Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • तालिबान प्रकरणमा बाइडेनले किन मानेनन् अमेरिकी सेनाको सुझाव ?

    तालिबान प्रकरणमा बाइडेनले किन मानेनन् अमेरिकी सेनाको सुझाव ?

    अनलाइन नेपाल
  • बुधबार, १३ असोज २०७८
  • 2.1K
    SHARES

    एजेन्सी। गत अगस्ट महिनामा अमेरिका अफगानिस्तानबाट पूर्ण रूपमा फर्कनुअघि आफूहरूले २,५०० जनाको एउटा सैन्य टोलीलाई त्यही कायम राख्नुपर्ने सुझाव दिएको अमेरिकाका दुई जना शीर्ष सैन्य जनरलहरूले बताएका छन्।

    जनरल मार्क मिली र जनरल फ्रयाङ्क मखेन्जीले कङ्ग्रेसमा दिएको गवाही राष्ट्रपति जो बाइडनको भनाइसँग बाझिएकोजस्तो देखिएको छ।



    उनले त्यस्तो सुझाव दिइएको स्मरण आफूसँग नरहेको जनाएका थिए।



    तीव्र गतिमा अघि बढ्दै गत अगस्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता आफ्नो नियन्त्रणमा लिएको थियो।

    अफगान सरकार छिट्टै ढलेको विषयले अमेरिकालाई आश्चर्यचकित पारेको जनरल मिलीले बताए। दुवै जनरलहरूले तालिबानले त्यति चाँडै सत्ता नियन्त्रणमा लिन सफल होला भन्ने अनुमान आफूहरूले नगरेको बताएका छन्।

    जनरल मिलीले तालिबान अझै पनि आतङ्कवादी समूह रहेको र उसको अल कायदासँग सम्बन्ध कायमै रहेको बताउँदै अफगानिस्तानबाट आतङ्कवादी हमला हुनसक्ने विषयबारे सचेत गराएका थिए।

    रक्षामन्त्री सहित दुईजना शीर्ष जनरलहरूलाई माथिल्लो सदन सिनेटको आर्मड सर्भीसेस कमिटीले मङ्गलवार सोधपुछ गरेको थियो।

    अफगानिस्तानबाट अमेरिकाको फिर्ता हुने विषय निरीक्षण गरेका जनरल मखेन्जीले रिपब्लिकन सिनेटरहरूको प्रश्नको जवाफ दिने क्रममा आफूले २,५०० सेनाको सानो टुकडी अफगानिस्तानमा राख्न सुझाव दिएको बताए।

    अगस्ट १९ मा एकजना पत्रकारलाई जवाफ दिने क्रममा बाइडनले आफूलाई त्यस्तो सुझाव दिइएको स्मरण नरहेको बताएका थिए।

    जनरल मिलीले त्यस्तो सुझावमा आफू सहमत भएको बताए। तर उनलाई एकजना रिपब्लिकन सिनेटरले बाइडनको प्रतिक्रिया के ‘गलत बयान’ हो भनेर प्रश्न गर्दा भने उनले त्यसको सोझो उत्तर दिन मानेनन्।

    ह्वाइटहाउसकी प्रवक्ता जेन साकीले पछि उक्त विषयलाई सम्बोधन गरेकी थिइन्।

    उनले भनिन्, ‘राष्ट्रपतिले सेना लगायतको सल्लाहलाई महत्त्व दिन्छन्। तर त्यसको अर्थ यो होइन की उनले सधैँ त्योसँग सहमत हुन्छन्।’ – बिबिसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार