काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औं महाधिवेशनबाट कांग्रेस सुदृढ बनाउन नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।
शनिबार पार्टीको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन कर्यक्रममा सभापति शेरबहादुर देउवालाई अवसर पाएर पनि काम गर्न नसकेको भन्दै चेतावनी शैलीमा उनले कांग्रेस सुदृढ बनाउन नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका हुन् ।
उनले भने,‘लिडरसिप परिवर्तन गर्नुपर्छ यो महाधिवेशनमा पार्टीलाई शुद्धीकरण गर्न र सुदृढ गर्न । अवसर पाएर पनि काम गर्न नसक्नेलाई फेरि गुणगान भएर त्यही चाहिन्छ भन्नु कति सान्दर्भिक हुन्छ ? अब काँग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ । नत्र भने राम्रो हुँदैन’ उनले भने ।
पार्टीको १४ औं महाधिवेशनमा पार्टी सभापतिमा आफ्नो पनि दावी रहेको नेता सिंहले बताए । उनले कांग्रेसलाई सक्षम बनाउन आफू ‘फस्र्ट म्यान’ बन्न अघि बढेको बताए । आफू कुन कारणले सभापति पदमा अयोग्य छु भनेर कन्भिन्स गर्न पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरे ।
‘काठमाडौंमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो रु’ उनले प्रश्न गरे, ‘अरुको छोराहरुले त अवसर पाएका छन् त ।’ उनले उपत्यकाबासीले बाहिरबाट आएका नेतालाई मात्र साथ दिएको दुखेसो गरे । उपत्यकाका कांग्रेस कार्यकर्ताले आफ्नो नेतालाई सधैं सानो देख्ने र बाहिबाट आएको नेतालाई अघि बढाउँदा आफूहरु पछि परेको उल्लेख गरे ।