक अवतरण गर्न खोजेको तर, सम्भव नभएपछि काठमाडौं फर्काएको उनीहरुले बताइरहँदा बुद्ध एयरले भने सुरक्षित हवाई यात्रा प्रदान गरेको दावी गरिरहेको छ ।

    काठमाडौं अवतरणका क्रममा यात्रुहरुले सुरक्षाकर्मी तयारी अवस्थामा र दमकल र एम्बुलेन्स समेत देखेपछि अब जिन्दगी सकियो भन्दै आश मारेको प्रतिक्रिया दिएका छन् । केही यात्रुहरुले बोल्दै गरेको उक्त भिडियो संबाद यतिबेला सामाजिक संजालहरुमा जताततै देख्न सकिन्छ।

    यात्रुहरुमध्ये कोहीले ढोका खोल्न आग्रह गर्दै हाम फाल्छौं भनेपछि एयर होस्टेजहरुले तपाईंलाई सक्दो बचाउने कोसिस गर्ने बताएका थिए।यात्रुहरुलाई सान्तवना दिंदै एयर होस्टेजले धावनमार्गमा पानी छर्केर फम ओछ्याएर अवतरण गर्ने अन्तिम तयारी गरेको जानकारी दिएको पनि यात्रुहरुले बताएका छन् । तर, बुद्ध एयरले भने सामन्य समस्या घटना जस्तो हुने गरी विज्ञप्ति जारी गरेको छ ।

    क्याप्टेम शेर्पाले जहाजलाई सकुशल अवतरण गराएर यात्रुहरुलाई ज्यान जोगाउने काम गरे । जुन कामलाई जति प्रशंसा गरेपनि कमै हुन्छ । जहाजहरुमा टेक्निकल समस्या आउनु सामान्य हो । जहाज तथा सवारी साधनहरुमा समस्या देखिनु सामान्य मानिन्छ । तर, त्यसलाई चेकजाँच गर्नुपर्ने हुन्छ । कहिलेकाहि भने चेकजाँच गर्दा ठिक देखिएपनि यात्रा शुरु भएपछि पनि समस्या देखिन सक्छ । आज बुद्ध एयरमा भएको पनि त्यहि हो ।

    तर, बुद्ध एयरमा भने यस्ता समस्या पटक–पटक दोहोरिरहेका छन् । आजै पोखराका लागि उडेको विमान पनि त्यहाँ अवतरण हुन नसकेर काठमाडौं फर्किएको थियो । जहाजको ककपीटमा अचानक धुवाँ आउन थालेपछि पाइलटले काठमाडौंतिर मोडेका थिए । जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवतरण गरेको थियो । यस्ता घटनाले बुद्ध एयरको सेवाप्रति प्रश्न उठाइरहेका छन् ।

    बुद्ध एयरले आफ्नो फेसबुक पेजमा २१ घण्टा अगाडि राखेको स्टेटसमा एक यात्रुले कमेन्ट गर्दै बुद्धको सेवाप्रति गुनासो गरेका छन् । उनको त्यो कमेन्ट हेर्दा झन बुद्ध एयरप्रतिको विश्वास घट्ने देखिन्छ ।

    बुद्ध एयरले ‘It is a great honor to have the privilege to serve respected ambassadors and foreign delegates for entrusting us and traveling with us to Pokhara. We would like to wish them a cheerful celebration of the World Tourism Day that falls on the 27th of September.’ भनेर लेखेको स्टेटसमा नवराज गौतम लेख्छन्–‘म बुद्ध एयरको नियमित यात्रु हुँ। यसको नियमित मर्मत र यात्रुको सुरक्षामा पूर्णतया विश्वस्त भएर मलगायत हजारौं यात्रुको नियमित रोजाइ बन्ने गरेको छ, बुद्ध एयर। तर, विगतका केही दिनदेखि नियमित रूपमा उडानको दौरान समस्या आइरहेको समाचारहरु आईरहेका छन्। के बुद्ध एयरले आफ्नो गुणस्तरमा ध्यान दिन छोडेको हो ? प्रतिस्पर्धात्मक अहिलेको युगमा थोरै लापरबाहीले पनि समस्या उत्पन्न हुन सक्छ। बुद्ध एयरले समयमै आफ्नो कमी कमजोरी सुधार्नु पर्छ।’

    आजको घटनाबारे क्याप्टेन शेर्पासँग विस्तृत जानकारी लिन खोज्दा उनको मोवाइल अफ भएकाले सम्पर्क हुन सकेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार